Logo
Logo

गठबन्धन भत्काउन एमालेले कोशीमा थाप्यो ढोक्सा


8.7k
Shares

काठमाडौं । नेकपा एमाले एकपटक फेरि सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेससँग सत्ता साझेदारको ढोक्सा थापेको छ । गठबन्धन भत्काउने उद्देश्यमा एमालेले कोशी प्रदेशमा कांग्रेससँग सत्ता साझेदारी गर्न तयार रहेको बताएको छ ।

सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गर्दै नयाँ सरकार गठन गर्न आदेश दिएसँगै एमाले कोशीमा गठन्धन भत्काउन उद्दत भएको हो ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री एवं कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले कांग्रेससँग सत्ता साझेदारी गर्न चाहेको बताएका छन् । कार्कीको भनाइ अनुसार गठबन्धनकै कारण सातै प्रदेशमा सत्ता गुमाएको एमाले सत्तामा फर्कन कांग्रेससँग नीतिगतरुपमै सम्बन्ध स्थापित गर्न चाहन्छ ।

कोशी प्रदेशमा कांग्रेससँग सत्ता साझेदारी प्रस्ताव केन्द्रीय समितिकै निर्णय र योजनाअनुसार भएको कार्कीको भनाइ छ । कार्कीले भनेका छन्, ‘यदि कांग्रेस सत्ता साझेदार गर्न तयार भए नेतृत्व छाड्न हामी तयार छौँ ।’ यसअघि विश्वासको मत नपाएर कोशी प्रदेश सरकारबाट एमाले ६ महिनामै बाहिरिएको थियो । त्यसकै बदला लिन अहिले एमाले मौकामा चौका हान्ने दाउमा जुटेको हो ।

नेता कार्कीले कोशी प्रदेशमा कांग्रेससँग सत्ता साझेदारी गर्ने निर्णय गत वैशाखमै भएको समेत बताए । शुक्रबार उनले पत्रकारहरुसँग भने, ‘अध्यक्ष केपी ओली र महासचिवले पनि यसबारे बारम्बार भन्दै आउनु भएको छ कि कांग्रेससँग हामी मिल्न ओपन छौँ ।’

कोशी प्रदेशमा गठबन्धन भत्काउन सकेमा केन्द्रीय राजनीति तरंगित हुन्छ भने एमालेको बुझाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उक्त बुझाइ र निर्देशनअनुसार नेता कार्कीले सत्ता साझेदारी गर्न कांग्रेस तयार भए सत्ताको नेतृत्व दिन आफूहरु तयार भएको बताएका हुन् । तर, त्यसका लागि कांग्रेस स्पष्ट भएर आउनुपर्ने उनको भनाइ छ ।

शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै कार्कीले कांग्रेस र एमाले मिलेर कोशीमा सजिलै सरकार बनाउन सकिने बताए । उनले भने, ‘साना–साना दल मिलेर सरकार बनाउँछन् भने ठूलो दल नमिल्ने कुरै हुँदैन । एमाले र कांग्रेसबीच गणतन्त्र र संविधानलाई संस्थागत गर्ने र कानुनी राज्य स्थापित गर्ने लगायतका तमाम राजनीतिक मुद्दा पनि मिल्छ ।’

कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्तिको प्रक्रिया नै असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले बिहीबार नयाँ सरकार गठन गर्न सात दिनको समय दिएको छ । यस्तै, प्रदेश प्रमुख परशुराम खापुङले पनि शुक्रबार सर्वोच्चको आदेश बमोजिम साउन १६ गते अपरान्ह ५ बजेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।

कोशी प्रदेशमा सरकार गठन गर्न कुनैपनि दलको बहुमत पुग्दैन । गठबन्धन दलको बहुमत नपुग्दा गत असार २१ गते सभामुख बाबुराम गौतमसहितको समर्थनमा कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन भएको थियो । तर, थापा नेतृत्वको सरकार २० दिनमै सर्वोच्चको फैसलाले ढलेको छ ।

सर्वोच्च अदालतले पुनः संविधानको धारा १६८ (२) बमोजिम नै सरकार गठन गर्न आदेश दिएको छ । उक्त धारा बमोजिम कोशी प्रदेशमा सरकार गठन गर्न त्यति सहज छैन । अर्थात, ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन कुनै पनि दलको बहुमत पुग्दैन ।

वर्तमान गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालगायत रहेका छन् । यी दलका जम्मा ४६ सांसद छन् । यस्तै, एमालेको ४० र राप्रपाको ६ सांसद छन् । तर, एमाले र राप्रपा पनि एक ठाउँमा छैनन् । सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनमा आउन तयार भएको खण्डमा सरकार सजिलै बन्छ । अर्को विकल्प भनेको एमाले र माओवादी अथवा कांग्रेस र एमाले मिलेमात्र सजिलै सरकार बन्छ । यही अवस्थालाई ध्यानमा राख्दै एमालेले कांग्रेससँग सत्ता साझेदारका लागि पासो थापेको हो ।

अहिलेको अवस्थामा एमाले बक्रदृष्टि भनेको केन्द्रीय गठबन्धन भत्काउनु हो । तर, एमालेले सोचेजस्तो वर्तमान गठबन्धन भत्काउ त्यति सहज भने छैन । किनकि, गठबन्धनको मुख्य दल नेपाली कांग्रेस तत्काल एमालेसँग सत्ता सहकार्य गर्न तयार छैनन् । यो सन्देश कांग्रेसले हालै सम्पन्न केन्द्रीय समिति बैठकबाटै दिइसकेको छ ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा ६ दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवालगायतका नेताहरुले वर्तमान गठबन्धनलाई टिकाएर अगाडि बढ्न जोड दिएका थिए । सभापति देउवाले केन्द्रीय सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै भनेका थिए, ‘साथीहरु अहिलेको गठबन्धन भत्किन्छ भनेर सोच्दै नसोचे हुन्छ । दाया वायाँ हुँदैन । यही सरकारले देशमा आर्थिक समृद्धि ल्याउने छ ।’

एमालेले कोशी सरकार गठनको सन्दर्भमा कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव गरे पनि त्यो सफल हुने सम्भावना भने देखिन्न ।

प्रतिक्रिया दिनुहोस्