Logo
Logo

धरानको उपनिर्वाचन परिणाम, खरायो र कछुवाको कथा


- आनन्द श्रेष्ठ


  • आनन्द श्रेष्ठ

खरायो र कछुवाको दौडबारे बनेको लोककथा सबैलाई थाहा हुनुपर्छ । आफू छिटो दौडन सक्छु भन्ने धमण्ड भएको खरायोलाई सबैभन्दा ढिलो पाइला चाल्ने कछुवाले कसरी दौडमा हराएको थियो । हो यस्तै खरायोको गति भएको छ हालै सम्पन्न उपनिर्वाचनमा धरानमा हार व्यहोर्नुपरेको नेकपालाई ।

विगत २८ वर्षदेखि विजयी हुँदै आएको कम्युनिष्टहरुको लालकिल्ला धरान । माओवादी एकीकरणपछिको शक्तिशाली पार्टी, वडादेखि संघसम्म जितेर बनेको दुईतिहाइ बहुमतको सरकार । तर, पनि धरानमा किन हा¥यो नेकपा ? यतिबेला धरान सबैको चासोको केन्द्र बनेको छ । अनपेक्षित चुनावी परिणामले उत्साहित नेपाली कांग्रेस धरान नगर समिति विजयी उम्मेदवारलाई लिएर घर दैलो कार्यक्रममा मस्त छ भने सपनामा पनि नचिताएको हार व्योहोरेर दिक्दार बनेका नेकपाका स्थानीय नेता कार्यकर्ताहरु यतिबेला आन्तरिक चुनावी समीक्षामा जुटेका छन् । प्रारम्भिक चरणको समीक्षा गोष्ठीले धरानमा नेकपा हार्नुको कारण यसरी समीक्षा गरेको छ ।

यस्तो थियो लालकिल्लाको विरासत

नेपालको सांघाइ शहरको रुपमा परिचित धरानको स्थानीय निर्वाचन २०४९ सालमा ध्यानबहादुर राई, २०५४ सालमा मनोजकुमार मेयाङवो, २०७४ सालमा तारा सुब्बाले मेयरको पदमा र उपमेयरसहित विजयी हासिल गरेका थिए । तिनै स्थानीय निर्वाचनमा बहुमत वडाध्यक्षसहित एमालेकै उम्मेवारहरु निर्वाचित भई धरानको कम्युनिष्ट विरासत कायम गरेका थिए । यसैगरी २०४८ सालको प्रतिनिधिसभा सदस्यको पदमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीले विजय हासिल गरेका थिए । २०५१ सालमा लीला सुब्बा, २०५६ सालमा कुन्ता शर्मा ,२०६४ सालको पहिलो सविधानसभा निर्वाचनमा किरणकुमार राई, २०७० सालको सविधानसभाको निर्वाचनमा कुष्णकुमार राई र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा जयकुमार राई भारी मतको अन्तरले विजयी भएका थिए ।

नेकपा हारको कारण

धरानमा कहिले हार्न नजानेका नेकपाले यो पटकको उपनिर्वाचनमा मेयर पदमा भने २ हजार ७९५ मतले हार स्वीकार्नुपरेको छ । नेपाली कांगे्रसका विजयी उम्मेदवार तिलक राईले २६ हजार ७०९ मत ल्याएका थिए भने नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९१४ मत ल्याएका थिए । धरानमा भएको अनपेक्षित हारको कारण खोज्न यतिबेला धरान नगर कमिटीले वडा कमिटीदेखि समीक्षाको कार्यक्रम चलाइरहेको छ । प्रारम्भिक चरणको समीक्षा गोष्ठीले धरानमा नेकपा हार्नुको कारण यसरी समीक्षा गरेको छ ।

१. पार्टी एकीकरणको ढिलाइका कारण झण्डै १५ महिना पार्टी कार्यकर्ता नेताहरु जिम्मेवारीविहीन हुन पुगे । यसरी ढिलो गरी एकीकरण भएर गठन भएको धरान नगर कमिटीमा पनि केपी शर्मा पक्षधरलाई पाखा लगाएर माधव नेपाल पक्षधरहरु मात्र हाबी हुनु पनि निर्वाचनमा भारी पर्न गयो ।

