काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुकुलो मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् । कसिलो मौद्रिक नीतिका कारण चालू आर्थिक वर्ष अनुमानित भन्दा ६ प्रतिशत कम अर्थतन्त्र विस्तार भएको भन्दै उनले खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताएका हुन् ।

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरुको कर्जा असुली सुस्ताएको र कर्जा लगानी बिग्रिने अवस्थामा पुगेको उल्लेख गरे । जसलाई सम्बोधन गर्न बैंक वित्तीय संस्था र ऋणी दुवै जवाफदेही हुने नीति अवलम्बन गर्न पनि उनले आग्रह गरे ।
अध्यक्ष ढकालले मुद्दती र बचतको फरक ब्याजदरको सीमालाई परिमार्जन गर्न सुझाव दिए । उनका अनुसार विद्यमान अवस्थाअनुसार बचत र मुद्दती निक्षेपमा ५ प्रतिशतको फरक हुनुपर्छ । यसले गर्दा मुद्दती बचतमा सर्वसाधारण आकर्षित भएको र बैंकहरुको लागत बढाएको छ ।
लागत वृद्धिलाई कारण बैंकहरुको सस्तो कर्जा उपलब्ध गराउन नसकेको बताउँदै उनले ब्याजदर माथिल्लो तहमा भएकाले तरलता हुँदाहुँदै पनि कर्जाको माग आउन नसकेको बताए ।











