Logo
Logo

सरकारी–सार्वजनिक जग्गाको पहिचान गर्नुस् त्यसमा सरकारले झण्डा गाड्छ : मन्त्री अर्याल


- दृष्टि न्युज/संवाददाता


चितवन, ६ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमान्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गर्नुभएको छ । चितवनस्थित रत्ननगर नगरपालिकाले शनिबार रत्नगनगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको व्यापक गुनासो आइरहेका बेला जग्गा संरक्षणको अभियान थालेको छ । सोही सन्दर्भमा रत्न्नगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सन्दर्भमा मन्त्रीको उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले सरकारले देशैभरका सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभियान थालेको बताउनुभयो । देशैभर विभिन्न व्यक्ति तथा संस्थाले अनाधिकृत रुपमा दोहन गरेको जग्गा खोजेर सरकारले त्यसको संरक्षण गर्नु उहाँको भनाइ थियो । कार्यक्रममा उपस्थिति स्थानीय पालिकाका प्रमुख तथा अगुवाहरूलाइ निर्देशित गर्दै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने प्रमुख दायित्व भनेको स्थानीय पालिकाकै भएको बताउदै उक्त अभियानमा लाग्नो आग्रह गर्नुभयो ।

स्थानीय पालिकाले पहिचान गरेको सार्वजनिक तथा सरकारी जग्गामा सरकारले आफ्नो झण्डा गाड्ने प्रतिबद्धतासमेत जनाउनुभयो । ‘तपाईंहरूले यहाँका सरकारी र सार्वजनिक जग्गाको पहिचान गर्नुस् । किल्ला ठोक्न म आफैँ यहाँ आउछु’, मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्री अर्यालले देशभरका जग्गाको विवरण लिएर सरकारको नाममा जग्गा फर्काउने अभियान थालिएको बताउदै यस कार्यमा कसैको डर धम्कीबाट नडराउनसमेत उहाँले आग्रह गर्नुभयो । सरकारले अब चाँडै भूमिसम्बन्धी शक्तिशाली आयोग बनाएर सरकारी तथा खाली रहेका जग्गाको व्यवस्थापन गर्दै लैजान लागेको मन्त्री अर्यालको भनाइ थियो । आगामी माघ महिनासम्ममा शक्तिशाली भूमि आयोग बनाउनेगरी काम अगाडि बढेको बताउनुभयो ।

सरकारले सरकारी–सार्वजनिक जग्गाको बारेमा अध्ययन गर्न शक्तिशाली आयोग गठन गरेको थियो । आयोगले हालै बुझाएको प्रतिवेदनमा झण्डै ४३ सय बिघा जमिन अतिक्रमण भएको उल्लेख गरिएको छ । त्यस अवसरमा मन्त्री अर्यालले रत्न नगरपालिकाअन्तर्गत रहेका सार्वजनिक तथा सरकारी जग्गाको अनुगमन निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्