Logo
Logo

‘एमालेजस्तो प्रतिगामी पार्टी यो मोर्चामा अट्दैन’


राजेन्द्र श्रेष्ठ, वरिष्ठ नेता, जसपा


नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा कम्युनिष्ट पार्टीले समाजवादी मोर्चा घोषणा गरेका छन् । मोर्चाले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक–आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना प्रमुख उद्देश्य राखेको छ ।

उद्देश्य प्राप्तिका लागि चार दलले १५ बुँदे वैचारिक–राजनीतिक प्रतिबद्धता जनाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादको नेपाली बाटो तय गर्नेलगायतका उद्देश्य मोर्चाको छ । प्रतिगमन विरुद्धको संघर्षलाई मोर्चाले प्राथमिकतामा राखेको छ । समाजवादी मोर्चाको आधारपत्र तयार पार्ने मध्येका एक जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

लामो छलफलपछि समाजवादी मोर्चा घोषणा गर्नुभयो ? कसरी जुट्यो सहमति ?
संघीय शासन प्रणालीमा आधारित समाजवादमा जाने मूख्य उद्देश्य राखेर हामीले समाजवादी मोर्चा घोषणा गरेका हौँ । हामीले समाजवादको नेपाली बाटो अवलम्बन गर्ने भनेका छौँ । हामीले आफ्नो मौलिक बाटो बनाएर अगाडि बढ्नुपर्छ भनेर नेपाली बाटोको समाजवाद भनेका हौँ । यसको मुख्य मान्यता संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, लोकतन्त्र, संविधानको रक्षा, विकास र परिमार्जन, आर्थिक, सामाजिक रूपान्तरण आदि हुन् ।

अब हामीलाई यस्तो मोर्चा चाहियो, जुन मोर्चाले नेपालमा समाजवादको भविश्य कोर्न सकोस । समाजवादको नेपालीकरण गर्न साकोस । त्यहाँसम्म पुग्न बैचारिक, राजनीतिक आधार तयार पारोस । समाजवादको नेपाली बाटो पहिल्याउने हाम्रो लक्ष्य छ । हामी लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित, सुशासन, समृद्धि र समतामूलक समाज निर्माणप्रति प्रतिवद्ध छौँ । र, संघीय शासन प्रणालीमा आधारित समाजवादी राज्य व्यवस्था स्थापना गर्न चाहन्छौँ । यस्ता मूल विषयमा हामी चार पार्टी सहमतिमा पुग्यौँ र समाजवादी मोर्चा घोषणा गर्‍याैँ ।

अहिले चुनाव पनि आएको छैन, आन्दोलनको घोषणा पनि भएको छैन । यस्तो बेला मोर्चाको आवश्यकता किन पर्याे ?
समयले नै यसलाई बताइरहेको छ । तपाईँले भनेजस्तै अहिले चुनाव आएको छैन । आन्दोलनको घोषणा पनि भएको छैन । तर, हामीले किन मोर्चा बनायौँ भन्दा बैचारिक, राजनीतिक रुपले हाम्रो रणनीतिक लक्ष्य भनेको समाजवाद हो । नेपाली विशेषताको समाजवाद स्थापना गर्न राजनीतिक र वैचारिक काम थाल्न हामीले मोर्चा घोषणा गरेका हौँ ।

नेपाली विशेषताको समाजवादमा पुग्न कसरी सम्भव छ ?
सबैभन्दा पहिला हामीले समाजवादको नेपालीकरण पहिल्याउनुपर्छ । हामी त्यो बाटो पहिल्याएर अगाडि बढ्छौँ । नीतिगत रुपमा हामीले धेरै छलफल गरेका छौँ । यस्तो समाजवाद, जो संघीय शासन प्रणालीमा आधारित होस् । सुशासन, समृद्धि र समतामूलक समाज निर्माणमा केन्द्रित होस् । आर्थिक, सामाजिक न्याय होस । कुनै पनि मानिस विभेदमा नपरोस् । लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित होस् ।

हामीले संघीय शासन प्रणाली भएको समाजवादी गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्ने लक्ष्य राखेका छौँ । यसलाई हामीले नेपाली विशेषतामा आधारित समाजवाद भनेका छौँ । त्यहीकारण अहिले चुनाव र आन्दोलन नभए पनि बैचारिक, राजनीतिक आधारमा मोर्चा बनाउने काम सुरु गर्‍याैँ । भारतमा हेर्ने हो भने, कंग्रेस आई नेतृत्वको एउटा मोर्चा छ भने अर्को भारतीय जनता पार्टी नेतृत्वको मोर्चा छ । युरोपमा बेलायत, फ्रान्स लगायत केही मुलुकबाहेक मोर्चाको राजनीति छ ।

