काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।

शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई बताएका छन् । तर, उनलाई किन पक्राउ गरियो भन्ने खुलेको छैन । एक कांग्रेस नेताका अनुसार शर्मालाई उनकै घर मण्डिखाटारमा प्रहरीले पक्राउ गरेको हो । सांसद शर्माले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका थिए ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सांसद शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् । स्रोतका अनुसार सांसद शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।














