विराटनगर । कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बोलाइएको छ । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो । तर, यहीबेला सभामुख बाबुराम गौतमले संसद जेठ ३१ गते बैठक बोलाएका हुन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका छन् । यसअघि जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश गर्ने तयारी थियो । तर, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सदन स्थगन भएको थियो । अहिले एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । यससँगै सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ ।
तर, विपक्षी दलले भने अध्यादेशमार्फत जबरजस्ती ल्याइने बजेट अस्वीकार्य हुने जनाएको छ । उनीहरुले आइतबार नै अध्यादेशबाट बजेट नल्याउन र त्यसरी ल्याए अस्वीकार गर्ने चेतावनी दिएका हुन् ।