२. तत्कालीन एमालेका जनप्रतिनिधिहरुको गलत कार्यशैली र कर वृद्धिले धराने जनता असन्तुष्ट बनेका थिए । कर समायोजन गर्नुपर्ने कुरामा पार्टीका नेताहरु र जनप्रतिनिधिले कुनै चासो राखेनन् । सरकार कम्युनिष्टको भए धरानभित्र हरियो मकै बिक्री गर्न बाटोमा बस्नेदेखि ठेला कुदाउने, टेम्पो कुदाउनेहरुलाई व्यवसायी करको नाममा ३०० प्रतिशतसम्म कर बढाएर लगियो । तीनपांग्रे टेम्पोको कर हजारबाट बढाएर ३ हजारसम्म पु¥याइयो । घरजग्गा व्यापार व्यवसाय क्षेत्रमा पनि कर बढाइयो । जसको कारण बजार क्षेत्रका व्यापारीहरु त असन्तुष्ट छँदै थिए नेकपालाई भोट दिँदै आएका धरानका ४ हजार टेम्पोको चालक परिवारले पनि सर्लक्क रुखमा भोट हालेको बताउँछन् ।

३. धरानमा पानीको मुख्य समस्या छ । यो समस्या समाधान गर्न नेकपाकै पहलमा एडिबीको ऋण सहयोगमा मेलम्चीदेखि ठूलो परियोजना ल्याएर आंशिक पानी वितरणकार्य पनि भइरहेको छ । तर खानेपानी संस्थालाई समायोजन गरी यसै डिसेम्बर महिनाभित्रमा सबै क्षेत्रमा पानी वितरण गरी सक्नुपर्नेमा पार्टीका केही स्थानीय नेता र उपमेयरको ढिलासुस्तीले गर्दा सो कार्य पनि हुनसकेको छैन । चुनावको मुखसम्ममा पनि पानी खुवाउन नसक्दा र यसै विषयलाई विपक्षी दलहरुले मुद्दा बनाउँदा जनतामा नेकपाप्रति नराम्रो प्रभाव परेको थियो ।

४. नेकपाले हार्नुको अर्को कारण अन्तर्घात पनि हो । सधँै धरानमा नेपाली कांग्रेसभित्र अन्तर्घात हुन्थ्यो र नेकपालाई जित्न सहज हुन्थ्यो तर योपटक ठ्याक्कै उल्टो भयो । नेपाली कांग्रेसले सहमतिमा तिलक राईलाई उम्मेदवार बनाएर २ महिनाअघिदेखि घरदैलोमा हिँडाए, तर नेकपामा भने १५ दिनअघि मात्र बल्लबल्ल कमजोर उम्मेदवारलाई खडा गराएर जनतासामु हिँडाउने हँुदा चुनावको दिनसम्म सबै घरमा पुग्न पनि सकेको थिएन । यता जनप्रतिनिधिहरुले बिगारेको भोटहरुलाई तान्नका लागि किरणकुमार राई, मनोज मेयाङवोजस्ता हेब्बीवेट व्यक्रित्वलाई टिकट दिनुपर्नेमा कार्यकर्ता र जनभावनाविपरीत पार्टीभित्र राम्रो परिचय नभएका व्यक्तिलाई उम्मेदवार बनाउँदा पनि हारको कारण बन्नुपरेको बताइन्छ । आफूले भनेजस्तो उम्मेदवार नभएको र माधब नेपाल समूह हाबी भएको कारण नेकपालाई समर्थन गर्दै आएका २० प्रतिशत मतदाताले भोटै दिन गएनन् भने भोट दिन गएकामध्ये पनि २० प्रतिशत पार्टी कार्यकर्ताले कांगे्रसमा मत हालेको थियो ।

