Logo
Logo
कोशीमा मुख्यमन्त्री नियुक्त

सभामुखले भने- विगतको अभ्यास हेरेर हस्ताक्षर गरेँ


7.4k
Shares

बिराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका छन् । गठबन्धनका तर्फबाट उनले बिहीबार कोशी प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गरेका थिए । सोहीअनुरुप प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले बिहीबार अपराह्न ५ बजेसम्म समय दिएका थिए । सो समय घर्किन लाग्दा पनि राप्रपासहितको गठबन्धन जुटाउने प्रयास असफल भएपछि कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीलगायतले सभामुखको हस्ताक्षरसहित बहुमत देखाएर दावी पेश गरेका हुन् ।

नेकपा एमाले र राप्रपाले भने सरकार गठनमा सभामुखको भूमिका मान्य नहुने बताएका थिए । तर, थापाले कांग्रेस २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी १ जनासँगै सभामुख गौतमको समर्थन लिएर मुख्यमन्त्रीमा दावी गरेका थिए ।

सभामुख गौतमले विगतको अभ्यास हेरेर आफूले हस्ताक्षर गरेको बताएका छन् । उनले पहिलाको परम्परा हेर्दा नामहरु समावेश हुने गरेको बताउँदै भने, ‘सरकार बनाउने बेलामा माथि राष्ट्रपति कहाँ नाम जाने गरेको पाइयो । तल प्रदेश प्रमुखमा पनि सभामुखहरुको नाम जाने गरेको पाइयो । दलले निर्वाचन आयोगको लिस्टबाट पठाउने गरेको रहेछ । त्यसैले अवरोध भएन ।’

उनले विश्वासको मतको प्रयोजनका लागि संविधानले नै बराबरी भए प्रयोग गर्ने भनेको बताउँदै भने, ‘बराबरी भएन भने प्रयोग नगर्ने परिस्थिति छ । परिस्थिति अनुसार नै गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्