Logo
Logo

जुवाडेलाई सफाइको सेटिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ पुस । कात्तिक ९ गते तिहारको अवसरमा महाराजगंजस्थित साम्बला होटलको पछाडि विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका बलराम सापकोटा ‘बले’ सहितका २५ भीआइपी जुवाडेहरु जिल्ला प्रशासन कार्यालयबाट कात्तिक २५ मा छुटेलगत्तै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पक्राउ गरेको थियो । जुवा ऐनमा मुद्दा चलाएर जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका उनीहरुलाई सम्पत्ति शुद्धिकरणले छानबिनका लागि पक्राउ गरेको थियो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, रञ्जन राजवंशीलगायतलाई गएको मंसिर ३ मा धरौटी लिएर छाडेको थियो । बले त्यसको एक सातापछि ४५ लाख धरौटीमा छुटेका थिए ।

विभागले जुवाडेहरुलाई धरौटी लिएर छाडेपछि हाइप्रोफाइल जुवाडेहरु सफाइ पाउनका लागि सेटिङ गरिसकेका छन् । विभागका उपसचिव विनोद लामिछानेमार्फत् पवित्रकुमार कार्कीले डिल गरिरहेका छन् । उपसचिव लामिछानेले विभागमा उजुरी परेका १७ जनासँगै डिल गरिरहेका छन् । कार्की र लामिछानेबीच ३ चरणमा छलफल भइसकेपछि प्रतिब्यक्ति ५० लाख रुपैयाँ डिल भएको विभागको छानबिनमा रहेकामध्ये एक जुवाडेले रहस्य खोलेका छन् । उपसचिव लामिछाने विभाग स्थापना भएदेखि नै कार्यरत छन् । उनी विभागमा परेका उजुरीमा मोलतोल गरी अकूत सम्पत्ति आर्जन गर्ने उपसचिवका रुपमा चिनिन्छन् । लामिछाने र नायबसुब्बा प्रकाश सापकोटाले नै विभागका उजुरीमा मोलमोलाइ गर्दैआएका छन् । विगतका महानिर्देशकहरुलाई रोबोट जस्तै बनाएका लामिछानेले रुपनारायण भट्टराईलाई पनि नचाउन सफल भएका छन् । विभागमा परेका डन, गुण्डाहरुको उजुरीमा पनि तिनै लामिछानेले नै घुस असुल्दै क्लीनचिट दिएको कुरा दृष्टिले यसअघि नै उजागर गरिसकेको छ । सम्पत्ति छानबिन गर्नुपर्ने लामिछाने नै हर्ताकर्ता भएको र उनकै हैकम चल्ने भएकाले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग औचित्यहीन भएको तर्क पनि हुँदैआएको छ ।

विभागले पवित्रकुमार कार्की, पवनकुमार गुप्ता, इन्द्रबहादुर श्रेष्ठ, श्रवणकुमार गोयल, गेल्जे लामा, सोहेल कार्की, बुद्ध लामा र रामकृष्ण केसीलाई जनही २० लाख धरौटीमा छाडेको थियो ।

त्यस्तै अशोक श्रेष्ठ र कृष्णहरी भण्डारीसँग विभागले जनही १९ लाख ४० हजार रुपैयाँ धरौटी लिएको थियो भने धावा लामासँग १६ लाख ५० हजार, श्यामप्रसाद पराजुली र साङ्बु शेर्पासँग ९ लाख ४० हजार धरौटी माग गरेको थियो । रञ्जन राजवंशीसँग ८ लाख ९५ हजार, होमप्रसाद चौलागाईंसँग ६ लाख र प्रेम थापा मगरसँग २ लाख ५० हजार रुपैयाँ धरौटी मागिएको विभागले जनाएको छ । तर बलेसँग भने ४५ लाख धरौटी लिएर छाडेको थियो । यसरी धरौटीमा छाडिएका पवित्रकुमार कार्कीसहित १७ जनाले नै उपसचिव लामिछानेसँग जनही घुसको डिल गरिसकेकाले केही दिनमै सफाइ पाउने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्