
काठमाडौं । कोशी प्रदेशमा नेकपा माओवादी र नेपाली कांग्रेसले आ-आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थालेका छन् ।
कोशी प्रदेशमा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सत्तारुढ दल माओवादी र कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गृहकार्य सुरु गरेका हुन् ।
दुवै दलको मंगलबार बसेको संसदीय दलको बैठकले प्रदेशको मूख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको बैठकबाट निर्णय गराएर आ-आफ्नो नेतृत्वमा सरकार गठनबारे छलफल थालेका छन् ।
माओवादीले समर्थन फिर्ता लिएपछि एक मतले अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आफ्नो सरकार जोगाउने प्रयासमा छन् । उनले तीस दिन भित्र प्रदेशसभामा विश्वासको मत पाए मुख्यमन्त्रीमा निरन्तरता पाउनेछन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । कोशी प्रदेशमा एमालेका ४० र राप्रपाका ६ कांग्रेसका २९, माओवादीका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।











