Logo
Logo

जसले जान्यो उसले हान्यो भन्ने स्थिति छ- सूर्यनाथ उपाध्याय


सूर्यनाथ उपाध्याय- पूर्वप्रमुख आयुक्त, अख्तियार


काठमाडौं । सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चर्चित पूर्वप्रमुख आयुक्त हुन् । उनले २०५७ देखि २०६३ सालसम्म अख्तियारको नेतृत्व गरे । उपाध्याय अख्तियार प्रमुख बनेको दुई वर्ष पछिमात्रै भ्रष्टाचार निवारण ऐन र विशेष अदालत ऐन बनेको थियो । त्यसपछि कानुनी हिसाबले अख्तियार थप शक्तिशाली बनेको थियो । नयाँ कानुनले विशेष प्रहरी विभाग भंग भएको थियो भने, स्रोत साधनका हिसाबले पनि अख्तियार बलियो बन्दै गएको थियो । अख्तियारले हरेक ठाउँमा सशक्त उपस्थिति देखाएको थियो । उपाध्यायको कामको अहिले पनि चर्चा हुने गरेको छ ।

उनी शासकको शक्तिको सामू कहिल्यै झुकेनन् । आफैलाई नियुक्ति दिलाएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सचेत गराउने कामसमेत उनले गरेका थिए । भ्रष्टाचार अभियोगमा केही मन्त्री त जेलमै परेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शासनसत्ता हातमा लिएको बेला उपाध्यायलाई अनेक ढंगले दबाब आएको थियो । उनले नमानेकै कारण अख्तियारलाई बाइपास गर्दै शाही आयोग बनाइएको थियो । असंवैधानिक रुपमा गठन गरिएको उक्त शाही आयोगलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

पछिल्लो समय अख्तियारका आयुक्तलाई नै भ्रष्टाचार मुद्दा लागेको छ । ठूलालाई उम्काएर सानालाई मात्रै मुद्धा चलाउने गरेको आरोप पनि अख्तियारमाथि लाग्दै आएको छ । यसले अख्तियारमाथि जनविश्वास कमजोर बन्दै गएको छ ।

खासमा देशको अहिलेको अवस्था, अख्तियारको भूमिका, भ्रष्टाचारविरुद्ध सरकारी अभियान लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

चौंतर्फी रुपमा विकृति, विसंगति देखिन्छ । यसको मूल कारण के होला ?
यो धेरैतिर फैलिएको समस्या हो । यो विषय शासन संयन्त्र कस्तो छ भन्ने कुरामा भरपर्छ । शासन संयन्त्र धेरै उदार छ । तीन तहका सरकार छन् । राजनीतिक जागिर खाने, पैसा कमाउने भयो । पहिला पहिला राजनीति भनेको समाजका लागि त्याग गर्ने, जनताको सेवा गर्ने, देशलाई योगदान गर्ने भन्ने थियो । पहिला नेताहरूले त्याग तपस्या, दुःख, कष्ट गरेका थिए ।

देशप्रति केही गरौँ भन्ने भावना थियो । अहिले वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म सबैले तलब खान्छन । कर्मचारी हुन् कि राजनीतिज्ञ भन्ने छुट्याउनै गाह्रो हुन्छ । हाम्रो राजनीति नै पैसा कमाउने माध्यम भयो । सम्पूर्ण चीजलाई पैसाले नियन्त्रण गर्ने भयो । मानिसको प्रवृत्ति साधु महात्मा भएपनि इगोले आक्रान्त बनाइसकेको हुन्छ ।

सबैले नमस्कार गरुन, मैले चाहेको होस भन्ने चाहनाले अधिकार, स्रोत, सुविधामा झुकाब हुन थाल्यो । पहिला विचार, सिद्धान्त र उद्देश्यको आधारमा पार्टी बन्थ्यो । विचार, सिद्धान्त र दर्शनको आधारमा सहकार्य गर्थे । अहिले विलकुलै विपरित सिद्धान्त, ध्रुवका दल सत्ताका लागि मिलेको स्थिति छ । सेवाको भावनाले भन्दा सत्ताको भावनाले अहिलेको विकृति अवस्था देखा परेको हो । जसले जान्यो, उसले हान्यो भन्ने स्थिति विकसित भएको छ ।

