Logo
Logo

प्रेमलाई कुनै भाषा चाहिँदैन



साथीहरुको साथका कारण जापानको भ्रमण मैले सोचेको भन्दा बढी नै लाभदायी हुँदै थियो । कोबेमा साह्रै नै राम्रो मन भएकी अर्की साथी थिइन्– आसाही । उनले केही दिन छुट्टी नै लिएर मलाई आफ्नो घरमा राखिन् । सधैँ व्यस्त हुनुपर्ने जापानीहरूलाई यसरी छुट्टी लिनु भनेको पनि ठूलै कुरा हुन्छ ।

उनको अपार्टमेन्ट रहेछ, कोबेको एउटा कुनामा । एउटा डाँडामाथि भएको उनको घर पुग्न बाटोमै १० मिनेट जति लिफ्ट चढ्नुपर्ने रहेछ । अचम्मै लाग्यो मलाई । डाँडामाथि निकै राम्रा घरहरू रहेछन् । उनी भने अपार्टमेन्टमा बस्थिन् । उनकी आमाबाट न्यानो स्वागत पाएँ ।

साँझ परिसकेको थियो । उनीहरूले खानाको टेबल सजाएर ‘अब खाना खाऔँ !’ भन्दा ‘खै त तिम्रो श्रीमान् ?’ भनेर सोधेँ । ‘ऊ त सधैँ ढिलो मात्र घर फर्किने हो । बिहान ६ बजे नै निक्लेर राति १० बजेपछि बल्ल घर पुग्छ । खानलाई उसलाई पर्खिने हो भने त धेरै ढिलो हुन्छ ।’

म टेबुलमा बसेँ । उनले फेरी भनिन्– ‘तिमी आफूलाई गरिब देशकी मान्छे भन्छ्यौँ । तर तिमीहरू कति भाग्यमानी ! हामीलाई हेर त ! परिवारसँग बसेर कुरा गर्नसम्म पनि भ्याउँदैनौँ !’ उनको कुरा गम्दै खाना खान थालेँ । आमाले प्रेमपूर्वक बनाएको खाना मीठो थियो ।

उनी अझै भन्दै थिइन्– हेर न ! तिमी त डाक्टरकी श्रीमती । मेरो श्रीमान् त एक जना किसानको छोरा, धेरै पढ्न पनि पाएनन् । अफिस टाढा छ– जान दुई घण्टा लाग्छ, फर्किन अर्को दुई घण्टा ।’ उनले यसो भनिरहँदा लाग्यो सबैका दुःख उस्तै नहुने रहेछन् ! बाहिरबाट हेर्दा उनीहरुको कुनै दुःख नै नभएजस्तो देखिन्थ्यो ।

देश भौतिकरूपमा सम्पन्न छ । तर एउटा एउटा परिवारलाई हेर्ने हो भने दुःखका आ–आफ्नै कथा छन् । परिवारसँग बसेर कुरासम्म गर्न नपाउने व्यस्तता, काम गर्न जाँदा फर्किँदा बाटोमै खर्चिनुपर्ने चार घण्टा– यस्तो कथा एक जनाको मात्र होइन । धेरैको साझा कथा थियो । अहिले उनीहरूको जीवन कति फरक भएको छ, कुन्नी ?

आसाहीले अर्को दिन मलाई ऐतिहासिक सुन्दर सहर क्योटो घुमाउन लगिन् । क्योटोमा हाम्रा एक पुराना मित्रको परिवार थियो– मोहनमूर्ति पन्त र उनकी श्रीमती योकोको । नजिकैको स्टेशनमा पन्तजी हामीलाई लिन आएका थिए । उनकै घरको पाहुना भएर खाना खायौँ हामीले ।

त्यही दिन बाटोमा अलि हुलहालजस्तो पनि थियो । कुरा बुझ्दा रुसका नेता गोर्वाचोभको क्योटो भ्रमण परेको रहेछ त्यही दिन । उनलाई प्रत्यक्ष नदेखे पनि रमाइलो लागेको थियो । त्यो बेलासम्म सोभियत संघ विखण्डन भइसकेको थिएन । उनी लोकप्रिय नेता भएझैं लाग्थ्यो । तर उनकै पालामा सोभियत संघ टुक्रा–टुक्रा भयो ।

अत्यन्तै सहृदयकी साथी थिइन्, आसाही । व्यस्तताकै बीच पनि उनले कुनै सहयोग गर्न बाँकी राखिनन् । त्यस्तै थिइन् टोकियोकी तामायो । तामायोकहाँ बस्दा भाषा नबुझे पनि उनकी आमासँग माया–प्रिती बढेको थियो । टोकियोबाट कोबे पठाउन टिकट किनिदिने उनै थिइन् । यिनीहरु मेरा पुराना वा विचारले बाँधेका साथीहरु थिएनन् । केवल मेरा लेखहरु पढेर मलाई केही बुझेका नयाँ साथी थिए ।

