Logo
Logo

कहाँ होलान् नेपालबारे भविष्यवाणी गर्ने ती विद्वान ?



सरोज नेपाल पुगेको बेला म जापानमा थिएँ । साथीहरुको निम्तोमा, उनीहरुकै योजनामा । कहाँ–कहाँ लाने, कोकोसँग भेट गराउने, सबै नै मेरा आत्मीय साथी सुसुमु र निसिकावाले योजना गरेका थिए ।

मेरो आफ्नै त खास योजना पनि थिएन । पहिलोपल्ट जापान पुगेकी थिएँ । केवल कौतुहलमात्र थियो । साथीहरुले जे भन्छन्, त्यही गर्ने सोच लिएर पुगेकी थिएँ ।

त्यो महँगो सहर टोकियोमा आफूखुसी गर्न प्रशस्त पैसा पनि थिएन । तर म बसुन्जेलको हरेक दिनजसो कार्यक्रम साथीहरूले नै बनाइदिइसकेका रहेछन् । प्रायः साथीहरु चीनमा म पढ्ने कलेज ‘इष्ट चाइना नर्मल युनिभर्सिटी’मा पढ्नेहरु नै थिए । मलाई जापानी भाषा आउँदैनथ्यो, अलिअलि चिनियाँ भाषा र अलिअलि अंग्रेजी भाषामा हाम्रो कुराकानी हुन्थ्यो साथीहरुसँग ।

एक दिन सुसुमु आफैँले समय लिएर एक जना विद्वान नेपाल विशेषज्ञसँग भेट गराउन लगे । बाटोमा ‘तिमीलाई मन लाग्यो भने नेपालीमै कुरा गरे पनि हुन्छ है !’ भने । म झनै उत्साहित भएँ । जापानीसँग नेपाली बोल्न पाउने अवसरले अति खुसी लाग्यो । ती विद्वान थिए– प्रोफेसर हिरोशी इशी ।

उनले आफ्नो अफिसमा बोलाएका थिए, हामीलाई । उनको अफिस देख्दा नै नेपालकै ठूलै ठाउँमा पसेझैं लाग्यो, नेपालको झण्डादेखि नेपाल चिनाउने सबै कुरा थियो ।

मलाई उनको बारेमा केही थाहा थिएन । तर उनले भने मेरो बारेमा धेरै थाहा पाइसकेका रहेछन् । मेरा अनूदित लेखहरु उनी पनि पढ्दा रहेछन् । पुग्नासाथ नमस्कार गरेँ । नमस्कार ! सहजै नेपाली पारामै फक्र्याे । उनले ‘आरामै हुनुहुन्छ ?’ भनेर शुद्ध नेपालीमा सोध्दा म छक्क परेँ । जापान पुगेर नेपाली भाषा बोल्दैछु भनी सम्झँदा एकदम खुसी लाग्यो ।

नेपालमा भर्खरै ४६ सालको आन्दोलन सम्पन्न भएको थियो । ‘आन्दोलन सफल भयो, कस्तो लागिरहेको छ त ?’ भन्ने प्रश्नबाट कुराकानी सुरु भयो । ‘म त यसपालिको आन्दोलनमा बाहिर परेँ, सहभागी हुनसकिनँ’ के भनेकी थिएँ, उनले भने– ‘भाग्यवश बाहिरै परेँ’ भन्नुस् न ! नेपालमै भएको भए तपाईँजस्तो मान्छे बाँच्ने सम्भावना पनि कमै हुन्थ्यो होला ।’

किन यस्तो भन्दैछन् भनेर म छक्क परेँ । मनमनै भनेँ ‘भर्खरै मात्र भेट हुँदैछ, कसरी मेरो विगतका बारेमा थाह पाए होलान् ! सुसुमुले नै अनुवाद गरिदिएका लेखहरु पढेर र थप कुरा उनीहरूसँगै सोधेर मसँग के–कस्ता कुरा गर्ने भनेर तयारीसाथ बसेका होलान् ।’

उनी एक प्रोफेसर र नेपाल विज्ञ भएको कुरा त साथीले मलाई सुनाइसकेका थिए । तर नेपालको बारे उनको ज्ञान यति अद्यावधिक होला भन्ने मैले अनुमान पनि गरेकी थिइनँ ।

थानकोट, सतुंगलको किसान बस्तीमा बसेर नेवारी पनि राम्रैसँग बोल्न जानेका रहेछन् । उनले नेपाल भाषामै सोधे ‘छिला नेवा खः नि, बर्म्हुनाप इहिपा जुल, थाकुल ला ?’ अर्थात् तपाईँ त नेवारकी छोरी, बाहुनसँग बिहे भयो, केही गाह्रो त भएन ?

