काठमाडौं । रुपन्देहीको भैरहवास्थित टाइगर प्यालेस रिसोर्टले व्यवस्थापन परिवर्तन भएको घोषणा गरेको छ । टाइगर प्यालेस रिसोर्टको कानुनी रुपमा स्वामित्व परिवर्तन नभएपनि बुधबार औपचारिकरुपमा नयाँ व्यवस्थापन घोषणा गरेको हो ।

विवादबीच बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ व्यवस्थापनबारे जानकारी गराइएको छ । गैरआवासीय नेपालीले हङकङमै होटलको सेयर स्वामित्व किनबेच गरेपछि विवाद भइरहेको छ । विवाद बढेपछि सरकारी निकायले सेयर स्वामित्व खरिद बिक्री नगर्न आदेश दिइसकेका छन् ।
यसैबेलच कम्पनीका नयाँ अध्यक्ष बुद्धिसागर सुवेदीले व्यवस्थापन परिवर्तन भएको घोषणा गरेका हुन् । उनका अनुसार अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेजको ५ अर्ब लगानीमा उक्त रिसोर्ट सञ्चालनमा आएको थियो । प्रत्यक्ष वैदेशिक लगानीमा रहेको रिसोर्ट बन्द हुने अवस्थामा आफूहरूले खरिद गरेको सुवेदीको भनाइ छ ।
सुवेदीले टाइगर प्यालेस १५ मिलियन डलरमा खरिद बिक्री भएको बताए । अब बैंकको दायित्व, रोयल्टी तिर्नुपर्ने र रिनोभेसनका लागि त्यहाँ लगानी गर्नुपर्ने छ । सिल्भर हेरिटले ऋण तिर्न नसकेपछि टाइगर प्यालेस खरिद गरिएको सुवेदीले बताए । होटलको सबै सेयर गैरआवासीय नेपालीले संयुक्तरूपमा किनेका हुन् ।
सीए विनेस आचार्यले ३ महिनाभित्रै सरकारको दायित्व तिरिसक्ने बताए । ठूलो घाटामा रहेको कम्पनी खरिद गरेकाले राजस्व धेरै तिर्नुपर्ने उनले बताए । उनका अनुसार सबै प्रकारको ऋण सवा २ अर्ब रहेको छ ।











