Logo
Logo

सुनको यकिन परिणाम आउन एक हप्ता लाग्ने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयले जाँचपास गरेर बाहिरिएपछि बरामद सुनको तौल यकिन भएको छैन । अनुमानति एक सय केजी रहेको बताइएपनि यकिन नभएपनि सुन जोख्न राष्ट्र बैंकको टक्सार विभाग लगिएको छ । तर, सुनको तौल यकिन हुन एक साता लाग्ने टक्सार महाशाखाले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको उक्त अवैध सुन जोख्न बिहीबार नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा लगिएको हो । महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार उक्त बरामद गरिएको अवैध सुनको थप अनुसन्धान अघि बढाइएको छ ।

उनका अनुसार ८ प्याकेट सुन महाशाखा पुगेको छ । ती सुन प्याकेटसहित जोख्दा कूल १५४ किलोग्राम भएको छ । तर, ती प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्यांक आउन एक हप्तासम्म लाग्ने उनले बताए ।

उनले भने, ‘अहिले ब्रेक प्याडसहित १५४ किलोग्राम भएको छ । यसलाई गालेर जोख्नुपर्छ ।’ सुन जोख्न अनुमति आएपछि ब्रेक प्याडबाट सुन छुट्ट्याएर गालिने र त्यसपछि मात्र जोख्दा यकिन परिणाम आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्