Logo
Logo

लुम्बिनी प्रदेशसभा बैठक चल्न दिने सहमती


1.2k
Shares

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ ।

बजेट उपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मङ्गलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको थियो ।

दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन् । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी थिए ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मङ्गलबार स्थगित प्रदेशसभा आजका लागि बोलाइएको छ । प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले मङ्गलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औँ बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको सूचना जारी गरेका छन् । उनले सभामुखको निर्देशनअनुसार प्रदेशसभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्