Logo
Logo

हैसियत बिर्सिएपछि…


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ पुस । ‘त्रिताको मुखै बैरी’ भनेझै सामाजिक सञ्जालमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको आलोचना हुन थालेको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकारको काम आवश्यक पर्दा प्रधानमन्त्रीलाई सहयोग गर्ने भएता पनि पछिल्लोपटक उनको कामले प्रधानमन्त्रीलाई नै अप्ठेरो पार्न थालेको छ । बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली थापाको कच्चा कामबाट असन्तुष्ट बनेका छन् । प्रधानमन्त्रीका अन्य सहयोगीहरुले उनलाई सामाजिक सञ्जालबाट विवादास्पद सन्देशहरु प्रवाह नगर्न आग्रह गर्दै आएका छन् । तर, पनि थापाले सामाजिक सञ्जालबाट जनता जिस्क्याउन छाडेका छैनन् । पछिल्लो पटक उनले आफ्नो पहिलो गल्ती ढाकछोप गर्न सामाजिक सञ्जालबाटै उनका आलोचकहरुलाई ‘ढेडु’ भनेर गाली गरेका छन् ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल ‘छौडा’ शब्दका कारण आलोचित बन्नुपरेको घटना नसेलाउँदै अर्का सल्लाहकार थापाले आफ्नै पार्टीका अध्यक्षविरुद्ध गरेको यो सुनियोजित प्रचार प्रचण्डको तेजोबध गर्न गरिएको षड्यन्त्र भनिएको छ ।

गत साता मंसिर २३ गते उनले आफ्नो स्टाटसमा ‘मेरो स्टाटस हो कि अरुको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हुन् कि ढेडु ? कति असभ्य र घृणित रहेछन्, एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरु ? छिःछि, मान्छे बन्न कति गाह्रो परेको तिनलाई ?’ भनेर भनिएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार जस्तो जिम्मेवारीमा बसेको एउटा व्यक्तिको यही स्टाटसले उनको हैसियत थाहा हुन्छ । पदीय मर्यादाविपरीत उनले आफ्ना आलोचकलाई ‘ढेडु’, ‘स्याल’जस्ता शब्द प्रयोग गरेर प्रधानमन्त्री स्वयंलाई लज्जित तुल्याएका छन् ।

यस अगाडि थापाले कान्तिपुरमा प्रकाशित गंगा बिसीको लेखको एउटा अंश आफ्नो स्टाटसमा राखेर विवादमा आएका थिए । उक्त स्टाटसमा थापाले गंगा बिसीको लेखको अंश भनेर ‘एक क्षण कल्पना गर्न सकिन्छ, यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीका रुपमा खुम्चिएको हुन्थ्यो । १० वर्ष युद्ध हाँकेका प्रचण्ड सानो पार्टीका नेता हुन्थे । सम्बोधन हुन्थ्यो, पूर्वविद्रोही नेता प्रचण्ड ?’

यो एउटा लेखकको धारणा र विचार हो । त्यही विचारबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई होच्याउन उनले यस्ता शब्द किन आफ्नो ‘स्टाटस’मा राखे अथवा सचिवालयका साथीहरुले राख्न लगाए भन्ने कुरालाई पूर्वमाओवादीका नेताहरुले गम्भीर रुपमा लिएका छन् । स्वयं पार्टी अध्यक्ष प्रचण्डले पनि यो कुरालाई गम्भीररुपमा लिएका छन् । पूर्वमाओवादी नेताहरुका अनुसार प्रधानमन्त्री ओली पार्टीभित्रबाटै भएको यस्ता पार्टीविरोधी कुरामा गम्भीर बन्नुपर्छ । अन्यथा, प्रचण्डतिर सोझिएको तीर ओलीतिर पनि सोझिन सक्छ ।

प्रेस सल्लाहकार थापाको पछिल्लो ‘स्टाटस’लाई कतिपय सञ्चारकर्मीहरुले अराजक र उच्शृंखल भनेर टिप्पणीसमेत गरेका छन् । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल ‘छौडा’ शब्दका कारण आलोचित बन्नुपरेको घटना नसेलाउँदै अर्का सल्लाहकार थापाले आफ्नै पार्टीका अध्यक्षविरुद्ध गरेको यो सुनियोजित प्रचार प्रचण्डको तेजोबध गर्न गरिएको षड्यन्त्र भनिएको छ । पक्कै पनि थापाले कसैको आड नपाइकन यस्तो गतिविधि गर्ने दुस्साहस गरेका होइनन्, होला भन्ने तर्क वितर्क नेकपाका नेताहरुले गरेका छन् । सिसाको घरमा बसेर बाटोमा हिँड्नेहरुलाई ढुंगाले हान्ने काम बालुवाटारका हनुमानहरुले बन्द नगरेसम्म प्रधानमन्त्री ओली आलोचनामुक्त हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्