Logo
Logo

मलाई लेखक बनाउने ती मित्रहरू



म रहरले भन्दा करले बनेको लेखक हुँ, परिस्थितिले बनाएको लेखक हुँ । किशोरा वस्थामा जे लेख्थेँ, रहरले लेख्थेँ । त्यसबेलाका ‘प्रगतिशील’ साहित्यिक कार्यक्रममा आफूले लेखेका कुरा सुनाउने पनि गर्थेँ । कुनै पत्रिकामा छापिनु पर्यो भने कुनै अर्कै नामले छापिन्थ्यो ।

किशोरावस्थाको रहरमै लेखेका ‘क्रान्तिकारी’ कविताहरूको संग्रहको एउटा पाण्डुलिपि इनारमा खसेपछि लामै समय कविता लेख्न चाहिनँ (वा सकिनँ) । र पनि, यदाकदा डायरीमा लेख्थेँ- त्यो ‘रहर’ले लेख्ने बेला थियो ।

चीन पुगेपछि भने आवश्यकताकै कारण लेख्नुपर्यो मैले– पैसाको आवश्यकताले । त्यतिबेलाको आर्थिक कठिनाईलाई पार गर्न लेखनलाई उपयोग गर्ने बाटो देखाइदिने मित्रहरु थिए- सुसुमु र निशिकावा । उनीहरूले मलाई लेख्न मात्र लगाएनन्, मैले लेखेका कुरालाई अनुवाद गरेर जापान पुर्याइदिने, पाठक खोजिदिने, सबै जिम्मा लिइदिने काम पनि उनीहरूले नै गरे ।

जापानका केही लेखक र अन्य महत्वपूर्ण व्यक्तिहरूलाई चिनाइदिने काम पनि उनीहरूबाट नै भयो । कति निःस्वार्थ सहयोग थियो ती साथीहरूको !

आफ्नो देशमा पनि असल सहयोद्धा सहकर्मीहरू थिए मेरा । लेख्नका निम्ति प्रेरणा दिने अग्रज, साथी, आफन्तहरू थिए । ती कसैलाई पनि बिर्सेकी छैन । मेरो लेखनप्रति आलोचनात्मक मात्र हैन, शुद्ध नकारात्मक टिप्पणी गर्नेहरूबाट पनि फाइदा नै पुगेको थियो ।

म विदेश जानुअघि एउटा कलेजमा भएको प्रगतिशील साहित्यिक गोष्ठीमा काठमाडौं बाहिर बस्दा लेखेको एउटा लामो अनुसन्धात्मक लेख थियो । त्यो लेख गोष्ठीमा सुनाउन उपयुक्त लागेर आयोजक साथीहरूलाई गोष्ठी सुरु हुनुभन्दा अगाडि नै दिएकी थिएँ ।

मेरो पाठ गर्ने पालो आउँदा त त्यहाँ लेख नै भेटिएन । मलाई अप्ठ्यारो भयो । सबैको अगाडि उभिइसकेकी थिएँ । त्यहाँ नभेटेपछि मेरो झोलाबाट अर्को एउटा लेख– ‘छोरी पाउँदाको अनुभव’ निकालेर सुनाएँ । धन्न जिल्ल परेर मञ्चबाट ओर्लिनु परेन !

त्यहाँ सुनाउन नपाएको लेख अर्को एउटा साहित्यिक गोष्ठीमा सुनाएँ । यसपटक भने कसैलाई नदिईकन आफ्नै झोलामा राखेर पढ्ने बेला मात्र निकालेँ । पछि आदरणीय साहित्यकार, समीक्षक आनन्देव भट्टले समीक्षा गर्ने बेला मलाई स्नेहपूर्वक गाली गरे जस्तैगरी भन्नुभयो- ‘…यस्तो लेख छापिनु पर्दैन बेलामा ? ‘पुस्तिका’ भएपनि छाप्नु, होइन भने मलाई दिनु म आफै छापिदिन्छु !’

यो कुरा पनि कहिल्यै बिर्सन सकिनँ मैले । त्यहीँ नै मित्र रघुजी पन्तले माग्नुभयो त्यो लेख । म बाहिर गइसकेपछि पत्रिकामा छापिएछ ।

हो, देशका अग्रज, सहकर्मी मित्र र आफन्तहरूको मेरो लेखन यात्रामा ज्यादै महत्वपूर्ण भूमिका छ । तर, अहिले मैले सम्झिरहेको चाहिँ सानो बच्चालाई झैँ मेरो हातै समातेर, प्रेमपूर्वक सम्झाएर, असल अभिभावकले झैँ सबै कुराको व्यवस्था गरिदिएर जापान घुमाइदिने, अनि करैले लेख्न लगाएर मेरो लेखलाई विभिन्न देशमा पुर्याइदिने मित्रहरूलाई हो ।

निशिकावा एकताका कलेजको होस्टेलमा मेरो रूममेट पनि थिइन् । सादा जीवन उच्च विचारकी ती साथीसँग जब चिनजान भयो, उनी सदाको निम्ति मेरो दुःखसुखकी असल मित्र बनिन् । सुरुमा उनैले जुक्ति देखाइदिएकी हुन्– ‘तिमी लेख्न सक्ने मान्छे लेख्न नछोड, आफ्नै देशको बारेमा लेख … लेखेर पनि त केही पैसा आर्जन गर्न सकिन्छ नि !’ भनेर ।

