Logo
Logo

सत्ताको सपना र सोम शर्माको कथा



आफ्नै कारणले प्रमुख प्रतिपक्ष दलका नेता बन्न पुगेका केपी शर्मा ओली फुर्सदिला छन् । प्रायः हरेक हप्ता उनको आत्मकथा कान्तिपुर दैनिकमा पढ्न पाइन्छ । उनले कान्तिपुर दैनिकका लागि आत्मकथा लेखिरहँदा आफूभित्रको घमण्डले आफैँलाई सिध्याएको अनुभूति कहिले पढ्न पाइने होला भन्ने कौतुहलता आम पाठकमा जागेको छ ।

हरेक मानिसमा राम्रो र नराम्रो गुण हुन्छ । मानिसले नराम्रो प्रवृत्तिलाई त्याग्न सकेन भने त्यसले राम्रो गुणलाई ओझेलमा पार्छ र आफूभित्र भएको सकारात्मक ऊर्जालाई ध्वस्त बनाउँछ । केपी शर्मा ओलीको राजनीतिक यात्रादेखि अहिलेसम्मको अवस्थालाई केलाउने हो भने पुस ५ को संसद् विघटनसँगै ओलीको राजनीतिक भविष्य मात्र होइन, सिंगो कम्युनिष्ट आन्दोलन नै धरापमा परेको छ ।

गत सोमबारको लेखको अन्त्यमा ओलीले सुखी नेपाली समृद्ध नेपालको चर्चा गरेका छन् । यो असम्भव कुरा होइन । नेपालजस्तो जलस्रोत, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको देशमा दृढ इच्छाशक्ति भएको नेता जन्मिने हो भने अबको २० वर्षभित्र सुखी नेपाली, समृद्ध नेपाल सम्भव छ । तर, नेपाली जनताको दुर्भाग्य, जसलाई नेपाली जनताले राजनेता मानेर सगरमाथाको शीरमा पु¥यायो, त्यही व्यक्ति आफ्नो बुद्धिले टुकुचाको तीरमा पुग्यो । तर पनि चेत खुलेको छैन ।

वास्तवमा, अहिले आम मानिसमा जुन निराशा छ, त्यसको प्रस्थानविन्दु भनेकै पुस ५ को संसद् विघटन हो । राजनीतिक अस्थिरताले देशको आर्थिक विकास भएन भनेरै राजनीतिक स्थिरताका लागि २०७४ सालको आम निर्वाचनमा नेपाली जनताले एमाले–माओवादी गठबन्धनलाई दुईतिहाइ मत दिएका थिए ।

त्यो मतको सदुपयोग गरेको भए आज नेपाली जनताले सुखको स्वास फेर्ने दिन आउँथ्यो । त्यतिबेला चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु पच्चीस प्रतिशत मात्र पूरा भएको भए देश आर्थिक समृद्धिको बाटोमा लागिसक्थ्यो ।

तर, ओली दुईतिहाइको सरकार सञ्चालनमा पूर्णरुपमा असफल मात्र भएनन्, ओलीकै कारण एमालेसमेत विभाजन भयो । त्यसको परिणाम आज ओलीले प्रतिपक्षमा बसेर भोग्दैछन् ।

हिजो उखान टुक्का सुनेर भोट हाल्ने जमात आज नयाँ पार्टीमा प्रवेश गरेका छन् । युवाहरुको आशा र भरोसाको पार्टी एमाले छाड्नेको जमात बढ्दो छ । यस्तो अवस्थामा ओलीले सत्ताको सपना देख्ने सोम शर्माको कथाजस्तै हो ।

ओलीले केही काम नपाए जस्तो गरेर हरेक दिन आफैँले बनाएका प्रधानमन्त्रीको राजीनामा माग्दैछन् । देशमा यति ठूला समस्याहरु छन्, तिनको समाधान गर्ने एजेण्डा एमालेले संसद्मा उठाउन सकेको छैन ।