५. त्यसो त धरानका जनप्रतिनिधिहरुले विकासका कामहरु नगरेका पनि होइनन् । नेपालमा धरान मात्र यस्तो शहर हो, जहाँ कम्युनिष्ट जनप्रतिनिधिहरुले जनतासँगको सहभागितामा शहरको सबै सडक, पुल, कभर्डहलहरु निर्माण गरेर विकासको नयाँ उदाहरण प्रस्तुत गरेका छन् । धरानलाई नेपालकै सफा र सुुुुुुुुुुन्दर शहरको रुपमा परिचित गराएका छन । तर सडक विभागले बनाइदिनुपर्ने शहरको मुख्य सडकहरु समयमै टालटुल नगरीदिँदा अहिलेसम्म सडक खाल्डाखुल्डी र कुरुप देखिन्छन् । खानेपानी योजना बसपार्कलाई नेपाली कांगे्रस र अन्य दलले भाँजो नहालिदिएको भए सबै योजना पूरा भइसकेका हुन्थ्यो । तर नेकपाका पार्टी कमिटी कमजोर र आलाकाचा मान्छेहरुको हातमा पुगेकोले यसैलाई विपक्षले उल्टो मुद्दा बनाउन सफल भएका थिए ।

६. यस पटकको निर्वाचनमा नेपाली कांगे्रसको आक्रामक कार्यशैली र सुझवुझपूर्ण क्रियाकलाप पनि नेकपाको हारको कारण बन्यो । नेपाली कांगे्रसले चुनावमा एक्सन फोर नामक विधि अपनाएको देखिन्थ्यो । एक्शन फोर भनेको एउटै मतदाताको घरमा महिला युवा, प्रौढ र बुद्धिजीवीहरुको चार समूह बनाएर चारपटक भोट माग्न जाने । यसैगरी नेकपालाई जसरी भए पनि हराउने रणनीतिअनुसार शेरबहादुर देउवा पहिलो चुनावीसभामा आउनु हँुदै धरानका समाजवादी पार्टी लिम्वूवानलगायतका साना दलहरुसँग चुनावमा सघाउन सहमति गराएर गएका थिए । जसको परिणामस्वरुप निर्वाचनमा समाजवादी लिम्वूवान, राप्रपा र स्वतन्त्रलगायत सबै साना दललाई नेपाली कांगे्रसले चुनावी खर्च व्यहोरेर भोट यता माग्न लगाएको पनि चर्चामा आएको थियो । नेकपाका स्थानीय नेताहरुको आफू १० हजार भोटले जित्छु भन्ने दम्भले गर्दा सरकारमा सहभागी समाजवादी पार्टीलाई समेत सहमतिमा ल्याउन नसक्दा २७ सय मतले हार व्यहोर्नुपरेको थियो । जबकि समाजवादी दलका उम्मेदवारलेसमेत झण्डै २ हजार मत ल्याएको थियो । नेपाली कांगे्रसका शेखर कोइराला, विजय गच्छदार, गगन थापा, महेश आचार्यजस्ता हेभीवेट नेताहरु हरेक दिन उम्मेदवारको घरदैलोमा पुगेर नेकपाका विरुद्धमा धुँवाधार भाषण गर्थे तर नेकपाका केन्द्रीय नेताहरु एकै दिन पनि चुनावी कोणसभामा पुगेनन् । घरदैलोमा उम्मेदवारसँग पुगेका धरान नगरभित्रका फुच्चे नेताहरुले कांगे्रसलाई गरेको पाँडेगालीपूर्ण भाषण पनि कतिपय ठाउँमा प्रतिउत्पादक बन्न पुगेको थियो ।

अन्तमा धरानको निर्वाचन परिणामलाई नेकपाले गम्भीरतापूर्वक लिएर नसच्याए आगामी निर्वाचनमा धरान, इटहरी, इनरुवा, काठमाडौँलगायत धेरै शहर गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिन्न । किनभने हालसम्म नेकपाले जितेका धेरै गाउँशहरका जनप्रतिनिधिहरुले पार्टी लाइनविपरीत, सामान्य शिष्टाचार पनि ननिभाएका कारण धेरै मतदाता तथा कार्यकर्ताहरु रुष्ट भएका छन् । एउटा रोचक उदाहरणका लागि धरानका उपमेयरलाई नमस्ते गर्दा उनले नमस्ते नफर्काउने गरेको कारण रुष्ट हुनेहरुको संख्या पनि उल्लेखनीय छ भने देशभरि यस्ता जनप्रतिनिधिहरु कति होलान् नेकपाले समयमै खुट्याउने बेला भएको छ ।

प्रतिक्रिया दिनुहोस्