Logo
Logo
राष्ट्र बैंकको रिपोर्ट

यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठ)



काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको जनाएको छ । शुक्रबार राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ । यस्तै, शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको तथ्यांकमा देखिन्छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

यस्तै, विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ भने विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । रिपोर्टका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ४७ खर्ब ९७ अर्ब पुगेको रिपोर्टमा उल्लेख छ । १२ महिनाको तथ्यांकअनुसार सरकार महँगी नियन्त्रणमा असफल देखिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार वैदेशिक सम्पत्ति र दायित्व घाटामा रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ ।

यस्तै, २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तसम्म आइपुग्दा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिती २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

यस्तै, २०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७ खर्ब २९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा रहेको छ ।

राष्ट्र बैंकको रिपोर्ट

प्रतिक्रिया दिनुहोस्