संसद् अवरुद्ध गरेर गाईजात्रा देखाइरहेको छ । गत निर्वाचनको जनादेश अनुसार पाँच वर्ष प्रतिपक्षमा बस्नुपर्ने एमाले अहिले नै सत्ताको भ¥याङ चढ्न आतुर छ ।

प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने कुरा एमालेले कांग्रेसबाट सिक्नुपर्छ । २०७४ सालमा ओली दुईतिहाइको प्रधानमन्त्री हुँदा कांग्रेृसका सभापति शेरबहादुर देउवाले एकपटक पनि ओलीको राजीनामा मागेनन् । बरु पाँचै वर्ष प्रतिपक्षमा बस्ने प्रतिबद्धता जनाए ।

ओलीले संसद् विघटन नगरेको भए देउवा प्रधानमन्त्री पनि बन्ने थिएनन् । पाँचै वर्ष प्रतिपक्षमा बस्छु भनेर प्रतिबद्धता जनाएका देउवालाई ज्योतिषले भनेझैँ पाँचैपटक प्रधानमन्त्री बन्ने साइत ओलीले नै जुराइदिए ।

अहिले सरकार गठन भएको छ महिना पनि भएको छैन, एमाले छट्पटिएको छ । सत्तामा जान आतुर छ । त्यसका लागि राजनीतिक भाँडभैलो सुरु गर्दैछ । यो लज्जाको विषय हो । यसबाट एमालेलाई घाटाबाहेक नाफा हुने देखिँदैन ।

इतिहासले नेपालको जस्तो निर्वाचन प्रणालीमा एउटा राजनीतिक पार्टीलाई दुईतिहाइको अनुमति दिँदैन । तर, २०७४ सालमा एमालेले त्यो अवसर पायो । सुशासन कायम गर्ने नाममा राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागजस्ता संस्थालाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइयो ।

ललिता निवास जग्गाको छानविन थालियो । ३३ किलो सुन प्रकरणको प्रतिवेदन तयार पारियो । तर, दुईतिहाइको शक्तिशाली सरकारले एउटा ‘माखो’ पनि मार्न सकेन । उल्टै नक्ककली भुटानी शरणार्थी काण्ड उनकै कार्यकालबाट सुरु भयो । माओवादी फुटाउन रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी काण्डमा संरक्षण दिइयो । जसको पोल अहिले आएर खुल्यो । थप अरु काण्डहरुको पनि पोल खुल्ने डरले एमालेले कहिले प्रधानमन्त्रीको त कहिले गृहमन्त्रीको राजीनामा मागेर जग हँसाइरहेको छ ।

अब देश बनाउने मौका यो जुनीमा ओलीलाई आउला जस्तो लाग्दैन । किनभने, ओलीकै कारण नेपालको कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भएको छ । उनलाई सत्तामा पु¥याउने शक्ति भनेको कम्युनिष्ट शक्ति नै हो । दुईतिहाइको जग पनि कम्युनिष्ट एकता नै थियो । अब त्यो एमालेको लागि सपनाजस्तो भएको छ । एमालेलाई दुईतिहाइको शक्तिमा पुर्याउने माओवादी र एमाले नदीका दुई किनारा भएको छ । नदीमा कांग्रेसले मज्जाले डुंगा खियाइरहेको छ ।

आज कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरु पानी बाराबारको अवस्थामा छन् । आउँदो निर्वाचनमा कम्युनिष्ट पार्टीहरु अरु ओरालो लाग्ने देखिँदैछ । हिजो उखान टुक्का सुनेर भोट हाल्ने जमात आज नयाँ पार्टीमा प्रवेश गरेका छन् । त्यसको ताजा उदाहरण उपनिर्वाचन हो । यस्तो अवस्थामा सत्ताको सपना देख्नु सोम शर्माको कथाजस्तै हो ।

प्रतिक्रिया दिनुहोस्