उनी नेपाललाई साह्रै माया गर्ने मान्छे । नेपाल आएको बेला पोखरा घुमेपछि ज्यादै प्रभावित भइछिन् । जापान फर्केपछि टोकियोमा बस्न छोडेर नजिकैको सायोतामा प्रोभिन्समा एउटा गाउँको घरलाई पाहुनाघर बनाएर बसेकी थिइन् ।

एक दिन ठट्टामा उनले भनिन्, ‘जापानको पोखरा हो यो !’ त्यो ठाउँलाई उनी ‘पोखरा’ देन्थिन् । म जापान पुग्दा, धेरै त उनकै त्यो ‘पोखरा’मा बस्ने मौका पाएँ । गज्जबको शान्ति मिलेको थियो त्यहाँ बस्दा । जंगल र प्रकृतिसँग निकट हुन पाएँ । जापानको अत्याधुनिक ठाउँहरूदेखि गाउँ जंगल समेतको दर्शन पाएँ । मलाई जापानी भाषा बोल्न नआउने भएकोले बच्चालाई झैँ डो¥याएर यता–उता घुमाउन लग्थिन् ।

अर्को मित्र सुसुमु आओकी टोकियोमा उच्च शिक्षाको निम्ति पढ्न बसेका थिए कोठा भाडामा लिएर । उनी पनि ज्यादै सरल थिए, र विद्वान पनि । नेपालको इतिहास मलाई भन्दा बढि उनैलाई थाहा थियो ।

मेरो लेखमा कुनै नाम, मिति, आदि गल्ती भएको देखे भने उनैले देखाइदिन्थे र सच्याएर अनुवाद गरिदिन्थे । टोकियोमा बसुञ्जेल यति धेरै वास्ता पुर्याए मेरो कि मैले- ‘मेरो त ‘बा’ नै भयौ तिमी’ भनेर पनि उनलाई भन्ने गर्थेँ । उनी हाँस्थे मात्रै ।

जापानमा एक्लै हिँड्दा ट्रेनको वा अरु कुनै टिकट किन्न क्वाइन चाहिन्छ भनेर क्वाइन मात्रै जम्मा गरेर एउटा पर्समा राखेर दिएका थिए– म जापान पुग्ने बित्तिकै । जापानको बारेमा धेरै कुरा सिकाउने र भविष्यमा कस्तो हुन्छ भनेरसमेत सुनाइरहन्थे उनी मलाई ।

विज्ञान र नयाँ उपकरणहरूको बारेमा पनि धेरै कुरा सुनाउँथे । बेकारका कुरामा बिलकुलै समय बर्बाद नगर्ने मान्छे उनी वातावरणविद् पनि भएकोले वातावरण बिगार्ने कुरा कसैले गर्दा उनलाई चित्त बुझ्दैन थियो ।

एक्लैले भए पनि वातारण संरक्षणको जिम्मा लिन खोज्थे । पृथ्वीले फोहोरको अनावश्यक भारी बोक्नु नपरोस् भनेर उपयोग गर्न मिलुन्जेलसम्म थोत्रा लुगा, पुराना पर्स, घरका सामान आदि उपयोग गरिरहन्थे । यो पनि सिक्न लायककै कुरा थियो । संगत गरेपछि थाहापाएँ उनको मन कति पवित्र थियो ।

अर्को एउटा रमाइलो सन्दर्भ सम्झिन्छु म । मेरो टोकियो बस्ने दिन सकिइसकेको थियो । साथीहरूसँग घुम्न भ्याइसकेकी पनि थिएँ । टोकियो छोड्ने अघिल्लो दिन मात्र सोधे- ‘सुलो, तिमीलाई अझै कतै घुम्ने मन छ भने भन है ! पछि त म टोकियोमा नहुन पनि सक्छु…’
‘हस् पापा !’ भनेँ । त्यसो भन्दा मेरा आँखा भिजेको थियो । त्यसो भन्ने मेरा आफन्त कति पो थिए र !

भोलिपल्ट बिहानै भान्छामा भाँडा बजेको आवाजले म बिउँझेँ । बाटोमा खान भनेर मेरो निम्ति उनी भात तरकारी पकाउँदै रहेछन् ! पछि मलाई भातको डिब्बा देखाएर भने– ‘समय भए पछि खान नबिर्सनु । खाली बट्टा चाहिँ कन्टेनरमा फ्याँकिदिनु है !’

जसलाई पनि थाहा हुने कुरा पनि उनले साँच्चै अभिभावकले झैँ भनेका थिए । फेरि पनि हाँस्दै ‘हस् पापा’ भनेँ । हामी स्थानीय रेल चढेर बुलेट ट्रेनको स्टेशनसम्म पुग्यौँ । छुट्टिने बेला भयो भनेर एउटा तस्बिर खिच्यौँ ।

उनी एकाएक दौडिँदै नजिकैको पसलतिर गए र दुइटा केक बोकेर आए । ‘यो किन नि ?’ भनेर सोधेँ । बुझ्दा त सबेरै उठेर त्यति दुःख गरेर पकाएको भातको डिब्बा कोठामै छुटेको रहेछ !

एकछिन हाँस्न पनि भ्याएको थिइनँ, बुलेट ट्रेन आइपुगिहाल्यो …

प्रतिक्रिया दिनुहोस्