विराटनगर । कोशी प्रदेशको सत्ता रुढ दल नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अध्यादेशबाटै बजेट ल्याउने संकेत गरेका छन । उनले कोशी प्रदेशको बजेट अध्यादेशबाट ल्याउने बताएका हुन् ।
बुधबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम पेश गरेका छन् । त्यसपछि बसेको बैठकमा एमालेका प्रमुख भण्डारीले रोष्टमबाटै बजेट अध्यादेशबाट ल्याउने संकेत दिएका हुन् ।

‘आज यहाँ बोल्ने विपक्षी सांसदहरूले नीति कार्यक्रम र बजेट दुवै फेल गर्ने बताउनुभयो । हामी त उहाँहरूले सहयोग गर्नुहुन्छ होला भनेर नीति कार्यक्रम र असार १ मा बजेट संसदमा पेश गर्ने तयारीमा थियौं’ उनले भने, ‘तर, अब फेल गर्छु भनेपछि अर्को संवैधानिक बाटोबाट बजेट त आउँछ ।’ उनको भनाइको आशय ‘अध्यादेशमार्फत नै बजेट’ ल्याउने हो ।
प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका केदार कार्की, नेकपा माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई लगायतका नेताहरूले मुख्यमन्त्री अल्पमतमा परिसकेकाले पहिले विश्वासको मत लिएरमात्रै बजेट ल्याउन आग्रह गर्दै अध्यादेशको बाटो नहिँड्न भनेका थिए ।
एमालेको नेतृत्वमा सरकार अहिले अल्पमतमा परेको छ । नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । तर, प्रतिपक्षी दलका नेताको आग्रहलाई नकार्दै जवाफमा एमाले प्रमुख सचेतक भण्डारीले भने, ‘संविधान अनुसार नै बजेट आएछ ।’ तर, विपक्षी दलहरूले भने अध्यादेशमार्फत बजेट ल्याए अस्वीकार गर्ने बताउँदै आएका छन् ।
बुधबार प्रदेश प्रमुखले पेश गरेको नीति तथा कार्यक्रममा कृषिमार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिकमैत्री सेवा विस्तारमा जोड दिइएको छ । नीति तथा कार्यक्रमअनुसार सरकारले स्थानीय तहसँगको साझेदारीमा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन थप कार्यक्रम सञ्चालन गर्नेछ ।
कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहने युवालाई तरकारी, च्याउ, मह, पशुपालन आदि व्यवसाय संचालनका लागि सहुलियतपूर्ण कर्जा तथा सहयोग उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।











