
काठमाडौं । नेपाली कांग्रेसको रुपान्तरण अभियान चलाइरहेका नेताहरुले प्रतिवेदन बुझाएका छन् । सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्नका लागि समय नदिएपछि उनीहरुले केन्द्रीय कार्यालयमा मुख्यसचिवलाई प्रतिवेदन बुझाएका हुन् ।
रुपान्तरण अभियान चलाएका नेताहरु मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले केन्द्रीय समिति बैठक सुरु हुनुअघि २१ बुँदे सुझाव प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा १४औँ महाधिवेशन सकिएको ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन यथाशीघ्र गर्न सुझाइएको छ ।
त्यस्तै, रुपान्तरणका लागि हरेक तहका सभापति दुई कार्यकालका लागि सोही पदमा रहन पाउने व्यवस्था जस्तै एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री गर्न नपाउने व्यवस्था गर्न भनिएको छ ।














