काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूलाई ऋण दुरुपयोगको आरोप लगाएर कारबाही गर्दा आर्थिक क्षेत्रमा दुर्घटना निम्तिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पदाधिकारीको १०० दिनको उपलब्धि कार्यक्रममा व्यवसायीलाई अनावश्यक कारबाहीका कुरा नगर्न आग्रह गरेका हुन् ।अहिलेको अवस्थामा निजी क्षेत्रलाई ऋण मिलान गर्न समय दिनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।
‘व्यवसायीले ऋण दुरुपयोग गरेको र यसमा अध्ययन गरेर कारबाही गर्ने भन्ने कुरा राष्ट्र बैंकले गरेको छ । तर, यसले आर्थिक क्षेत्रमा ठुलो दुर्घटना निम्तिन्छ,’ उनले भने, ‘निजी क्षेत्रलाई ऋण मिलान गर्न समय दिनुपर्छ ।’
निजी क्षेत्रले निजी क्षेत्रका स्वार्थका लागि मात्र सुझाव नदिएको भन्दै ढकालले निजी क्षेत्रका सुझाव सुनुवाइ नभएको बताए ।
अहिलेको समस्या सबैले गर्दा निम्तिएको पनि ढकालले बताए । यसको समाधान निजी क्षेत्र, राष्ट्र बैंक र सरकार मिलेर गर्नुपर्ने उनको भनाइ छ ।











