Logo
Logo

देश फर्किनु अगाडिको छटपटाहट




जापानबाट चीन फर्कनुभन्दा देशै फर्किने चाहना झन् झन् प्रवल हुँदै गएको थियो । तर त्यो आतुरता व्यवहारिक भने थिएन । चीन फर्कनै पर्ने थियो, फर्केँ । त्यसपछि पनि तुरुन्तै नेपाल फर्कन सक्ने अवस्था थिएन ।

सरोजको विद्यावारिधिको अलिअलि काम अझै बाँकी थियो । नेपालबाट फर्केर थेसिसलाई नै अन्तिम रूप दिने काममा लागिरहेका थिए । मेरो चहिँ कलेजको पढाई सकिइसकेको थियो । मलाई अलि बढी फुर्सद हुन थाल्यो । जति फुर्सद भयो, देश फर्कने हतार उति नै बढ्यो । छोरीलाई कतिखेर भेटुँ र अँगालोमा बाँधुँ भैरहेको थियो ।

तर सोँच्न थालेँ– फर्केर कहाँ बस्ने ? कसरी जीवन अगाडि बढाउने ? लाजिम्पाटमा सरोजको घर थियो । तर मेरो निम्ति सहज थिएन । बुवाले त छोरा–बुहारी छिटै फर्किउन् र घरैमा आएर बसुन् भनेर एउटा नयाँ घर पनि बनाईसक्नुभएको थियो । बुवाको इच्छा अनुसार नै सरोजले छोरीलाई घरमै छोडेर फर्केका थिए । तर मलाई नै भने सजिलो लागिरहेको थिएन ।

सरोजलाई शाङ्घाईमै छोडेर म लाजिम्पाटमा बस्न जाने त झन् कुरै आउँदैनथ्यो । ‘अस्पतालको काम अघि बढेपछि जे गर्न सक्छु गरुँला, डेरामा भए पनि बसुँला’ भन्ने थियो मनमा । थेसिस सिध्याउन लागिरहेको बुढा र म सँगै बसेर योजना बनाउने मौकै मिलिरहेको थिएन ।

चीनमा अझै चार पाँच महिना अल्झिनु बाँकी नै भएको बेला मेरो पेटमा अर्को सन्तान आइसकेको थियो । दशवर्ष पछि अर्को सन्तानको आमा बन्न गइरहेकी थिएँ । मनमा खुसी पनि थियो, तर चिन्ता पनि थियो ।

आत्तुरी र अलमलमा कति महत्त्वपूर्ण फोटोहरू समेत च्यात्न थालेछु । ममा एक किसिमको आत्तुरी थियो, छटपटाहट थियो । छोरीले चिनियाँ भाषामै चिठी लेखेकी थिई– ऊ आत्तिएको स्पष्ट बुझिन्थ्यो । उसै पनि तीन महिना भनेको, ६ महिना नाघिसकेको थियो । त्यो समय सारै नै महँगो हुन गयो ।

सरोज आफ्नो विद्यावारिधिको अन्तिम चरणको काम करिब करिब सिद्ध्याएर अलिकति हल्का अनुभव गरिरहेको बेला नयाँ जापानी मित्र कुराउचीले केही समयको लागि जापान आउनै पर्याे भनेर बोलाए– प्रस्तावित अस्पतालको सिलसिलामा उनले खोजेका सम्भाव्य सहयोगिहरूसँग भेटघाट गराउन र विस्तृत छलफल गर्न । फेरि उनी केही समय त्यता अल्मलिनु पर्ने भयो ।

जापानको निम्ति भिसा र टिकट मिलाउँदै, नेपालमा रहेका साथीहरुसँग संयोजन गर्दै जापानतिर लागे सरोज । उनी पनि म जस्तै पानी जहाज नै चढेर जापान पुगे । मेरो मन भने नेपालमै पुगिरह्यो ।

त्यो खाली समयमा मौका छोपेर विदेशीको निम्ति चिनियाँ खानाको तालिममा भाग लिएँ– अन्य नेपाली साथीहरूसँगै । तालिम सकिएपछि प्रमाणपत्र पनि पायौँ । अन्तिम परीक्षामा मैले राम्रै गरेछु क्यारे, ‘पहिलो’ भएँ । रोईरहनु भन्दा गाईरहनु बेस भनेजस्तो भयो ।

पछि केही काम नपाए चिनियाँ खाना पकाएरै खाउँला भनेर आफै रमाएँ । पछि, नेपाल फर्केको केही समय पछि एकचोटी इच्छुक गृहिणी र विद्यार्थी साथीहरूलाई सिकाउन पनि भ्याएँ । नेपाल टिभीमा प्रसारण समेत भएको थियो ।

सरोज जापानबाट फर्केर थेसिस डिफेन्स् गर्दासम्म मैले सोचेभन्दा ढीलो भयो । तीन महिनाको हिसाब गरेर बसेकी थिएँ, छ महिना नै पुग्न लागिसकेको थियो । उनकै थेसिसको काम बाँकी नभए पनि सबैको औपचारिक परीक्षा एकै पटक हुनुपर्ने रहेछ । मेरो मन ज्यादै हतारिन थाल्यो नेपाल पुग्न ।

