Logo
Logo

नेपाल-भारत : नमिलेको कुटनीति



घरेलु नीतिले हामीलाई हराउन मात्र सक्छ, विदेश नीतिले त हामीलाई मार्न पनि सक्छ– जोन एफ केनेडी, अमेरिकाका ३५औं राष्ट्रपति (१९६१–०६३)

पछिल्लो कालको कुरा गर्ने हो भने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्रीय चरित्र दुई खालको थियो– पुस १० देखि एउटा र पुस २६ गते विश्वासको मत लिएपछिको अर्काे ।

अघिल्लोमा विदेशी हस्तक्षेपविना बनेको सरकार भनिएको चरित्र थियो भने, विश्वासको मत लिएपछि विदेशीले बनाएको भनिएको चरित्र । उनमा बहुमतभन्दा पनि साझा प्रधानमन्त्री बन्छु भन्ने थियो । जसबाट आफ्नो प्रधानमन्त्री पद सुरक्षित हुन सकोस् भनी ढुक्क हुने अवस्था रहोस् ।

नेकपा(एमाले) सँगको गठबन्धनबाट पनि उनी सन्तुष्ट नभएर दक्षिणले रुचाएको भनिएका रामचन्द्र पौडेललाई राष्ट्रपति दिन पनि लालायित थिए । जसबाट आफ्नो कार्यकालभरि एमालेको दबाब भोगिरहनु नपरे हुन्थ्यो भन्ने थियो ।

यो पद उनका लागि अन्तिम जस्तै थियो र पछिल्लो वर्तमानकाल विवादरहित ढङ्गले चलोस् भन्ने लागेको थियो । उनी आफ्नो अघिल्ला समयावधि बिर्सन पाए हुन्थ्यो भन्ने मुडमा नै छन् र अहिले सकेसम्म राम्रो गर्नेभन्दा पनि नराम्रो चाहिँ केही नहोस् भन्ने गहिरो चाहना बोकेर बसिरहेका छन् ।

त्यसैले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत विपक्षीहरूलाई प्रहार गर्ने पक्षमा पनि उनी छैनन् । तथापि, एमाले अध्यक्ष र उनका कार्यकर्ता उनलाई सकेसम्म तिखो वाण हानिरहन्छन् र पीडा दिइरहन्छन् ।

त्यही पछिल्लो काल अभूतपूर्व रूपमा सफल बनाउन उनी ज्यान दिएर लागिरहेका छन् । कार्यकाल सफलताको पहिलो भारत भ्रमण सकियो । यसलाई उनले ऐतिहासिक र सफल भने । ऐतिहासिक त ऐतिहासिक नै हो किनकि, यस्तै भ्रमण न पहिले भएको थियो, न त पछि हुने नै छ ।

इतिहासमा यो भ्रमण–दर्शन राम्रैसँग दर्ज हुने छ, आर्थिक दृष्टिले । राजनीतिक उद्देश्य यसको छँदै थिएन । निम्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको र पहिले नै भेट दिए सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्राले ।

आश्चर्यको कुरा, दक्षिणका घुमन्ते विदेशमन्त्री सुब्रह्यण्यम जयशङ्कर स्वदेशमा छँदै थिएनन् । बरु ‘आज म र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरसिपलाई सुपरहिट बनाउनका लागि ठूलो महत्त्वपूर्ण निर्णय लिएका छौँ’ भनी भारतीय प्रधानमन्त्री मोदीको ट्विटमा ब्रिक्स विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुँदाकै बखत केपटाउनबाटै रिट्विट गरिदिए ।

नेपाललाई कस्तो पीडा भने ‘तपाईँका विदेशमन्त्री स्वदेशमा भएकै बखत मात्र म भारत भ्रमणमा आउँछु’ भन्न सकिने अवस्था छैन । आफैँले त्यता जान्छु कि जान्छु भनी बोलेको बोल्यैको अवस्था छँदै थियो । ‘बरु जस्तो अवस्था भए पनि त्यहाँ समय मिलाऊ’ भनी भन्न हाम्रा प्रम बाध्य भए ।

जयशङ्करलाई भने नेपालीलाई मुख देखाउन भन्दा विश्व सङ्गठनमा भाग लिएर चर्चामा आउन जाती लाग्यो । नेपालको संविधान बनाउने बेलामै बिच्किसकेका उनलाई हाम्रो कार्यकारी प्रमुखसँगको भेटमा आँखा जुधाउन पनि गाह्रै लाग्यो होला ।

अनि, हाम्रा परराष्ट्रमन्त्री चाहिँ सवारीमन्त्री मात्र ठहरिए कि जस्तो छ । त्यहाँ भ्रमणका क्रममा आफ्नो हैसियत उकास्दै विश्वशक्तिका स्तरमा स्थापित हुन खोज्ने भारत र नेपालकै सञ्चारकर्मीसँग डिल गर्ने, सूचना दिने, नेपालको अडान र विचार दिने काम गरेको उनीबाट देखिएन ।

भारत भ्रमणका लागि छिटो छिटो नियुक्त गरिएको भनिएकाले उनको यस भ्रमणपछि विभाग नै परिवर्तन हुन पनि के बेर ? उनको खास क्षेत्र यतातिर होइन पनि ।

इन्स्टिच्युसनल मेमोरीको बिजोग
सायद तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवबाट अघि बढाइएको र कुनै बेलाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका पालामा सक्रिय पारिएको परराष्ट्र मन्त्रालयका पदाधिकारी–कर्मचारीका लागि निर्मित कूटनीतिक आचारसंहिताको पालना कत्तिको भएको छ कुन्नि ?

