Logo
Logo

विश्वकप छनोटका लागि अभ्यास खेलमा स्कटल्यान्डसँग नेपाल पराजित



काठमाडौं । एकदिवसीय विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासरत नेपाली क्रिकेट टिम स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ । बिहीबार दक्षिण अफ्रिकाको टक्स ओभलमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १३६ रनको लक्ष्य स्कटल्यान्डले २९ ओभरमा तीन विकेट गुमाएर भेटायो । स्कटल्यान्डको जितमा ब्रान्डन म्याकमुलमले अविजित ५९ रन बनाए ।

यस्तै, रिची बेरिङ्टनले ४१ रन बनाए । ३३–३ को अवस्थाबाट यी दुईले १०३ रनको साझेदारी गर्दै स्कटल्यान्डको जित निश्चित गरे । नेपालका गुल्सन झाले दुई विकेट लिएका थिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको नेपाल २८.५ ओभरमा १३५ रन बनाएर अलआउट भएको थियो । नेपाली टिमको कुशल मल्लले ३७ रन बनाए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ रन र दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए । यस्तै, भीम सार्की आठ, ज्ञानेन्द्र मल्लले सात रन जोड्दा आरिफ शेख र गुल्सन झाले समान पाँच रन थपे ।

सोमपाल कामीले तीन रन जोड्दा करण केसी चार रनमा अविजित रहे । नेपालका कप्तान रोहितकुमार पौडेल ‘गोल्डेन डक’ भएका थिए । अब नेपालले शनिबार दोस्रो नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने छ । विश्वकप छनोटको समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।

यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ । नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्ने छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्