Logo
Logo
सुन तस्करी प्रकरण

मोबाइल छिराउन नदिने कर्मचारीले एक सय केजी सुन कसरी छिराए ?


7.9k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागबाट ठूूलो परिणामको अवैध सुन सजिलै छिराइएपछि चौतर्फी चर्चासँगै आलोचना भएको छ । वैदेशिक रोजगारीमा गएर फर्कँनेको मोबाइल फोन समेत छिराउन नदिने भन्सार कर्मचारीले करिब एक सय केजी सुन सजिलै छिराएपछि त्यसको आलोचना भएको हो ।

बुधबार राजस्व अनुसन्धान विभागको विषेश टोलीले झण्डै एक सय केजी सुन बरामद गर्यो । उक्त बरामद गरेको सुन अहिलेसम्मकै सबैभन्दा ठूलो परिणाम भएको बताइएको छ । तस्करले बा.२ज २३२४ नम्बरको ट्रयाक्सीमा राखेर विमानस्थलबाट बाहिरिँदै गर्दा विभागको टोलीले सुन बरामद गरेको हो ।

हङकङबाट कार्गोमा आएको उक्त सामान विमानस्थल भन्सार कार्यालयमा सोझै झारेर कर्मचारीकै मिलेमतोमा भन्सार जाँच पास भएको पाइएको हो । यसबारे अनुसन्धान भइरहेको छ । तर, यति ठूलो परिमाणमा ल्याइएको सुन भन्सार पास कसरी भयो भन्ने प्रश्न उठेको छ ।

बरामद गरिएको उक्त सुनको तौल एक सय किलो रहेको अनुमान गरिएको छ । हङकङबाट क्याथे प्यासिफिकको उडानमार्फत ल्याइएको उक्त सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ १६० सेट भनेर रेडी ट्रेडर्स प्रालिले मगाएको थियो । यो कम्पनीको कार्यालय बुढानिलकण्ठमा रहेको पाइएको छ ।

उक्त बरामद सुन ‘ब्रेक सु’सहित जोख्दा १५५ केजी रहेको राजश्व विभागले जनाएको छ । तर, ती प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्यांक आउन भने हप्ता दिनसम्म लाग्ने विभागले जनाएको छ ।

आठ जना पक्राउ
यस अवैध सुन प्रकरणमा हालसम्म ८ जना पक्राउ परेका छन् । सुन ओसार–पसारमा संलग्न रहेको आरोपमा एक भारतीय र एक चिनियाँ नागरिकसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

जसमा काठमाडौं पानीपोखरी बस्ने ५३ वर्षीय भारतीय नागरिक थाप्तेन छिरिङ, दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दिलीप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई रहेका छन् ।

त्यस्तै, उक्त सुन तस्करीमा संलग्न रहेको आरोपमा चिँनिया नागरिक जिक्वान लिन र चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये अन्य २ जनाको नाम खुलेको छैन । उक्त अवैध सुन राष्ट्र बैंकको टक्सार महाशाखा जोख्न पठाइएको छ ।

यस्तै, पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ । उच्च अदालत पाटनका उपरजिस्ट्रार तथा प्रवक्ता मन्दिरा शाहीका अनुसार बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको हो ।

यसबीच यो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी लिएको छ । बिहीबार उच्च अदालत पाटनबाट थप व्यक्ति पक्राउ गर्नका लागि जरुरी पक्राउ पुर्जी जारी भएको हो ।

भन्सारका अधिकृत र नायब सुब्बा निलम्बन
यस सुन तस्करीमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ । राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो । उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ । निलम्बित नायब सुब्बाको भने नाम खुल्न बाँकी छ ।

कसरी भयो भन्सार पास ?
त्रिभुवन विमानस्थलबाट रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले सामान बुझेका थिए । राजेन्द्रले साउन २ गते १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख अम्विकाप्रसाद खनालको भनाइ छ ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानविबन समिति गठन गरिएको छ ।
विदेशबाट ल्याइएका सामान लामो प्रक्रिया पूरा गरेरमात्रै त्रिभुवन विमानस्थलबाट छुट्ने गर्छ । विदेशबाट आएको सामानसम्बन्धित एयरलाइन्सले त्रिभुवन विमानस्थलको गोदाममा ल्याइदिन्छ । त्यसपछि मात्र सामान आयातकर्ताले भन्सार एजेन्ट वा भन्सार प्रतिनिधिलाई सामान भन्सार जाँचपास गर्न जिम्मा दिने गरिन्छ ।