आखिर उनले विद्यावारिधिको टोपी पहिरिए, ‘डबल डाक्टर’ भए, खुसीले उत्सव नै मनायौँ । नेपालबाट चीनमा चिकित्साशास्त्रमा विद्यावारिधि गर्ने पहिलो डाक्टर सरोज नै भएछन् । पहिले पनि चीनबाटै डाक्टर भएको, राम्रो विद्यार्थी भएकोले दोस्रो पल्ट उच्च शिक्षाको निम्ति चीनस्थित उनको युनिभर्सिटीले बोलाएको थियो ।

अनेक संघर्ष गरेर म पनि जान पाएकी थिएँ । त्यो मेरो निम्ति एउटा ठूलो अवसर बन्यो– देश बाहिरको संसार चिन्ने अवसर मात्र हैन, विदेशमा पढ्ने अवसर पनि ।

विभिन्न देशका साथीहरुसँग घुलमिल भएर उनीहरूका बारे बुझ्न पनि पाएँ । म पढ्ने त्यो युनिभर्सिटीमा म एक जना मात्र नेपाली विद्यार्थी थिएँ । नेपाललाई संसारले कस्तो देख्दोरहेछ भन्ने पनि थाहा भयो ।

त्यहीँ त हो त्यति असल जापानी साथीहरू पाएको ! लेखनमा फर्किने प्रेरणा पनि तिनै साथीहरूबाटै पाएकी हुँ । यी सबै कुराको निम्ति चीनियाँ मित्रहरू प्रति र खास गरी सरोजप्रति सहानुभूति राखेर श्रीमति ल्याउन स्वीकृति दिने उनको युनिभर्सिटीका पदाधिकारीप्रति कृतज्ञ छु । नेपालमा छोडेको शिक्षालाई चीनमा गएर पुनः पढ्न पाएँ– छात्रवृति समेत पाएँ !

सरोजको पढाई सकिनेबित्तिकै यताउता कतै नहेरी देश फर्कने तयारीमा लाग्यौँ । आराम गर्न पनि पाएका थिएनन् सरोजले । उनका गुरु र पुराना साथीहरुलाई धन्यवाद भन्न एउटा सानो पार्टीको आयोजनासम्म गर्न भ्यायौँ ।

फर्कने टिकटबारे खोजीनीति गर्दा त ‘पर्सि बिहानैको टिकट छ, होइन भने दुई हप्ता कुर्नुपर्छ’ भन्ने भयो । त्यो दुईहप्ता कुर्ने धैर्य पनि मसँग थिएन । त्यति लामो समयको बसाईपछि फर्कँदै थियौँ । तर केही बन्दोबस्त र तयारी नगरी ‘पर्सि बिहान’कै टिकट लियौँ । बाँकी एक दिन मात्र थियो चीन बस्ने ।

मेरो पाँच वर्षको चीन बसाई घरजम गरेजस्तै भएको थियो । केही सामान त हुने नै भयो । तर कुनै कुराको वास्ता नगरी पेटको बच्चाको मात्र ख्याल राख्यौँ । नभइ नहुने सामान मात्र बोकेर फर्किने निर्णय गर्यौं । बाँकी सबै चिनियाँ मित्रहरू र अन्य विद्यार्थी साथीहरूलाई छोडिदियौँ ।

चीनमा मेराभन्दा सरोजका धेरै साथी थिए । धेरैले हामी फर्कनुअघि विदाईका रूपमा खानपिन र रमाइलो गर्न निम्तो दिएका थिए । कही जान भ्याइएन ।

केही निक्कै महत्वपूर्ण सामाग्री पनि बोक्न नसकेकोमा भने अझै नमज्जा लाग्छ । सरोजले जम्मा गरेका अन्यत्र नपाइने केही पुराना पुस्तक पनि थिए– चीनमा आधुनिक चिकित्साविज्ञानको विकासको इतिहाससम्बन्धि । त्यो हडबडमा ‘कुरियर’ गरेर पठाउने बुद्धि पनि आएन । नेपाल फर्कने बेला ल्याइदिनु भनेर नेपाली साथीहरूलाई अनुरोध गरेका थियौँ । तर, तिनको महत्व नबुझेर होला, ती आएनन् । बाँकी रहेको त्यो एकदिनमा जे जे समेटियो त्यति नै बोकेर अरु सबै त्यागेर हिँड्यौँ ।

त्यो आतुरी र अलमलमा कति महत्वपूर्ण फोटोहरू समेत च्यात्न थालेछु । हाम्रो ताल देखेर विदेशी साथीहरू पनि छक्क परिरहेका देखिन्थे । ममा एक किसिमको आतुरी थियो, छटपटाहट थियो । छोरीले चिनियाँ भाषामै चिठी लेखेकी थिई– ऊ आत्तिएको स्पष्ट बुझिन्थ्यो । उसै पनि तीन महिना भनेको, ६ महिना नाघिसकेको थियो । त्यो समय सारै नै महङ्गो हुन गयो ।

त्यसको मूल्य मैले जीवनमा पछिसम्म तिर्नुपर्याे । त्यति ठूलो मूल्य तिरेर पाएको पाठ एउटै छ– सानो बच्चालाई कसैको भरमा छोड्दा हुने आघातको पीडा पछिसम्म रहिरहँदो रहेछ– बच्चालाई पनि, आमाबाबुलाई पनि ।

प्रतिक्रिया दिनुहोस्