भ्रष्टाचारका विभिन्न काण्ड आइरहेका छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाउन नसकेको जनगुनासो छ नि ?
अवस्था तपाईँले भनेजस्तै देखिन्छ । तर, म अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छैन । यो प्रश्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई नै सोध्दा बढी उपयुक्त हुन्थ्यो । मलाई विगतमा काम गर्ने मौका दिइयो, मैले इमान्दारितापूर्वक काम गरे । अहिलेका प्रमुख आयुक्तले कति काम गर्नुभयो जनताले अनुभूति गर्ने कुरा हो । उहाँ स्वयंले जान्ने कुरा हो ।

अख्तियारले मुद्धा नचलाउने अनि सीआइबीले छानबिन गरेपछि जेल पर्ने अवस्थालाई कसरी हेर्ने ?
अख्तियार र सीआइबीले अनुसन्धानको पाटो फरक हुन्छ । कीर्ते जालसाझी, ठगी आदिमा सीआइबीले अनुसन्धान गर्छ भने अख्तियारले भ्रष्टाचारको विषयमा अनुसन्धान गर्छ ।

नक्कली शरणार्थी प्रकरण र बालुवाटार जग्गा प्रकरण भ्रष्टाचार होइन र ?
त्यसमा धेरै कुरा छ । संगठित अपराध पनि छ । कीर्ते कागज, कीर्ते मान्छे बनाएको पनि छ । ठगी पनि छ । भ्रष्टाचार पनि छ ।

कर्मचारीलाई अख्तियारको जिम्मा लगाएपछि काम भएन भन्ने गुनासो पनि सुनिन्छ । तपाईँ पनि कर्मचारीबाटै अख्तियारको नेतृत्वमा पुग्नुभयो । तपाईँले पनि त्यो महसुस गर्नुभयो ?
मलाई त त्यस्तो लाग्दैन । म पनि कर्मचारी नै थिएँ । मुख्यकुरा इच्छाशक्तिको हो । इच्छाशक्ति भयो भने कर्मचारी पृष्ठभूमिका व्यक्तिले पनि काम गर्न सक्छ । कर्मचारीभन्दा बाहिरको व्यक्तिले पनि काम गर्न सक्छ । इन्छाशक्ति नै छैन भने जहाँबाट लगेपनि काम हुन सक्दैन । मुख्यकुरा मान्छे को हो भन्नेमा भरपर्छ ।

अहिले त उच्चतहका कर्मचारी नै जेल जाने स्थिति बन्यो । टिप्पणी उठाएको भरमा कारबाही गर्नु हुँदैन भनेर केही कर्मचारी आन्दोलनमै उत्रिएको देखियो । यसलाई कसरी लिने ?
भ्रष्टाचारजन्य काम भएको छ भने टिप्पणी उठाउने पनि पर्छ, निर्णय गर्ने पनि पर्छ । भ्रष्टाचारजन्य काममा संलग्न छैन भने त कसले कारबाही गर्न सक्छ र ? यदि, भ्रष्टाचारजन्य काम भएको छ भने आन्दोलन गरेकै भरमा बच्ने भन्ने हुँदैन ।

तपाईँले अख्तियारको नेतृत्व सम्हाल्दा पनि भ्रष्टाचारको अवस्था यस्तै थियो ?
भ्रष्टाचार भएरै त मैले काम गर्नु परेको थियो । काम गर्न थालेपछि घट्यो होला ।

तपाईँले अख्तियारमा बसेर काम गरेपछि नागरिकमा आशा पलाएको थियो । अब त भ्रष्टाचार हुँदैन कि भन्ने पनि थियो । तर, भ्रष्टाचार घटेको तथ्यांक अहिलेसम्म पढ्न पाइएको छैन नि ?
भ्रष्टाचार रोक्ने कुरा एकचोटी गरेर पुग्दैन । मान्छे अर्कै आउँछन, काम अर्कै आउँछन् । मेरो पालामा शासकहरू अर्कै थिए, अहिले अर्कै छन् । व्यवस्था नै अर्कै भइसक्यो । भ्रष्टाचार नियन्त्रणको काम त निरन्तर गरिरहनुपर्छ । पृथ्वीनारायण शाहको पालादेखि नै भ्रष्टाचार छ भनेर त उनले नै भनेका थिए नि । घुस लिने–दिने कुरा त पृथ्वीनारायण शाहले पनि बोलेका थिए । भ्रष्टाचार त्यो बेलामा पनि थियो, अहिले पनि छ ।

