Logo
Logo

जीवनको दुई अनुभूति



जब २०२२ को अन्तिम र २०२३ सुरूका महिनाभरि नै मलाई स्वास्थ्य समस्याहरूले सताउन थाले, ‘आफू अब पहिलेको जस्तो छुइन’ भन्ने उत्तरार्द्धको अनुभूति हुन थाल्यो । नत्र बेलाबेलामा अलिअलि बिरामी परे पनि आफूलाई बलियाहरू मध्येकै ठान्थेँ ।

काममा लगातार हिँडि नै रहन्थेँ । ‘उमेर भनेको एउटा अंक मात्र हो, बुढेसकाल भन्नु पनि एउटा धारणा मात्र हो’ आदि भनाईलाई नै मान्थेँ । यसपालीको यथार्थले भने साना स्वास्थ्य समस्याको हैरानी देखि लिएर मृत्युबोधकै अनुभूतिसम्म पनि गरायो ।

तीन वर्षको कोभिड महामारीबाट जोगिएको परिवार कसरी डेङ्गीको आक्रमणमा पर्यो, बुझ्नै सकेको थिइनँ । यो यथार्थ पचाउन मलाई त्यसै गाह्रो भइरहेको थियो । ‘सिटामोल’ पनि म हत्पति खाँदिन थिएँ । झण्डै २४-२५वर्षपछि यसपाली सिटामोट खानुपरे जस्तो लाग्छ । डेङ्गीले थला पारिसकेपछि अन्य रोगले पनि पेल्न थाले । अपरेशन थिएटरसम्मै पनि पुग्नुपर्याे ।

म डेङ्गीबाट उत्रन खोज्दै थिएँ, सरोज आफै त्यसको मारमा परे । उनलाई अझै चर्को जरो आयो । डाक्टर नै बिरामी भएपछि म झनै आत्तिएँ । आफू बिरामी पर्दा सबै कुरा उनैमाथि छोडिदिन्थेँ । आफूले खाने औषधिको नाम सम्म पनि मतलब हुँदैनथियो ।

एक रात उनलाई हन् हन् ज्वरो आयो, शरीरका सबै मासुसँगै छाति पनि बेस्सरी दुख्यो । मैले त प्रार्थना गर्नु बाहेक अरु के गर्नसक्थेँ र ? बिहानीलाई पर्खेर बसेँ । त्यो रात नै अरूबेलाभन्दा लामो भएजस्तो लाग्यो ।

बिहानै आफुले चिनिराखेको डाक्टरलाई फोन गरेर बोलाएँ । अरुलाई बोलाउनुभन्दा सरसल्लाह गर्न सरोजकै विभागका डा. उदय कोइरालालाई बोलाउन सजिलो भयो । उनी आइदिएपछि मन सञ्चो भयो । कृतज्ञ भएँ । घरपरिवारदेखि बाहिर उनको अस्पतालमा बनेको सहकर्मीहरूको ‘परिवार’को महत्त्व त्यतिबेला देखेँ ।

पहिलेपहिले बिरामी हुँदाका कुरा पनि सम्झेँ । सरोज सर्जरी पढ्दै गर्दा पनि उनको अपरेशन गर्नु परेको थियो । म पनि चीनमा पुगेको धेरै भएको थिएन । मलाई चिनिया भाषा राम्रो बोल्न पनि आउँदैनथ्यो । त्यहाँ अरु ‘आफ्नो’ भन्ने मान्छे कोही थिएन । अपरेशन गर्नु पर्ने कुराले म आत्तिएकी थिएँ ।

त्यो बेला अपरेशन अगाडि मैले नै ‘कन्सेन्ट पेपर’मा सही गर्नु परेको थियो । जब डाक्टर अस्पतालमा भर्ना भए म एक्लै भएँ । एकातिर सानी छोरीलाई पनि हेर्नु पर्ने, अर्कातिर आफ्नो अभिभावक बुढा नै अस्पतालमा । आफू त्यो ठाउँको निम्ति नयाँ मान्छे । अरु नेपाली विद्यार्थीहरुको सहयोग मागिरहेकी थिएँ ।

अपरेशनको बेला जेको पनि खाँचो हुन सक्छ, अरु पनि पर्न सक्छ भनेर । कसैले ‘हुन्छ, आइदिन्छु’ नै पनि भनेका थिए । उनलाई अपरेशन थिएटरमा लाने बेलासम्म पनि आँखा तानी तानी हेरेँ नेपाली साथीहरू कोही आए कि भनेर । अहँ, कोही थिएनन् ! म निराश भएँ ।

धन्न अपरेशन राम्रैसँग सकियो । त्यतिबेला अझै प्रार्थना गर्ने बानी थिएन, प्रार्थनामा विश्वास र भरोसा पनि थिएन । चुपचाप एक्लै चिन्तित भएर बसिरहेकि थिएँ । यस्तो बेला केही खबरै नगरेको एक चिनियाँ डाक्टर- सरोजका पुराना साथी छ्येन् कुइ–लिन् देखा परे । कतैबाट खबर पाएर दगुरेर आएका रहेछन् । उनी आएपछि मेरो मनमा यति आनन्द भयो- भगवान नै आईदिएको जस्तो लाग्यो ।

