
काठमाडौं । नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आज नयाँ मौद्रिक नीति सार्वजनिक गरेको हो ।
सार्वजनिक मौद्रिक नीतिमा केन्द्रीय बैंक घर र सेयरमा जाने कर्जामा लचक बनेको छ । नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाएर २ करोड पुर्याएको छ ।
शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । तर कति राख्ने भन्ने खुलाएको छैन ।
त्यस्तै सार्वजनिक मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ ।
‘आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ छ दशमलव पाँच प्रतिशत कायम गरिएको छ’, मौद्रिक नीतिमा भनिएको छ, ‘बैंकदरलाई साढे सात प्रतिशतमा यथावत राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट घटाएर चार दशमलव पाँच प्रतिशत कायम गरिएको छ ।’
त्यस्तै, बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत राखिएको छ ।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन भन्दै ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलव्ध गराउने व्यवस्था गरिने जनाएको छ । बैंक तथा वित्तीय संस्थाको विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।