मोर्चा मात्रै कि, पार्टी एकतासम्मै जाने उद्धेश्य हो ?
हाम्रा आ–आफ्ना बैचारिक, राजनीतिक कुराहरू छन् । त्यो मिलेको भए त पार्टी नै एकता हुन्थ्यो नि । विभिन्न कुरा उठिरहेका छन् । पार्टी एकताको कुरा पनि उठेको छ । एउटै चुनाव चिह्नमा जाने कुरा पनि उठेको छ । यी भविश्यका गर्भका कुरा हुन् । अहिले चाहिँ हामी समाजवादी मोर्चा, नेपाल गठनमा सीमित छौँ । आ–आफ्नो पार्टीको संरचनाबाटै स्वतन्त्र रुपमा काम गर्ने स्वतन्त्रतासहित साझा लक्ष्य र उद्देश्यका लागि मोर्चामा आबद्ध भएका हौँ ।

एउटै पार्टी त्यो बेला हुन्छ, जब विचार, सिद्धान्त, मार्गदर्शक सिद्धान्त एउटै हुन्छ । हामीले त अहिले बैचारिक, सैद्धान्तिक आधारमा उभिएर मोर्चा बनाएका हौँ । हामी बनाएको समाजवादी मोर्चामा विविध राजनीतिक धार छन् ।

यो मोर्चामा एमाले अट्छ कि अट्दैन ?
एमाले त कसरी अट्न सक्छ र ? विगतमा एमालेले दुई–दुईपटक संसद् विघटन गरेर संविधान, लोकतन्त्र र संघीयतालाई समस्यामा पार्याे । देशलाई प्रतिगमनको दिशामा लान खोज्यो । अहिले पनि रास्वपा र राप्रपासँग एमालेको मोर्चाबन्दी नै छ । यस्तो अवस्थामा एमाले यो मोर्चामा आउने कुरै भएन । अहिले एमालेका लागि यो मोर्चामा ठाउँ छैन । नीति, विचार र मुद्दा मिल्ने दलहरू भने यो मोर्चामा समेटिन्छन् ।

अब जसपाले नेकपा मान्ने कि अन्य तीन दलले नेकपा छाड्ने हो ?
समाजवादको लक्ष्यसम्म हामी सबै एकै छौँ । तपाईँ हिमालको चुचुरोमा पुग्न चाहनुहुन्छ भने कहाँसम्म बाटो मिल्छ, त्यहाँसम्म सँगै जाने हो । द्धन्द्धात्मक भौतिकवादलाई मान्ने सवालमा, नेपाली विशेषताको समाजवाद मान्ने सवालमा, संघीय शासन प्रणाली भएको समाजवाद मान्ने सवालमा, सुशासन, समृद्धि र समतामूलक समाज निर्माण गर्ने सवालमा हाम्रो कुनै विमति छैन ।

भनेपछि नाममा मात्रै अल्झिएको हो ?
वर्तमान सरकारलाई अगाडि बढाउने र भविष्यमा एकाकार भएर जाने आधार निर्माण गर्दै अघि बढ्ने भन्ने हो । अहिलेसम्म प्राप्त उपलब्धि रक्षा गर्दै थप उपलब्धि प्राप्तिका लागि लड्ने हो ।

अहिलेको गठबन्धन त धरापमा पर्दैछ भन्ने चर्चा चल्न थालेको छ नि ?
मुलुकलाई अस्थिरतामा लान खोज्नेहरूले चलाएको हल्ला हो यो । यसमा कुनै सत्यता छैन । सत्तारुढ गठबन्धनमा दूरी बढाउने र अस्थिरताबाट फाइदा लिन खोज्नेहरूले चलाएको हल्लाको कुनै अर्थ रहँदैन ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि अफर आयो रे नि ?
मैले भनिसकेँ । हल्लाको पछाडि लाग्नु हुँदैन । सत्तारुढ गठबन्धन र समाजवादी मोर्चामा दूरी बढाउनका लागि गरिएको हल्ला मात्रै हो । यसमा सत्यता छैन ।

