Logo
Logo

सरकारको खातामा ७१ अर्ब ९८ करोड



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को देशको वर्तमान आर्थिक अवस्थाको विवरण प्रकाशित गरेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार वैदेशिक सम्पत्ति र दायित्व घाटामा रहेको छ ।

गत आर्थिक वर्ष मुलुकले ८ प्रतिशत नजिकको महँगीको सामना गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेका गत आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो । महँगी ७ प्रतिशतमा सिमित राख्नेगरी बजेटले लिएको लक्ष्य असफल भएको हो । यस्तै, आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ ।

यस्तै, २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तसम्म आइपुग्दा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिती २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ सञ्चिति छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९्/८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यस्तै, २०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७ खर्ब २९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा रहेको छ ।

२०८० असार मसान्तसम्म केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खातामा ७१ अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आवको वित्तियविवरणमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्