विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन् । कोशी प्रदेशको मन्त्रिमरिषद विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा एमाले प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्वीकार गर्ने प्रस्ट पारेका हुन् ।

मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागू गर्नुपर्ने बजेटको अवस्थालाई हेरर मन्त्रिमण्डल विस्तार गर्न हतारिएको बताए । प्रदेशको बजेटसम्बन्धी सम्पूर्ण कार्य अर्थसँग जोडिएकाले आर्थिक मामिलामन्त्री नियुक्ति गरेको बताउँदै उनले अर्थसँग जोडिएका कार्यलाई निकास दिनु सरकारको महत्वपूर्ण कार्य भएको धारणा राखे ।
मुख्यमन्त्री थापाले प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रिपरिषद विस्तारमा सहमति रहेको र यसमा कुनै विवाद नभएको भन्दै नेपाली कांग्रेस दुई, नेकपा मोओवादी केन्द्र दुई, नेकपा एकीकृत समाजवादवादी एक, समाजवादी पार्टी नेपालले एकजना मन्त्री पठाउने निर्णय भएको जानकारी दिए । उनले वर्तमान सरकारले ३० दिनभित्र विश्वासको मत लिनुका साथै सोही अवधिमा मन्त्रिमण्डललाई पूर्णता दिने बताए ।











