विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल गरेर अघि बढ्ने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि उनले यस्तो बताएका हुन् ।

मख्यमन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने, ‘पहिचानको आन्दोलनलाई नजरअन्दाज गर्नुहुँदैन । वार्ता कमिटी गठन गरेर पहिचानको मुद्दालाई सम्बोधन गर्न प्रयास गर्छाैं ।’ तर, प्रदेशको नाम परिवर्तन गर्न भने सहज नभएको उनको भनाइ छ ।
मुख्यमन्त्री थापाले राजनीतिक सहमति र संविधानको तहबाट सामधान खोज्ने बताउँदै भने, ‘प्रदेशसभामा दुई तिहाइ पुग्यो भने नाम संशोधन हुनसक्छ ।’ १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् ।
मुख्यमन्त्री थापाले संविधानको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनेसमेत बताए । कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँगै सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
मुख्यमन्त्री थापाले सरकारका लागि सहज बहुमत जुटाउन राप्रपासँग छलफल भइरहेको समेत बताए । उनले भने, ‘३० दिनभित्र विश्वासको मत लिन्छौं, त्यसका आधारहरु बन्दैछ । सभामुखले राजीनामा दिनुपर्दैन ।’











