Logo
Logo

चौबिस घण्टाभित्रै देशले गुमायो दुई कलाकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० मंसिर । चलचित्र क्षेत्रमा यो साता ब्रजपात परेको छ । आफ्ना सहकर्मी गुमाउँदा चलचित्रकर्मी शोकमा परेका छन् । बरिष्ठ कलाकार दीपक क्षेत्रीको निधन भएको २४ घण्टा नवित्दै बरिष्ठ कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ । विकास वोर्डका अध्यक्ष भट्टराईको आइतबार राति निधन भएको हो । त्यसको अघिल्लो दिन शनिबार कलाकार क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा मृत भेटिएका थिए । यी कलाकारको निधनसँगै देशले कुसल कलाकार गुमाएको छ ।

कलाकार क्षेत्रीको अन्तिम दाहसंस्कार गर्ने तयारी भइरहँदा अर्का कलाकार भट्टराईको निधन भएको थियो । शनिबार निधन भएको क्षेत्रीको सोमबार अन्त्येष्टि गर्न कलाकार तथा प्राविधि तयारीमा जुटेका थिए । तर, सोमबार उज्यालो नहुँदै अर्को दुःखद खबर सुन्नुपरेको थियो ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि क्रियाशील क्षेत्रीले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका छन् । चलचित्र क्षेत्रमै करिब चार दशक विताएका ५८ वर्षीय क्षेत्रीको अन्तिम दाहसंस्कार नहुँदै अर्का बरिष्ठ कलाकार भट्टराईको निधनले चलचित्र क्षेत्र स्तब्ध बनेको छ ।

कलाकार क्षेत्री विशेषगरी नेपाली चलचित्रमा खलपात्रका रुपमा चर्चित थिए । अभिनय गरेका अधिकांश चलचित्रमा उनी दम्दार भएर प्रस्तुत हुन्थे । कलाकार क्षेत्री अभिनित पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । उनी अभिनित ‘सीमाना’, ‘राज्जा रानी’, ‘झोला’, ‘मसान’, ‘सेतो सूर्य’लगायतका चलचित्रमा चर्चित छन् ।

करिब एक वर्षअघिमात्र चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराई एक कुसल अभिनेता थिए । लामो समयदेखि जनपक्षीय चलचित्रकर्मी संघमा रहेर नेपाली चलचित्रकर्मीको हकहितका लागि आवाज उठाउँदै आएका भट्टराई विकास वोर्डमा नियुक्त भएसँगै विभिन्न योजनाहरु अघि सारेका थिए । तर, ती योजना सुरु नहुँदै उनी सदाका लागि विदा भए ।

स्वास्थ्यमा एक्कासी समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेका थिए । उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतलाई उदृत गर्दै चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् । भट्टराईको मृत्युको कारण यकिन नभएपनि ‘हृदयघात’ भएको हुने सक्ने बताइएको छ ।

करिब ३ दशकदेखि चलचित्र अभिनय र निर्माणमा सक्रिय ५४ वर्षीय भट्टराई एक पत्नी र छोरा रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनको अन्तरालमा दुई प्रतिभावान कलाकार गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत दुवै कलाकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्