Logo
Logo
गौर हत्याकाण्ड

दोषीलाई कारबाहीको माग गर्दै अनिश्चितकालीन रौतहट बन्दको घोषणा



रौतहट । ‘गौर हत्याकाण्ड’का दोषीलाई कारबाहीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आइतबार रौतहटमा मोटरसाईकल र्याली निकालेको छ । पूर्व घोषित कार्यक्रमअनुसार समितिले रौतहटको चन्द्रनिगाहपुरमा मोटरसाईकल र्याली निकालेको हो ।

पीडित परिवारले न्यायको माग गर्दै हिजो (शनिबार) धर्ना दिएको थियो । सोमबारदेखि उनीहरुले अनिश्चितकालीन रौतहट बन्दको घोषणा गरेका छन् । अनिश्चितकाली रौतहट बन्दको पूर्वसन्ध्यामा उनीहरुले मोटरसाईकल र्याली निकालेका छन् ।
मोटरसाईकल र्यालीलाई सम्बोधन गर्दै आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहले गौर हत्याकाण्डका आरोपितलाई कारबाही नगरिए आन्दोलनलाई अझै शसक्त बनाउने चेतावनी दिए ।

सरकारसँग गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दा नसुनेको बताउँदै महासचिव साहले बाध्यभएर रौतहट बन्द गर्नुपरेको बताए । गौर हत्याकाण्डको १७ बर्ष वितिसक्दा पनि राज्यले पीडित परिवारलाई न्याय नदिएको र आपराधीलाई कारबाही गर्न कुनै चासो नदेखाएपछि बाध्य भएर आजपा र सहिद परिवारले यसप्रकारको कठोर कदम उठाउन बाध्य भएको बताए ।

साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्दको पूर्व सन्ध्यामा मोटरसाइकल रयालीमा उत्साहपूर्वक स्वस्फूर्त रुपमा जनता सहभागी भई र्यालीलाई सफल बनाइएको महासचिव साहले बताए । हत्याकाण्डका अपराधीलाई कारबाही गराउनका लागि सोमबारदेखि हुने अनिश्चितकालीन रौतहट बन्दलाई सफल बनाइदिन बस व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारी वर्गसँग उनले आग्रहसमेत गरे ।

समितिका संयोजक रुपसागर देवीका अनुसार न्याय पाउने आशमा सरकारलाई दबाब दिने उद्देश्यले आफूहरु धर्ना, मोटरसाईकल र्याली जस्ता आन्दोलनका कार्यक्रम गरेको र सोमबारदेखि अनिश्चितकाली रौतहट बन्द गरिने बताइन् । शक्ति र सत्ताको आडमा हत्याकाण्डका अपराधीलाई जोगाउने काम भइरहेको आरोप लगाउँदै उनले माग पूरा नभए अझै कडा आन्दोलनमा उत्रिने बताइन् ।

मोटरसाईकल र्यालीमा सहभागीले गौर हत्याकाण्डका मुख्य योजनाकार उपेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने लगायतका नारा लगाएका छन् ।

हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशकभन्दा बढी हुन लाग्दासमेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै संघर्ष समितिका संयोजक रुपसागर देवीले आक्रोश व्यक्त गरेकी छन् ।
२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए ।

उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिक घाइते भएका थिए ।

त्यस घटनामा बन्दुक, बाँसको भाटा, ढुंगाले टाउको र मुखमा हानेर मारेका थिए । त्यस्तै, महिलालाई बाँसको भाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो ।
यो घटना प्रचलित नेपाल कानून बमोजिम अपराधमात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ ।

गौर हत्याकाण्ड भएको भोलिपल्ट नै तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा र संयूक्त राष्ट्रसंघीय मिसन (अनमिन)का प्रतिनिधि पनि घटना स्थल पुगेका थिए । घटनाको वास्वविक तथ्य पता लगाउनका लागि नेपाल सरकारले तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले बुझाएको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिबेदनले समेत यस घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानवीय अपराध गरेको भनि निष्कर्ष निकालेको थियो ।

पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा)ले समेत समर्थन गरेको छ । पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदले यसबारेमा पटकपटक आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्