समाजवादी मोर्चा बनाएपछि कांग्रेससँग दूरी बढेको हो ?
कांग्रेस र हामीबीच अहिले पनि अत्यन्त सौहार्दपूर्ण सम्बन्ध छ । हामीले कांग्रेससहितको प्रगतिशील गठबन्धन बनाउने प्रस्ताव गरेका थियौँ । तर, कांग्रेसले अहिले कुनै पनि गठबन्धन बनाउने पक्षमा छैनौँ, अहिले जुन गठबन्धन छ त्यही ढंगले अगाडि बढौँ भनेपछि हामीले चार दलको मोर्चा बनाउने कुरा गरेका हौँ । कांग्रेसले समाजवादी मोर्चा बनाएर जानुभयो भने सरकार गठनमा पनि १० दल, ११ दल मिलाउनुपर्ने अवस्था पनि रहँदैन । थोरै शक्ति बसेर सहजिकरण गर्न सकिन्छ, समाजवादी मोर्चालाई शुभकामना छ भनेर कांग्रेस सभापतिले भन्नुभएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण र कांग्रेस सभापति शेरबहादुर देउवाको सिंगापुर भ्रमणलाई जोडेर हेर्ने पनि छन् नि ?
यो मोर्चा घोषणामा प्रधानमन्त्रीको भारत भ्रमण र कांग्रेस सभापतिको सिंगापुर भ्रमणको गोरु बेचेको साइनो पनि छैन । प्रधानमन्त्रीको भारत भ्रमणभन्दा धेरै अगाडिदेखि समाजवादी मोर्चाबारे छलफल भएको हो । सुरुमा तीन वटा पार्टी थियौँ । पछिल्लो समय चार वटा पार्टी मिलेर समाजवादी मोर्चाको अभ्यास गर्‍याैँ ।

समाजवादी मोर्चामा बाबुराम भट्टराई र वामदेव गौतम किन छुटे ?
बाबुरामजी माओवादीसँग पार्टी एकताकै बहसमा हुनुहुन्छ । सुरुमा तीन पार्टी बीचको र एक महिनाअघिदेखि विप्लवसहित चार पार्टीको गृहकार्य भएको हो । जुन जुन पार्टीबीच गृहकार्य भयो, पहिलो चरणमा त्यही ढंगको मोर्चा बन्यो । अब, बाबुरामजीको पार्टी एकता भएन, वामदेवसहित अन्य पार्टीहरू पनि मोर्चामा आउँछौँ भन्यो भने हामीले बाटो खुला राखेका छौँ । हामी वार्ता गर्छौ, छलफल गछौँ र चार पार्टीबीचको सहमतिमा अरु दललाई पनि मोर्चामा सामेल गछौँ ।

संसदवादी दल र निर्वाचन बहिस्कार गरेको नेकपा बीचको मोर्चा कति दिन टिक्छ ?
हाम्रो पार्टी स्वयंले यो संविधान जलाएको होइन र ? केही धाराबाहेक समग्रमा यो संविधान अग्रगामी छ । संविधान समग्रमा प्रगतिशील नै छ । समाजवादउन्मुख राज्यसत्ता निर्माण गर्नेलगायतका कुरा राम्रा छन् । हामीले यो संविधानलाई आलोचनात्मक रुपमा हेर्‍याैँ । र, यसभित्र रहेका राम्रा पक्षलाई हेरेर हामी निर्वाचनमा सहभागी भएका हौँ । सँगै बसेर जाँदा नेकपाले पनि आत्समीक्षा गर्ने होला । हामीले पनि समीक्षा गर्ने होला । हामी त वैचारिक, सैद्धान्तिक रुपमा सहमत भएरै मोर्चा बनाएका हौँ । कतिपय मिल्न बाँकी विषय छलफल गरेर मिलाउँदै जान सकिन्छ ।

एमाले अध्यक्ष ओलीले त यो मोर्चाको कामै छैन भनिदिनुभयो नि ?
उहाँले त भन्नु नै हुनुभयो नि । रास्वपा र राप्रपासँग मोर्चाबन्दी गर्नु अनि विचार, सिद्धान्तको आधारमा समाजवादमा पुग्ने लक्ष्य राखेका शक्तिबीचको मोर्चाको औचित्य नदेख्नु दृष्टिदोष मात्रै हो ।

हामीले समाजवादी मोर्चा बनाएपछि दक्षिणपन्थीहरूले पनि मोर्चा बनाउन सक्छन । राप्रपा पुनर्उत्थान चाहन्छ । ऊ संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा छ ।

रास्वपाले आफ्नो विचारधारा स्पष्ट गरेको छैन । कतिपय कुरा सुन्दा उ पुराना विचारधारालाई नै नयाँ रुपमा उठाउन खोजिरहेको छ । त्यस्ता दलहरूसहित अहिले एमाले मोर्चाबन्दीमै छ । अघोषित रुपमा त एमाले, रास्वपा र राप्रपाको मोर्चाबन्दी नै छ त ।