विदेशीहरूले हाम्रा मन्त्री–नेताहरू र हाम्रा नेता–मन्त्रीहरूले विदेशीहरूलाई आरामले भेट गरिरहेका हुन्छन् ती बहालवाला हुन् वा भूतपूर्व । कतिपय भेटघाटमा मन्त्रालयका कर्मचारी देखिन्नन् ।

पछिल्ला दिनमा हुने यस्ता भेटघाटमा मिडियाले चासो चाहिँ राख्न थालेको छ । जस्तै, कामपा प्रमुख बालेन्द्र साह अमेरिकी राजदूत डिन आर थम्पसनको भेटघाट । यसमा साह र एमाले नेता डा. भीमबहादुर रावलबिच तल्लोस्तरमै सामाजिक सञ्जाल युद्ध नै चल्यो ।

यसपालि प्रधानमन्त्री भएपछि कुटनीतिक आचारसंहितामा जोड दिइने कुरा प्रचण्डले पनि बताइसकेको कुरा हो । तथापि, भ्रमणको पहिलो चरणमा आचारसंहिता उल्लङ्घनको कुरा जोडतोडकै रूपमा उठ्यो । प्रचण्ड बसेको होटलमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभल र उनीबीच भेटघाट भयो ।

त्यसको अभिलेखका लागि त्यहाँका तर्फबाट विदेशसचिव क्वात्रा नै थिए भने हाम्रातर्फबाट शून्य । बरु प्रधानमन्त्रीपुत्री गंगा दाहालले क्वात्राको समकक्षता भूमिका निर्वाह गरिरहेकी थिइन् ।

भारतीय विदेश सचिवको हातमा कापी–कलम थियो भने गंगाका हातमा मोबाइल । गंगा मन्त्रालयकी प्रतिनिधि पात्र पनि होइनन् । के इन्स्टिच्युसनल मेमोरीका लागि मन्त्रालयले रुचि नै राखेन वा प्रधानमन्त्री स्वयंले सो भेटघाटमा छोरीको उपस्थिति नै काफी छ भने होलान् ?

हाम्रा परराष्ट्रसचिव छँदै थिए, भ्रमणमा र उनलाई त्यति बेला कहाँ राखियो ? उनी किन उपस्थित भएनन् ? राष्ट्रको वा मन्त्रालयको संस्थागत स्मृतिबारे मिडियाले पनि भारतमै रहँदा र यहाँ उत्रेपछि प्रश्न किन गरेनन् ?

संशोधित नागरिकता ऐन राष्ट्रपतिबाट प्रमाणीकरण गर्न लगाएर भारतलाई खुसी बनाएका प्रचण्डले सीमा विवाद बारेको प्रसंग मोदीबाट नै उठाउनुलाई पनि आफ्नो सफलता मानेका छन् ।

आफ्ना तर्फबाट इपिजी रिपोर्टको प्रसङ्ग ल्याउनु भनेको वातावरण बिग्रेको ठान्नु, भारतीय संसद् परिसरमा राखिएको लुम्बिनी र कपिलवस्तुसहित ‘अखण्ड भारत’को भित्तेचित्रबारे नबोल्नु, अग्निपथ र गोर्खा सैनिकको कुरो नै नकोट्याउनु, कम्युनिस्ट भएर पनि गेरुवस्त्रसहित मन्दिर–मूर्तिको उपासना गर्नपट्टी मन जानु, आफूलाई भैंसीपूजक भएको त्यत्रो आरोप लगाइरहँदा पनि घर फिर्तीमा राँगा नै उपहार लिएर आउनु उनका केही कमजोरी रहे ।

महाकालेश्वरमा गेरुवस्त्र लगाउनुपर्ने नियम रहेछ भन्नुभन्दा पनि त्यस्ता मन्दिर नै किन धाइरहनू भन्ने प्रश्न यहाँ छ । कालापानी क्षेत्रको सीमा विवादबारे केही नबोली बरु आफैँले बङ्गलादेश–भारतको जस्तै जमिन साटासाटको तरिका अपनाउन सकिने भनी सीमाविद् बुद्धिनारायण श्रेष्ठका मिडिया सुझावलाई सापट लिएर भारतमै प्रधानमन्त्रीबाट स्वीकार गरिनु पनि केटाकेटी कुटनीति भए कि ?

प्रतिक्रिया दिनुहोस्