आफ्नै मान्छेको हेरविचार झैँ सबै कुराको जिम्मा उनैले लिइदिए । एक त स्थानीय चिनिया साथी, अर्को आफै डाक्टर पनि । मेरो मन सञ्चो भयो । ‘आफ्नो मान्छे’ जहाँतहीँ चाहिन्छ । तर ‘आफ्नै’ भएपनि भावना नै नभएका मान्छेहरूको भरपर्नु कदापि हुँदैन भनेर एउटा ठूलो पाठ कहिल्यै नबिर्सिने गरी मनमा टाँसियो ।

जीवनको ठूलो पाठशालामा आफूलाई परिआउँदा मान्छेको व्यवहारबाट नै धैरै पाठ सिकिँदो रहेछ । मान्छे पनि चिनिँदै जाने रहेछन् ।

म आत्तिएको चाल पाएको सरोजले मलाई सजिलो होस् भनेर अपरेशनको केही घण्टापछि नै सकिनसकी हिँडेर देखाए । बिरामी हिँड्नै थालेपछि मन सञ्चो जस्तो पनि भयो । उनलाई पनि, उनको चिनियाँ साथीलाई पनि चिनियाँ भाषामै ‘स्येस्ये’ भनेर धन्यवाद व्यक्त गरेँ ।

केही समयपछि त फेरि पढाई र अस्पतालको काममा व्यस्त हुन थालिहाले सरोज । सर्जरी पढ्नु भनेको कक्षामा गएर किताब पढ्नु मात्र हुँदैन रहेछ । धेरै नै गाह्रो पो हुँदोरहेछ । त्यो पनि थाहा पाउँदै गएँ । पढ्नु सँगसँगै अस्पतालमा पुरै जिम्मेवारी लिएर काम पनि गर्नुपर्दो रहेछ । ‘सर्जिकल रेजिडेण्ट’ त काममा झनै जोतिनु पर्नेरहेछ … ।

त्यो बाहेक आफूले पढ्न खोजेको विषयको थेसिसको निम्ति प्रयोगशालामा काम गर्न पनि उतिक्कै समय खर्चिनु पर्ने मेहनत गर्नु पर्ने हुँदो रहेछ । राती रातीसम्म पनि बसेर काम गर्नु पर्ने हुन्थ्यो । मैले निकै मायाँ गरेर उनाई ल्याइदिएको एउटा सेतो ज्याकेट थियो– प्रयोगशालामा होश नपुर्याउँदा त्यो ज्याकेट भरी स-साना प्वाल परेछन् । त्यो देखेर मेरै चित्त दुखेको थियो ।

आराम गर्न र परिवारसँग कतै घुम्न जान त लामो छुट्टी नै आउनुपर्ने हुँदो रहेछ । औपचारिक परीक्षा मात्र हैन, हरेक बिरामीको उपचार नै परीक्षाजस्तो हुने, अनि मान्छेको शरीरलाई मात्र हैन, मनलाई पनि पुस्तक ठानेर पढ्नुपर्ने सर्जरीको पढाई साँच्चै गाह्रो हुँदोरहेछ ।

बिरामीको मात्रै पनि हैन, बिरामीका आफन्तको पनि ख्याल राख्नुर्दोरहेछ । जसरी म सरोजको अपरेशन थिएटरमा रहुञ्जेल आत्तिइरहेकी थिएँ, अरु बिरामीका परिवारलाई पनि त त्यस्तै त हुँदो हो ! नजिकैबाट यो सबै देखेकोले नै होला, सरोजका जति पनि रेजिडेन्टहरूसँग मेरो चिनजान भयो, ती सबै मलाई प्रिय लाग्छन्, ती सबैप्रति सम्मान जाग्छ, ती सबै आफ्ना लाग्छन् ।

म आफै बिरामी भएको अवस्थामा होस् या डाक्टर आफै बिरामी भएको बेला, भर्खरको सर्जिकल रेजिडेन्टकी पत्नी भएर होस या व्यस्त सर्जनकै पत्नी भएर- मैले थप पाठ सिकेकी छु जीवनको ।

सरोजले आफ्ना रेजिडेन्टहरूलाई प्रायः भन्ने गरेका वाक्य पनि सम्झने गर्छु- ‘तिम्रा बिरामी बिग्रेका मेशिन होइनन्, तिमी डाक्टर हुनु मेकानिक हुनु मात्र होइन । डाक्टर र बिरामीबीचको सम्बन्ध मानिस-मानिसबीचको एउटा विशिष्ट प्रेमको सम्बन्ध हो ।’ जीवनकै जिम्मा लिनु भन्दा ठूलो जिम्मा अरू के हुन्छ र !

जुनबेला सरोजले डाक्टरको ह्वाइटकोट चीसो भित्तामा झुण्डाएर भूमिगत कार्यकर्ता भएका थिए, मैले आफूलाई डाक्टरको पत्नी हुँ भन्ने अधिकार पनि गुमाएकी थिएँ । जब फेरि डाक्टरकै रुपमा फर्के, म एकजना ‘डाक्टर्नी’ भएर उनको पेशागत भोगाइकी साक्षी बनेकी छु । उनका कतिपय बिरामीहरूसँगै नाता जोड्न पुगेकी छु । उनका बिरामीहरू गम्भीर अवस्थामा हुँदा एक्लै बसेर पिरिएकी पनि छु । प्रार्थनामा सामेल भएकी छु …।

प्रतिक्रिया दिनुहोस्