Logo
Logo

सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीको राजिनामा माग्ने सांसद किन पक्राउ परे ? 


7.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज दिउँसो गल्फुटारबाट पक्राउ गरेको हो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसद शर्मालाई सीआईबीको टोलीले पक्राउ गरेको फेसबुक मार्फत जानकारी दिएका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको हो ।

यसअघि सांसद शर्माले करिब एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै सुन तस्करी प्रकरणले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।

गत साउन १० गते संसद बैठकमै उनले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिएका थिए । 

उनले भनेका थिए– ‘सुन प्रकरणलाई गुमचुप पारेर गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु ।’ 

सांसद पक्राउ परेपछि कांग्रेसका केन्द्रीय सदस्य शिवाकोटीले आक्रोश व्यक्त गरेका छन् । उनले शर्मा पक्राउ पर्नु सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयास भएको टिप्पणी गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–  ‘केहि दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद् चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृत दिएका हुनु कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्न ?’

प्रतिक्रिया दिनुहोस्