मैले बुझेँ मेरो देशको बारे मात्र होइन, मेरोबारे मात्र पनि होइन, नेपालको संस्कृति, चालचलन, जातिपाति आदिबारे पनि राम्रै ज्ञान रहेछ । उनीप्रति झनै आदर भाव जाग्यो ।

देश र आन्दोलनको बारेमा कुरा हुँदै गर्दा उनले स्पष्ट शब्दमा भने–‘हेर्नुस् तपाईँको देशमा यस्ता आन्दोलन त भइरहन्छन्, बरोबर भैरहन्छन्…, तर तपाईँहरुले चाहेको जस्तो भने हुँदैन । किनकि, तपाईँको देशमा गतिला नेता नै छैनन् ।’ यसो भन्दा म झस्केँ । र आफैँलाई सम्झाउन आफूले मान्ने गरेका केही नेताहरुलाई सम्झेँ । मनमनै भने– ‘यी विदेशीलाई कति पो थाहा हुन्छ र मेरो देशको कुरा ?’ तर मुखले केही बोलिन । उनका कुरा सुनेँ मात्र ।

तर उनको कुरा गर्ने शैलीबाट भने म झन् झन् प्रभावित हुँदै नै गएँ । सत्य नै पनि बोलिरहेका थिए उनी । साँच्चै भनुँ भने उनलाई मलाई भन्दा धैरै कुरा थाहा रहेछ नेपालबारे । नेपाली भाषाका त विज्ञ नै भइहाले । नेपालभाषामा समेत राम्रो पकड रहेछ ।

नेपालको संस्कृतिबारे कुरा गर्ने क्रममा उनले नेपालभाषामै केही भने । जवाफ दिन खोज्दा बरू म नै अलमलिएँ । शब्द झट्ट मुखमा आएन । आफ्नो मातृभाषामा विदेशी नागरिकले प्रश्न गर्दा मलाई खुसी लाग्यो । तर जवाफ दिन खोज्दा शब्द नआएर आफै गाँठो परेको अनुभूत भयो ।

पाँच वर्षदेखि चीनमै थिएँ र कसैसँग मातृभाषामा बोल्न पाएकी थिइन । उनलाई जवाफ दिन खोज्दा शब्द नआएर आँखाबाट आँसु आयो । लज्जाबोध पनि भयो । उनले भने– ‘ल्वाकःबाकः जुलला ?’ अर्थात् ‘बोल्दा अक्मकियो ?’ विस्तारै भनेँ– ‘धेरै भयो मातृभाषा बोल्न नपाएको, तपाईँसँग बोल्न पाउँदा खुसी लाग्यो । खुसीको आँसु हो यो !’

हाम्रो आन्दोलनको बारेमा कति स्पष्ट उनी ! उनले भनेका कुरा मेरो मनभित्रै पसे । उनी एकजना परिपक्व प्रोफेसर, नेपालबारे गहिरो अध्ययन भइसकेका विद्वान । म भने भर्खरै युवाकाल पार गर्दै गरेको मान्छे । मेरो बुझाई अझै सतही थियो । म व्यवहारिक कम र बढी संवेदनशील थिएँ ।

विभिन्न तहका संघर्ष पार गरेर आएको भए पनि नेताहरुलाई अझै राम्रोसँग चिन्न भ्याएको थिइनँ । देशको निम्ति मर्नै तयार भए पनि नेताहरुका स्वार्थलाई राम्रो बुझ्न भ्याइसकेकी थिइनँ । अझ भनौँ, कुनै बेलाका असल क्रान्तिकारीलाई पनि बिगार्ने, स्वार्थी र भ्रष्ट बनाउने सत्ता राजनीतिभित्र लुकेको दारालाई चिन्न भ्याइसकेकी थिइनँ । उनले प्रष्टरूपमा भन्दा समेत मेरो मनको एउटा पक्ष भन्दैथियो–‘विदेशीलाई के थाहा ?’

उनलाई त्यसबेला भेटेपछि अहिले दशकौँ बितिसकेको छ । त्यो बेलाको उनको ‘भविष्यवाणी’ गलत भैदेओस् भन्ने लाग्थ्यो मलाई । तर उनका कुरा एकपछि अर्को गर्दै यथार्थमै परिणत हुन थाले, म उनलाई सम्झेर ‘हो रहेछ’ भनिरहेँ । देशले हरेक चोटी नयाँ दुरावस्थामा प्रवेश गर्दा उनलाई झलझली सम्झिरहेँ ।

साँच्चै नै छयालीस सालपछि कैयौं ठूल्ठूला आन्दोलन भइसके । अझै पनि हुँदैछन् । तर आम नागरिकका जीवनमा खोइ त परिवर्तन ? राजतन्त्र त गयो । ‘लोकतान्त्रिक समाजवादमुखी गणतन्त्र’ मा छौँ भन्दैछौँ । तर सामाजिक न्याय, देशको स्वाधीनता कहाँ छ ? नागरिकले साँच्चैको स्वतन्त्रता र आत्मसम्मानको वोध गर्ने दिन कहिले आउँछ ? नेताहरू विदेशीका पाउमा लम्पसार पर्ने दिन कहिले जान्छ ?

नेपाल फर्किसकेपछि केही नेतालाई पनि सुनाएँ प्रा. हिरोशि इशिले भनेका कुरा । एकचोटी देशका पहिला राष्ट्रपतिसँग भेटघाट र कुराकानीको हुँदा पनि सुनाएँ यही कुरा । सुनाउनुको उद्देश्यमा लुकेको थियो एउटा असल नेताको तृष्णा । तीन दशकभन्दा बढी समय बितिसकेको छ । कहाँ होलान् ती विद्वान ! म भने अझै असल नेता पाउने सपना बोकेरै बाँचिरहेकी छु । नयाँ पुस्ताबाट देखापर्लान् त कोही ?

प्रतिक्रिया दिनुहोस्