आयातकर्ताले भनेअनुसार सामान भन्सार जाँचपास गराउने भन्सार एजेन्ट वा प्रतिनिधिले प्रज्ञापनपत्र भरेर भन्सारमा दिन्छन् । त्यसमै सामान कसको हो, के-के सामान छ, कति छ र कुन गाडीबाट गन्तव्यमा लाने हो भन्ने उल्लेख हुन्छ ।

भन्सारको जाँच गर्नेले प्रज्ञापनपत्रमा उल्लेख भएअनुसार सामान छ भनेपछि पुनः भन्सारका नासु, अफिसर र प्रमुख भन्सार अधिकृतले आयातकर्ताले उल्लेख गरेको सामान ठीक छ कि छैन भनेर हेर्ने गर्छन् ।

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका खनालका अनुसार त्रिभुवन विमानस्थल कार्यालयले एक्सरे गरेर अवैध सामान छैन भन्ने एकिन गरेरमात्रै सामान जाँचपास हुन्छ । एक्सरेमा नदेखाउने गरेर सुनमा कुनै केमिकल प्रयोग गरेको वा तरिका अपनाइएको छ कि छैन भन्ने अनुसन्धान हुने उनको भनाइ छ ।

कुन-कुन देशबाट भित्रिन्छ नेपालमा सुन ?
नेपालमा पछिल्लो ८ वर्षमा विभिन्न देशबाट दुई खर्ब ३५ अर्ब ४५ करोड २० लाख ४३ हजार रुपैयाँको सुन भित्रिएको पाइएको छ । उक्त रकमअनुसार ३९ हजार ९१५.९ केजी सुन भित्रिएको देखिन्छ । भन्सार विभागका अनुसार यो आँकडा वैधरूपमा नेपाल भित्रिएको सुनको मात्रा हो । नेपालमा सबैभन्दा ठूलो मात्रामा कच्चा र ढिक्का सुन युनाइटेड अरब इमिरेट् (यूएई), टर्की र स्वीट्जरल्याण्डबाट आउने गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० को ११ महिनामा मात्र नेपालले यूएईबाट करिब १९ अर्ब रुपैयाँ बराबरको सुन आयात भएको छ । नेपालमा हालसम्म अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, कम्बोडिया, क्यानडा, चीन, फिनल्याण्ड, फ्रान्स, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, मोरक्को, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर, थाइल्याण्ड लगायतका देशबाट समेत सुनका गहना आयात हुँदै आएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को ११ महिनामा मात्र नेपालले साढे ४४ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालले ४४ अर्ब ६६ करोड ८५ लाख ६१ हजार रुपैयाँमा तीन हजार ४९३.४४ केजी सुन आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँ खर्चेर नेपालले पाँच हजार ६२७.२९ केजी सुन आयात गरेको थियो ।

यस्तै, विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २७ अर्ब ७१ करोड दुई लाख २६ हजार रुपैयाँमा तीन हजार ९९६.३७ केजी र आर्थिक वर्ष २०७६/०७७ मा १३ अर्ब ६९ करोड ६८ लाख सात हजार रुपैयाँमा दुई हजार ४५३ केजी सुन आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ३४ अर्ब ६३ करोड ७७ लाख ४८ हजार रुपैयाँमा सात हजार ४९८.८ केजी र आर्थिक वर्ष २०७४/०७५ मा ३१ अर्ब ७४ करोड ८७ लाख ६९ हजार रुपैयाँमा हजार २३२ केजी सुन नेपालले आयात गरेको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा नेपालले २३ अर्ब २३ करोड १६ लाख २९ हजार रुपैयाँमा पाँच हजार ४५० केजी सुन आयात गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा १६ अर्ब सात करोड ९५ लाख १५ हजार रुपैयाँ बराबरको चार हजार १६५ केजी सुन नेपाल भित्रिएको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्