बिराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी (जसपा)ले यही १७ गते एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको मर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको पहल सुरु भएको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको हो ।
बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेन । यसबारे मंगलबार बैठक बसेर निर्णय लिने बताइएको छ ।
केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा रहिरहेको माओवादी केन्द्रलाई पनि कोशी सरकार छाड्न थप दबाब बढेको छ । केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीसहितको गठबन्धन रहेपनि कोशीमा एमाले, माओवादी केन्द्र र राप्रपा सरकारमा छ ।
गत २५ पुसमा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा एमालेका कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । तर, राष्ट्रपति निर्वाचनअघि केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन बनेको थियो । त्यसपछि कोशी प्रदेशबाहेक एमालले नेतृत्वको सबै प्रदेश सरकार ढलिसकेको छ । अब कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्ने देखिन्छ ।