अख्तियारले ‘ठूला माछा’लाई छाडिदिन्छ, सानालाई मात्रै समाप्त भन्ने आम बुझाइ सत्य हो ?
त्यो त फाइल नै हेर्नुपर्छ । भ्रष्टाचारमा ठूला, सानाको कुरा हुँदैन । चाहे त्यो सानो होस्, चाहे ठूलो होस्, भ्रष्टाचार गर्ने भ्रष्टाचारी नै हो । त्यसकारण ठूला माछा र साना माछा भन्ने कुरा हुँदैन । होला, साना माछा र ठूला माछा भनेर मान्छेहरूले भने होलान । भ्रष्टाचार मात्रामा ठूलो र सानो हुन्छ । तर, जस्तो भए पनि भ्रष्टाचार गर्ने भ्रष्टाचारी नै हो । ऊ कारबाहीको भागिदार हुनैपर्छ ।

मन्त्रिपरिषदको निर्णय अख्तियारले हेर्न नपाउने स्थितिमा नीतिगत भ्रष्टाचार कसरी अन्त्य हुन्छ ?
मन्त्रिपरिषदको नीतिगत निर्णय मात्रै अख्तियारले हेर्न नपाउने हो । अरु निर्णय हेर्न पाइन्छ । हामीले हेरेकै हो । लाउडा काण्डको फाइल हामीले हेरेकै हौँ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । गिरिजालाई पनि हामीले सचेत गराएकै हो ।

सचेत गराए पनि कारबाही त भएन नि ?
सचेत पनि त कारबाही हो नि । गिरिजाप्रसाद कोइराला सरकारका मन्त्रीहरूलाई भ्रष्टाचारकै मुद्धा लगाइएको थियो ।

राजनीतिक भागबण्डाका कारण अख्तियारजस्ता निकायले अहिले काम गर्न नसकेको हो ?
मलाई अख्तियारमा पठाएको कसले ? प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । उनैलाई लाउडा काण्डमा सचेत गरायौँ । उनका मन्त्रीलाई भ्रष्टाचार मुद्धा चलायौँ ।

पहिला तपाईँले जसले नियुक्तिका लागि सिफारिस ग¥यो उसैलाई सचेत गराउनुभयो । तर, अहिले त्यस्तो देखिदैन नि किन ?
मेरो नाम सूर्यनाथ, अहिलेका अख्तियार प्रमुखको नाम प्रेमकुमार । हामी मान्छे पनि त अलग अलग हौँ नि (हाँस्दै) । व्यवस्थै अलग भइसक्यो । मेरो पालामा राजतन्त्र थियो, अहिले गणतन्त्र छ ।

त्यतिबेला राजालाई पनि सचेत गराउनुभयो कि ?
राजा त त्यतिबेला कानुनभन्दा माथि थिए नि ।

यो गर, त्यो गर भनेर राजाको चाहिँ प्रेसर आउथ्यो कि आउँदैनथ्यो ?
ज्ञानेन्द्र भएको बेलामा थियो । ज्ञानेन्द्रले भने बमोजिम मैले गरिनँ भनेर शाही आयोग नै गठन गरे ।

नेताहरूलाई समाउनुप¥यो भन्ने दबाब पनि थियो होला नि ?
थियो नि । मौखिक रुपमा भनिएको थियो । ज्ञानेन्द्रको इच्छा पूर्ति नगरेकै कारण अर्को आयोग गठन गरेका थिए । मैले ज्ञानेन्द्रले भनेको मानिनँ होला, ज्ञानेन्द्रको चित्त बुझाउन सकिन होला तब न अर्को आयोग बनाए ।

शाही आयोग खारेज भइसकेपछि उक्त आयोगले उठाएका विषय अगाडि बढाउन फेरि दरबारबाट दबाब आयो कि ?
मैले टेर्दिनँ भनेरै शाही आयोग गठन गरेका थिए । त्यसपछि मलाई भन्ने नैतिक आधार नै रहेन नि ।

त्यतिबेलाका शासकबाट धम्की त आएन होला ?
धम्कीसम्की हरेक कुरा आयो नि । तर, काम गर्ने सवालमा त्यस्ता धम्कीलाई मैले वास्ता गरिनँ ।

