Logo
Logo

राजनीतिक परिवर्तनले जगाएको आशा



छयालीस सालको आन्दोलन चर्किरहँदा हाम्रो मन पनि देशसँगै दुःखीरहेको थियो । तर, हामी देश बाहिर थियौँ । मन छट्पटिरहन्थ्यो । आन्दोलनबारे खबर सुन्न जहिले पनि हतारो हुन्थ्यो ।

बाहिरबस्दा अझै धैरै चिन्ता लाग्दोरहेछ । देशलाई दुख्दा मन अझै दुख्दोरहेछ ! हामी चुपचाप बसेनौँ । नेपाललाई माया गर्ने र हामीलाई पनि बुझ्ने विभिन्न देशका साथीहरुसँग मिलेर आन्दोलनलाई सघाउन प्रयत्नशील नै रह्यौँ ।

विभिन्न देशका ती साथीहरुको माध्यमबाट संसारभर आफ्नो देशको बारेमा समाचार सम्प्रेषण गर्ने कोसिस गरिरह्यौँ । त्यो बेला सांघाइमा पढ्ने नेपाली विद्यार्थीहरुले आन्दोलनको समर्थनमा हस्ताक्षर संकलन गर्ने काम पनि गरे । राजाकै नाममा चिट्ठी पठाउने प्रयत्न भने बहुदलको घोषणा नै भइसकेकाले रोकियो ।

देशबाट आफन्त र साथीहरुका चिठ्ठीपत्र आइरहन्थे । प्रत्येक चिठ्ठी हात पर्दा मुटु दुख्थ्यो । मेरो किशोरावस्था र युवावस्थाको महत्वपूर्ण अंश त क्रान्तिकारी परिवर्तनका निम्ति भूमिगत वा अर्धभूमिगत भएरै बितिसकेको थियो । बाँकी जीवनको उद्देश्य पनि देशकै निम्ति काम गर्नु थियो ।

जुन दिन देशमा आन्दोलन सफल भएर अन्तर्राष्ट्रिय जगत्मा समाचार फैलियो, म एक्लै कोठामा खुसीले नाच्दै थिएँ, आँखाभरि आँशु बोकेर…। जीवनकै एउटा ठूलो उद्देश्य पूरा भएको थियो ! विगतमा गरेका सारा दुःखको पीडा एकैपल्ट हरायो !

सरोजको सर्जरीमा विद्यावारिधि सिद्धिनै आँटेको थियो । थेसिसको केही काम मात्र बाँकी थियो । उनलाई देश फर्किन हतार लाग्यो । देशमा आएको परिवर्तनसँगै स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामको सम्भावना एकाएक बढेको देख्न थालेका थिए । उनमा ‘केही गरूँ’ भन्ने हुटहुटीको भूत नै चढेजस्तो भएको थियो ।

उनको त्यो अधैर्य देखेर मैले पनि ‘जानु न त, एकचोटी देश फर्केर हेर्नु’ भनेँ । दुवै जनासँगै फर्किनलाई पैसै पुग्दैन थियो । त्यो बेलाको छात्रवृत्तिको पैसा थोरै नै हुन्थ्यो । मेरो समेत जोडेर पनि बच्चालाई पढाउन मुस्किलै थियो ।

त्यतिबेलाको अभावको कथा भिन्दै छ । यही अभावले मलाई लेख्न बाध्य पारिदियो । सुरुमा केही जापानी आत्मीय साथीहरु– खोयोको, निशिकावा र सुसुमु आओकीले निकै सहयोग पुर्याए । यो कुरा म जिन्दगीभर बिर्सिन सक्तिनँ ।

पहिले त जापानी पाठकहरुको निम्ति भनेर लेखेँ । मेरो अंग्रेजी भाषा राम्रो नभएकाले हरेक लेखलाई सरोजले अनुवाद गरिदिनु पथ्र्यो र त्यही अंग्रेजी अनुवादलाई फेरि जापानी भाषामा सुसुमु आओकीले उल्था गरिदिन्थे । त्यसैको कपी जापानका केही पाठकसम्म पुग्थ्यो । लेख ‘बिकाउने’ काम पनि जापानी साथीहरू– खासगरी सुसुमु आओकीले नै गरिदिन्थे ।

केही लेखहरु जापानी स्थानीय पत्रिकामा प्रकाशित पनि हुन्थे । त्यसबाट केही पैसा पनि आउँथ्यो । त्यही पैसाबाट बच्चालाई राम्रो स्कुलमा पढाउन सक्यौँ । पछि तिनै लेखहरुमध्ये केही अन्य देशहरुमा पनि छापिए । यसले अत्यन्त कठिन आर्थिक अभावलाई केही खुकुलो बनायो । सरोजलाई एकपल्ट देश फर्किन आउनेजाने टिकटको पैसासम्म पुग्यो ।

मेरो पनि पढाइ सकिँदै थियो । देश फर्किने दिन नजिकिँदै थिए । सरोजको पढाइ र सीप देखेर केही विदेशी मित्रहरु भन्दै थिए– “तिमीहरु देश नफर्क । फर्केर पो के गर्छौँ गरिब देशमा ? विकसित देशमा जानु राम्रो !”

