Logo
Logo

कोशी प्रदेश : प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझायो


567
Shares

विराटनगर । कोशी प्रदेश सरकारले चार महिनाअघि गठन गरेको प्रशासन सुधार कार्यदलले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहका बीच उक्त प्रतिवेदन बुझाएको हो ।

कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदनमार्फत दिएका राय सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

उनले कार्यदलले दिएका सुझावहरु कार्यन्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यन्वयनमा लैजान पनि मन्त्री तथा सचिवहरुलाई निर्देशन गरे ।

उनले सङ्घीयताको महत्वपूर्ण हिस्साको रुपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै तर प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्णीहरु हुनु दुःखद भएको बताए । प्रदेश संरचना प्रति जनस्तरबाट विभिन्न प्रश्नहरु उठिरहेको बेला कार्यदल मार्फत आएका सुझावहरुले त्यसको समाधान दिने विश्वास व्यक्त गरे ।

कोशी प्रदेश सरकारले चार महिना अघि २०७९ माघ ६ गते पूर्वसचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यहरुमा पूर्वप्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहेका थिए ।

कार्यदलले चार महिना लगाएर तयार पारेको २२८ पेज लामो प्रतिवेदनमा १५२ वटा सुझावहरु रहेका छन् ।
कार्यदलले बुझाएको प्रतिवेदन बुधबार नै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेलाई कार्यन्वयका लागि हस्तान्त्रण गरेका छन् । सो अवसरमा प्रदेशका मन्त्री, प्रदेश सचिवहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्