दरबारले चाहेको भए तपाईँलाई हटाइदिन सक्थ्यो नि होइन ?
दरबारले त चाहेकै थियो नि, मैले राजीनामा गरोस् भनेर । मैले राजीनामा गरिनँ । उसले नियुक्त गरेको हो र मलाई ? को हो त्यो ? खोइ त हटाउन सकेन ।

राजाबाट सिधै दबाब आउथ्यो कि अन्य कुनै माध्यमबाट ?
राजाले फोन गर्दैनथे, राजाका मान्छेले भन्थे । नत्र छोडिदिनुस् भन्थे ।

तपाइँले जवाफ पनि फर्काउनुभयो कि ?
मैले भनिदिए–किन छाड्ने । म त आफ्नो काम गरिरहेको छु । त्यही भएर शाही आयोग बनेको थियो ।

तपाइँले राजाका मान्छेलाई पनि थुन्नुभएको थियो ?
को राजाका मान्छे थाहा भएन । जो दोषी देखिन्थे, तीमाथि कारबाही प्रक्रिया अघि बढ्थ्यो ।

पूर्वसहकर्मी र अग्रज कर्मचारीहरूबाट चाहिँ कतिको दबाब आयो ?
दबाब भन्ने कुरा मान्दिनँ भने मान्दिनँ, मान्यो भने मान्यो हुन्छ । मैले त्यस्तो चाहिनँ । घुस खाने कि नखाने, नचाहिदो गर्ने कि नगर्ने भन्ने कुरा व्यक्तिमा भरपर्छ । हामीले एकै रात २२ जना कर्मचारीलाई पक्राउ ग¥यौँ । सबैमाथि मुद्धा चल्यो ।

राजनीतिक दलहरू अहिले मात्रै भ्रष्ट भएका हुन् कि पहिलेदेखि नै थिए ?
राजनीतिक दल भनेको मान्छे होइनन् ? मान्छे त पहिलेदेखि नै भ्रष्टाचारी थिए भनेर त पृथ्वीनारायण शाहले नै भनेका थिए नि ।

गृहमन्त्रीले अनुसन्धानलाई जरैसम्म पु¥याउँछु, दोषी कसैलाई पनि छाड्दिन भन्नुभएको छ । अब केही अपेक्षा गर्न सकिन्छ ?
गर्छु भन्नेलाई गर्न दिनुपर्छ । गृहमन्त्रीको उत्साह राम्रो छ । तर, माओवादी नेतृत्वबाट त्यो सम्भव छ त ? १७ हजार जनता मारेको, देशलाई २० वर्ष अन्धकारमा धकेलेको माओवादीले होइन ? सारा प्रोजेक्टहरू खत्तम बनाएको होइन ? लुटपाट मच्याएको होइन ? अहिले पनि कुनै सिद्धान्त छ ?

कांग्रेस, एमालेको पनि पृष्ठभूमि त सशक्त संघर्षकै हो नि ?
त्यस्तो भनेर हुँदैन । क्रान्तिको नाममा विदेशबाट हतियार ल्याएर मान्छे मारेको कसले ? भ्रष्टाचारका सबै फाइल खोल्ने स्थितिमा पुराना कर्मचारीहरू पनि धमाधम पर्ने भए । त्यही कारण पूर्वप्रशासक बढी झस्किएको हो । जसले खाएको छ, उ झस्किए होलान । मैले त जागिर छाडेकै १७ वर्ष भइसक्यो ।

सबै फाइल खोल्दा त पञ्चायतकालदेखि कै आउला नि ?
आए आओस न त, मलाइ के फरक पर्छ र ? मैले गल्ती गरेको छु भने कारबाही भोगुला । खोलोस मेरो फाइल ।

मेरो फाइल खोलोस भन्न सक्ने कर्मचारी कति होलान त ?
त्यो त मलाई थाहा छैन । अर्को कुरा सरकारले गम्भीरतापूर्वक भ्रष्टाचारविरोधी काम गरेको छैन । भ्रष्टाचार रोक्नका लागि नेपालले अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएअनुसार अख्तियारसम्बन्धि ऐन ल्याउनैपर्छ । तर, लामो समयदेखि संसदमा विचाराधिन अवस्थामा छ । भ्रष्टाचारविरुद्धको ऐनलाई पास नगर्ने अनि भ्रष्टाचारविरुद्ध यो गर्छु, त्यो गर्छु भनेर मात्रै हुन्छ ?

प्रतिक्रिया दिनुहोस्