एक जना प्यालेस्टाइनी साथी थिए, किमो । उनको आफ्नो देशको परिस्थितिको कारण पढाइमा जग राम्रो बस्न नपाए पनि अरू ज्ञानका हिसाबले विद्वान भन्न मिल्ने थियो । प्यालेष्टाइनमा जहिल्यै भइरहेको युद्धको कारण हैरान भएका ती साथी बेला–बेलामा लामो व्यथा सुनाउन आउँथे हामीकहाँ ।

उनका एक नर्वेजियन साथी थिइन् । एउटा गजवको योजना सुनाएर सरोजलाई फकाउन खोजे– ‘तिम्रो देशमा धेरै ‘नेताहरु’ छन्, धेरै नेता भएको देश विकास हुन गाह्रो हुन्छ । आन्दोलन पनि भइरहन्छ… । तिमी देश नफर्क । बरु नर्वे जाऔँ । आफ्नो सीपलाई प्रयोग गर्न सकिन्छ…।’

उनकी गर्लफ्रेन्ड एक असल मनकी सक्षम केटी थिइन्– टोरी । त्यसैले पनि उनमा त्यो आँट र भरोसा आएको होला । मान्छे हेर्दा पनि राम्रा र मनका पनि राम्रा असल साथी थिए किमो र टोरी दुवै ।

हाम्रो मनमा भने भर्खरै त्यति ठूलो परिवर्तन भएको आफ्नै देशमा फर्केर काम गर्ने हतारो थियो । कामै गर्नु छ भने आफ्नै देशमा गर्ने भन्ने स्पष्ट थियो । थेसिस डिफेन्ड गर्न बाँकी हुँदै सरोज देशमा एकपल्ट फर्केर साथीहरुसँग भेटघाट गरेर देशमै केही नयाँ काम थाल्ने योजना बनाए । यो सोचलाई मैले पनि स्वीकार गरेँ ।

सरोज घर फर्किने कुरा सुनेर ससुराबुवा धैरै खुसी हुनुभयो । छोरा टाढा नहोस् भन्ने चाहना पनि थियो । वृद्धावस्थाका बुवाको इच्छा थियो छोरा नजिक होस् । त्यहीबेला हाम्री छोरीलाई पनि नेपालमै पढाउनुपर्छ अब भनेर जोड गर्नुभएछ बुवाले ।

चिठ्ठीमा लगातार छोरीलाई पनि लिएर आउनु भनेर बुवा लेख्नुहुन्थ्यो । नातिनीलाई हेर्ने र पढाउने रहर गर्नु भएकोले, चीनमा बस्न केही महिनामात्र बाँकी हुँदा छोरीलाई पनि साथ लिएर सरोज देश फर्के ।

सरोज घर फर्कनु ठीक अघि जापानी मित्रहरुले मलाई जापानमा पाठकहरुसँग भेटघाट गराउन भनी बोलाए । मेरो कलेज सकिने बित्तिकै म एक्लै जापान गएँ । डेढ महिनाको भ्रमणमा जापानका अनेक प्रोभिन्सका स–साना गाउँदेखि टोकियोलगायत ठूला सहर देखाउन र जापानकै लेखक र नेपालसँग सम्बन्धित मान्छेहरु भेट गराउन खोजेका रहेछन् मलाई ।

सांघाईबाट टोकियोसम्मको पानीजहाजमा आउने जाने टिकट पनि उतैबाट पठाइदिएका थिए निशिकावा र सुसुमुले । त्यो क्षण मैले आफूलाई भाग्यमानी ठानेँ र आफू लेखक हुनुमा गर्व महसुस पनि गरेँ ।

म पहिलोपल्ट जापान पुग्दाको त्यो बेला चीन आज जस्तो धेरै विकसित भइसकेको थिएन । विकासको निम्ति निर्माणकार्य भने धमाधम सुरु हुँदै थियो । सांघाइदेखि टोकियो नजिकको योकोहामासम्मको समुद्री यात्रामा दुई दिन दुई रातको समय पार गरेर जहाजबाट निस्कँदा त्यहाँको विकास देखेर म चकित भएँ । टाइम टनेलबाट एकैपल्ट विकसित देशमा पुगेको महसुस भयो । ‘आहा, कति राम्रो र सभ्य देश !’ भनेँ साथीहरुलाई ।

मैले जापान टेकेको दिन मेरो जन्मदिन परेको रहेछ । मलाई थाहै नदिई ‘सरप्राइज’ दिन भनेर पो त्यो दिनको टिकट मिलाएका रहेछन् । ‘ह्याप्पी बर्थ–डे, सुलो !’ भन्दा मेरो आँखा भिज्यो ।

यसरी म यता खुसी भइरहेको बेला सरोजको टेलिफोन पाएँ– पाँच वर्षपछि नयाँ नेपालको अनुहार हेर्न पुगेका सरोज पुराना साथीहरु भेटेर अति खुसी थिए । फोनमै भने– ‘देशले त मलाई नै पर्खिराखेको जस्तो भयो ! अब देशमा रचनात्मक काम गर्न सक्छौँ …!’ दिनहरु एकनास हुँदैनन् रहेछ । यसरी खुसीको समाचार पनि सुन्न पाइँदोरहेछ …।

प्रतिक्रिया दिनुहोस्