कांग्रेसको मोर्चा चाहिँ कुन त ?
कांग्रेस प्रगतिशील गठबन्धनमा अन्तर्राष्ट्रिय रुपमा अगाडि बढेको छ । नेपालमा पनि प्रगतिशील शक्तिहरूको बैठकको आयोजना कांग्रेसले गरिरहेको छ । अहिले सत्तारुढ गठबन्धनको नेतृत्व पनि कांग्रेसले गरिरहेको छ । कतिपय पार्टीहरू मध्यमार्गी धारमा पनि हिँडिरहेको देखिन्छ ।

मोर्चा विना एक्लै हिड्ने अवस्था चाहिँ अब दलहरूको रहेन होइन ?
मोर्चा आवश्यक किन पर्‍याैँ भन्दा नेपालको संविधानमा निर्वाचन प्रणाली र शासकीय प्रणालीबीच अन्तरविरोध छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्वसमानुपातिक संसद नभएसम्म मोर्चाको आवश्यकता पर्छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाँदा त नयाँ व्यक्ति फुत्त आउला नि ?
कहिलेकाही वर्षायाममा खहरेहरू उत्ताउला भएर बग्छन । त्यो खहरेले दायाँ पनि भत्काउँछ, बायाँ पनि भत्काउँछ । नदीलाई पनि केही समय थुन्छ । तर, जब स्वच्छ मौसम आउँछ, खहरे खहरे नै हुन्छ, नदी नदी नै हुन्छ । राजनीतिक मौसम संलिन दिनुस् न, त्यसपछि विचार, सिद्धान्तमै राजनीति अगाडि बढ्छ ।

समाजवादी मोर्चाको भविश्य उज्वल छ भन्न खोज्नुभएको हो ?
हामी समाजवादलाई मानेर अगाडि बढ्छौँ । विचार र सिद्धान्तमा आधारित भएर यो मोर्चा अगाडि बढ्दा भोलि निर्वाचनका लागि सहज वातावरण हुन्छ । विचारधारामा आधारित दलहरू एउटै घोषणापत्र लिएर जनतामा जाने अवस्था बन्छ । सत्ता र स्वार्थको गठबन्धन अन्त्य होस भनेर नै हामीले अहिलेदेखि नै मिहेनत गरेका हौँ । हामीले यो सुरुवात गरिसकेपछि राजनीतिक अस्थिरता, अस्थिरताले सिर्जना गर्ने आर्थिक संकट, सामाजिक विकृति, विसंगति र सांस्कृति विचलन लगायतलाई करेक्सन गर्ने दिशामा नेपाली राजनीति अगाडि बढ्छ । यसकारण हामीले नयाँ इमान्दार प्रयत्न थालेका हौँ । यसकारण पनि हाम्रो भविश्य उज्जल छ ।

निर्वाचन प्रणालीका कारण एउटा दलको मात्रै बहुमत नआउने भएपछि वैचारिक आधार भएका दलहरू एकै ठाउँमा उभिएका हौँ । त्यसपछि बहुमत हुन्छ । स्थिरता हुन्छ र समाजवादी दिशामा देशलाई अगाडि बढाउन सकिन्छ ।

अरुले पनि त मोर्चा बनाउलान ?
त्यो त स्वाभाविक हो । अहिले पनि त अघोषित मोर्चा रहेकै छ । संघीयताको खारेजी, गणतन्त्र र धर्मनिरपेक्षतामा जनमत संग्रहको कुरा गर्नेहरू प्रतिगामी हुन् । तिनीहरूको विरुद्धमा समाजवादी मोर्चा खडा हुन्छ । संविधानको रक्षा गर्दै समाजवादको बाटोमा मोर्चा अगाडि बढ्छ ।

संसदमा नयाँ पार्टी जन्मिए नि ?
संघ, प्रदेश र स्थानीय तहमा पनि नयाँ पार्टी आएका छन् । नीति, सिद्धान्त र विचारभन्दा आक्रोशमा भाइरल भएर आएका छन् । ती भनेको अस्थायी कुरा हो । स्थायी कुरा भनेको राजनीति नीति, सिद्धान्त र विचारबाटै चल्छ ।

राणा शासनविरुद्ध, पञ्चायतविरुद्ध र निरंकुश राजतन्त्रविरुद्ध विचारले नै काम गरेको थियो । पटक पटकको जनआन्दोलन र जनविद्रोहबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । त्यो पनि विचारले नै भएको हो । विचारले नै विकासलाई डोहोर्‍याएको छ । सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ । अझै धेरै कुरा गर्न बाँकी छ । बाँकी कार्यभार पूरा गर्ने गरी समाजवादी मोर्चा अगाडि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्