तामायोले विश्वका धेरै देश भ्रमण गरिसकेकी थिइन् । हामी चीनमै हुँदा पनि उनी नेपाल पुगेर आएकी थिइन् । काठमाडौँको बाटोमा कुकुर, कुखुरा, गाई, गोरु त्यत्तिकै हिँडिरहेका देखेर अचम्म मानेकी उनले आफूले खिचेको तस्बिर मलाई देखाएकी थिइन् ।

उनीहरुको अवस्था प्रत्यक्ष देख्दा जसरी मलाई अचम्म लागेको थियो, हाम्रो त्यो बेलाको अवस्था देख्दा उनीहरूलाई पनि त्यस्तै अचम्म लाग्दो हो । तामायोले घुम्दा घुम्दै झण्डै विश्व भ्रमण नै भ्याएजस्तो लागेको थियो मलाई र मभित्र पनि लोभ जागेको थियो– पैसा भए त म पनि विश्व भ्रमण गर्नुहुन्थ्यो भनेर ।

आसाहीको बिदा सकिएपछि म फेरि इशिजुकाको अपार्टमेन्ट फर्केँ । उनले एक जना अर्कै पाका साथीसँग भेट गराइदिइन् । उनी पनि ‘इष्ट चाइना नर्मल युनिभर्सिटी’मै भाषा पढेर फर्केका थिए । रिटायर्ड भइसकेपछि चिनियाँ भाषा पढ्न गएका थिए । तोजी नामका उनी पनि उस्तै सहृदयी थिए । उनले आफ्ना धनी साथीहरुसँग मेरो परिचय गराइदिए ।

किसानहरुका विभिन्न ग्रामीण बस्तीमा घुम्न पठाइदिए । एकचोटी एकजना मेरो बा भन्न सुहाउने एक भलाद्मी मलाई लिन आए । नाम थाहा छैन, काम थाहा छैन, गाउँ थाहा छैन, तर पनि उनै तोजीको विश्वासमा उनको गाडीमा चढेँ । तर, दुवै जनालाई एकार्को भाषा आउँदैनथ्यो ।

उनी अलिअलि अङ्ग्रेजी बुझ्थे, म भने जापानी पटक्कै नबुझ्ने । साथीहरूको विश्वासमा मात्र हिँडेको थिएँ । गाडी डाँडा चढ्दै गयो । कहाँ पुग्ने होला भनेर उत्सुकता पनि बढ्यो । तर सोध्ने कसरी ?

आखिर एउटा सुन्दर बस्तीमा पुगेर गाडी रोकियो । उनको आफ्नै घर रहेछ– सुन्दर, ठूलो पनि । घरबाट मेरै उमेरकी उनकी छोरी र उनकी श्रीमती स्वागत गर्न आए । सुन्दर अनुहारकी छोरी अङ्ग्रेजी पनि बोल्दिरहिछन् । मलाई केही सजिलो भयो । छोरीको नाम ‘मारी’ जस्तो लाग्छ तर अहिले बिर्सिसकेँ ।

त्यहाँ पुग्दा म अर्कै दुनियाँमा पुगेजस्तो लाग्यो मलाई । म किन त्यति हार्दिकता पाइरहेकी छु ? केही बुझिन । बेलुकीपख अर्कै घरमा लगे । त्यहाँ फूलको सजावट देखाइन् एक जना महिलाले । त्यो घरको एउटा सात–आठ वर्षको बच्चाले आफ्ना भएभरका खेलौना ल्याएर ‘यो सप्पै तिमीलाई, लिएर जाउ’ भन्यो ।

मलाई मेरो आफ्नै बच्चा भएजस्तो लाग्यो । माया लाग्यो । तर त्यो स्नेह व्यक्त गर्न भाषा थिएन । तै पनि उसले मेरो भाव बुझ्योजस्तो लाग्छ । प्रेमका निम्ति भाषाकै आवश्यकता पनि नपर्दो रहेछ !

बेलुकी सुत्नेबेला मसँग सोधे– ‘जापानी कोठामा बस्ने कि पश्चिमा शैलीको कोठामा ?’ मैले ‘जुनै पनि हुन्छ’ भनेँ । धेरै धनी किसानको घर रहेछ । अर्को दिन त्यहाँ एउटा सानो मेला पनि रहेछ । उनीहरूले मलाई ‘फूलको गलैँचा’ देखाउन लगे । ‘टी सेरेमनि’मा पनि लगे । आफैँले आफैँलाई भनेँ–‘कति भाग्यमानी यात्रु भएछु म !’

यो सबै मेरो ‘लेखक’को परिचयले प्राप्त भएको थियो । अर्को एक दिन मलाई लिएर एउटा सानो पिकनिक पनि भयो । लेखक भनेपछि हामीकहाँ भन्दा भिन्दै दृष्टिले हेर्ने रहेछ । मैले पाएको माया र सम्मान देखेर चीनबाट त्यहाँ काम गर्न पुगेकी एक झण्डै मेरै उमेरकी केटीले इस्र्या पनि गरिन् । तिमी त ‘लेखक’ विशेष पाहुना, सबैको निम्ति कहाँ जुर्छ यस्तो व्यवहार ! अहिले सम्झँदा पनि आभारी हुन्छु…।

प्रतिक्रिया दिनुहोस्