विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताएका छन् । प्रदेश योजना आयोगले शुक्रबार आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कोशी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरु तय गर्न आवश्यक भएको बताए । प्रदेशले बनाउने योजनाहरु प्रदेशकै तथ्यांकमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्ताविक तथ्यांक संकलन गर्ने कुरामा हाम्रो ध्यान पुग्नुपर्ने उनको भनाइ छ ।
‘प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरु तयार गर्ने सन्दर्भमा हामी पहिलेनै चुकेका छौँ, त्यसको कारणले अझै केही वर्ष केही क्षेत्रहरुमा असन्तुलन हुने अवस्था रहन्छ’ मुख्यमन्त्री कार्कीले भने । प्रदेशको संरचनागत कुरामा ध्यान दिँदा अन्य क्षेत्रका कामहरु छुटेको प्रस्ट पार्दै यस पटकको बजेट निर्माणसँगै केही सुधार गर्ने प्रयास गरिएको उनले स्मरण गराए ।
प्रदेशका केही क्षेत्रहरुका अवस्था खस्किएको दृष्टान्त प्रस्तुत गर्दै उनले औद्योगिक उत्पादन, निर्माण सामग्रीको उत्पादन र राजस्व सङ्कलनमा गिरावट आएको बताए ।
कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर संभावना रहेको कोशी प्रदेशलाई पर्यटनको एक नं गन्तव्य बनाउन सकिने बताए । खानेपानी, सिचाँइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङवोले वर्तमान संविधानले समाजबादको गन्तव्य तय गरेकाले प्रदेश समृद्धिका आधारहरु पनि सोही अनुरुप निर्माण गरिनुपर्ने बताए ।
त्यस्तै उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले प्रदेश भित्रको प्राकृतिक स्रोतसाधनको रुपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्य गणेश उप्रेती लगायतले प्रदेश समृद्धका आधारबारे धारणा राखेका थिए ।











