काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विचौलियालाई छेउामा पनि आउन नदिएको बताएका छन् । प्रतिनिधिसभामा उठेका विषयमा स्पष्टीकरण दिँदै उनले निजी स्वार्थमा भएकाहरु आफ्ना पछि लागेको पनि बताए ।

‘विचौलियालाई छेउमा पनि आउन दिएको छैन,’ उनले भने, ‘विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ । हामी त्यसलाई सत्यता ठान्छौँ । तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ ।’
उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।’ इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ भन्ने अहिले देखिएको उनको भनाई छ ।
अर्थमन्त्री महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको पनि बताए । यसलाई इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको उनले स्वीकार गरेका छन् ।
आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गर्दै अर्थमन्त्री महतले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको बताए ।
उनले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको बताए । अर्थमन्त्री महतले भने, ‘निर्णय प्रक्रियामा उहाँ हुने कुरै भएन । निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो ।’
यो पनि पढ्नुहोस्











