काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षपछि आज (मंगलबार) बसेको छ ।
कांग्रेसको विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हो । तर, आन्तरिक विवादका कारण एक वर्षपछि मात्रै बैठक बसेको हो । यसअघि २०७९ साउन दुई गते बैठक बसेको थियो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक कांग्रेसले आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण (लाइभ) गरेको छ । ‘पुराना ढर्रा’को आरोप लाग्ने कांग्रेसले पहिलोपटक केन्द्रीय समिति बैठक लाइभ गरेको हो ।

कांग्रेसले साढे दुई वर्षअघि १४औँ महाधिवेशन गरेको थियो । वि.स. २०७८ साल मंसिर २४ गतेदेखि २७ गतेसम्म भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा कांग्रेसले महाधिवेशन गरेको थियो ।
त्यसबेला कांग्रेसले पुरानै प्रणाली कागजी मतपत्र प्रयोग गरेको थियो । कांग्रेसले कागजी मतपत्र र मतपेटिकाको रुपमा ठूलाठूला पानी ट्याङ्की प्रयोग गरेपछि कांग्रेसले पुरानै ढर्रा देखाएको भन्दै खिसिट्युरी समेत भएको थियो ।
त्यसअघि महाधिवेशन गरेको नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरिसकेका थिए । सोही कारण ‘पुरानै पार्टी, पुरानै ढर्रा’ भन्दै कांग्रेसको आलोचना भएको थियो ।
तर, अहिले कांग्रेसले केन्द्रीय समितको बैठक प्रत्यक्ष प्रसारण गरिदिएको छ । कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरेपछि विभिन्न कोणबाट चर्चा भइरहेको छ ।
कांग्रेस बैठकको १० एजेन्डा छन् । तर, एजेण्डाभन्दा पनि प्रत्यक्ष प्रसारण चासोको विषय बनेको छ । बैठक लाइभले एजेन्डा नै ओझेलमा परेको छ ।
बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवाले नै गरेका थिए । देउवाको उक्त प्रस्तावपछि संस्थापन इतरपक्षले आपत्ति जनाएको थियो । तर, देउवाले बैठकको प्रत्यक्ष प्रसारण गरेर छाडे ।
‘विधान नमानेका’ देउवाले प्रत्यक्ष प्रसारण गर्नुको एउटै कारण हो– आलोचनाबाट बच्नु । खासगरी महामन्त्री गगन थापा पक्षलाई गलाम लगाउने देउवाको रणनीति हो । भित्र एउटा कुरा बोल्ने बाहिर अर्को कुरा बोल्ने नेताहरूको प्रवृत्तिमा लगाम लगाउनै देउवाले यस्तो जुक्ति निकालेका हुन् ।
देउवाले सोमबार बसेको पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव गर्दा गगन समूहले विरोध गरेको थियो । गगनसँगै कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार र बद्री पाण्डे भने प्रत्यक्ष प्रसारण गर्न नहुने पक्षमा थिए ।
महामन्त्रीद्वय गगन–विश्वप्रकाशले देउवाको तीव्र आलोचना गर्दै आएका छन् । उनीहरूले सार्वजानिक रुपमा देउवाविरुद्ध दिएका अभिव्यक्ति समाचारको हेडलाइन बन्ने गरेको छ । तर, देउवामा समर्थनमा बोल्नेहरूको समाचार बन्दैन ।
मिडियामा आलोचनाले मात्रै प्राथमिकता पाउँदा आफ्नो समर्थन देखाउनकै लागि देउवाले बैठक लाइभको राणनीति अपनाएका हुन् । कांग्रेस केन्द्रीय समितिमा देउवा पक्षका ८० प्रतिशतभन्दा बढी सदस्य छन् । उनीहरूले देउवाकै बचाउ गर्छन् । त्यसैले आफ्नो समर्थक देखाउन र आफूलाई बलियो सावित गराउन उनले लाइभको साहारा लिएका हुन् ।
केही दिनअघि केन्द्रीय समिति बैठकबारे आफूनिकट नेताहरूसँग देउवाले सल्लाह गरेका थिए । बैठकमा ‘विधान नमान्ने’ देउवाको कडा आलोचना हुने र नेताहरू आक्रमक रुपमा प्रस्तुत हुनसक्ने उनीहरूको निष्कर्ष थियो ।
भाषणबाजीमा रमाउने महामन्त्रीद्वय थापा र शर्मा देउवाविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएका पनि छन् । थापाले संसदीय दलको नेताबाट देउवालाई हटाउनुपर्ने बारम्बार बताइसकेका छन् ।
त्यसैले पार्टीको माथिल्लो तहमा हुने छलफलमा आफूलाई बचाउन देउवाले चलाखी गरेको देखिन्छ । बैठक लाइभ गर्दा वक्ताहरूले औपचारिक भएर मात्र बोल्ने भएकाले विरोधको स्वरहरू मत्थर हुने बुझाइले उनले यस्तो रणनीति अपनाएका हुन् ।
देउवा अहिले भ्रातृ संस्था गठन नगरेको, विधानसम्मत पार्टी नचलाएको, विभाग गठन नगरेको, गठबन्धन गरेर पार्टी संगठन कमजोर बनाएको आरोप खेपिरहेका छन् । उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई पार्टीभित्र संरक्षण गरेको आरोप पनि लागिरहेको छ ।














