Logo
Logo

चारकोशे झाडीमा आगो नलगाउन ज्ञापनपत्र


- दृष्टि न्युज/संवाददाता


धरान । कोशी राजमार्गअन्तर्गत पर्ने चारकोशे जंगलबीचमा धरान र इटहरी उपमहानगर पालिकाहरुले फालेको फोहरमा आगो लगाएर प्रदूषण फैलाएको विरोधमा धरानका नागरिक समाजले विरोध जनाएका छन् ।

वातावरण तथा पर्यटन विकास केन्द्र (सेड नेपाल) को अगुवाइमा गएका धरानका नागरिक समाजका अगुवाहरुले बुधबार इटहरी उपमहानगर पालिकाका प्रसासकीय अधिकृत कृष्णप्रसाद चापागाईंसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले अधिकृतसमक्ष पढेर सुनाइएको सो विज्ञप्तिमा जैविक विविधताले भरिपूर्ण चारकोशे जंगल दुवै उपमहानगर पालिकाका जनताको लागि कामधेनु गाईसरह हो । यो जंगलले स्वच्छ हावापानी र सौन्दर्य त दिएकै छ हजारौँ जनताले पेट पनि पालेको छ । यो जंगलले मानिसको मात्र नभई लाखौँ जीवजन्तु र वनस्पतीको पनि बासस्थान भएकाले यसको विनास र प्रदूषणले सबैको जीवन जोखिममा पर्न जान्छ ।

यति महत्वको हुँदाहँुदै पनि विगत लामो समयदेखि दुवै उपमहानगर पालिकाले यहाँ जथाभावी फोहर फाल्ने, आगो लगाएर अक्सिजन दिने जंगललाई कार्वनको ग्यास च्याम्बर बनाउने क्रियाकलापले सबैलाई दुःखी तुल्याएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । सेउतीपुल वरिपरि फालिने फोहर र धुँवाको दुर्गन्धले सडकमा यात्रा गर्ने यात्रीहरुलाई समेत श्वास फेर्न मुस्किल पर्न थालेको छ । नगरका बासिन्दामा वायु प्रदुषणले क्यान्सर, श्वासप्रस्वासको रोगले सताउन थालेको छ । लाखाँै जीवजन्तु किटपतंगहरु लोप हुन थालेका छन् । जंगलमा फालिएका प्लाष्टिक जन्य वस्तुहरुलाई खहरे, खोलाहरुले बगाएर लगि तरहरा भरौलजस्ता गाउ“का कृषियोग्य भूमि काम नलाग्ने भएका छन् ।

जलवायु परिवर्तनको असर कम गर्न र नगरमा स्वच्छ वातावरण वनाउन वर्षमा लाखौँ खर्च गर्ने नियमनकारी निकाय उपमहानगर पालिकाहरु आफैले अक्सिजनको खानीमा फोहरमैला फाल्ने आगो लगाउने गर्नाले जनताको स्वास्थ्यप्रति गम्भीर खेलवाड गरेको देखिन्छ । विज्ञप्तिको अन्तमा दुवै उपमहानगर पालिकाहरुले जंगलमा फोहोरमैला फाल्ने कार्यलाई बन्द गरी व्यवस्थित डम्पिडसाइटको व्यवस्था गर्नुपर्ने र एक हप्ताभित्र जंगलमा आगो लगाउने कार्य पूर्णरुपले बन्द गर्नुपर्ने माग राखिएको छ । यही सो कार्यलाई आलटाल गरिएमा सेड नेपालले नागरिक समाजको सहयोगमा अदालतमा मुद्दा हाल्ने र जंगल बचाऔँ अभियान शुरु गर्ने चेतावनी पनि दिइएको छ ।

सोही व्यहोराको ज्ञापनपत्र एक हप्ताअघि सेढ नेपालका पदाधिकारीहरुको एक समूहले धरान उपमहानगर पालिकाका नगरप्रमुख तिलक राईलाई पनि दिएको थियो । सो ज्ञापनपत्रमा जंगलमा आगो लगाउन बन्द गर्नुको साथै सर्दु जलाधार क्षेत्रको दिगो सरक्षणको लागि एक आधिकारीक धरान एकीकृत जलाधार सरक्षण समितिको गठन गर्नुपर्ने, धरान १३ र २० मा वनको जैविक विविधतापार्क (बिपीपार्क, ओशोपार्क )लाई व्यवस्थि गर्न एक व्यवस्थापन समितिको गठन गर्नुपर्ने र धरानलाई फूलको शहर बनाउन रणनीति तयार गर्नुपर्ने माग बुझाएका थिए । यसभन्दा अघि पनि सोही विषयमा ध्यानाकर्षण गराउँदै सेड नेपालले पूर्व नगरप्रमुख तारा सुब्बा र उपमेयर मन्जु भण्डारीलाई छुटाछुटै समयमा दुईपटक ज्ञापनपत्र बुझाइसकिएको छ ।

सेढ नेपालका प्रमुख सल्लाहकार तथा सभासद किरण कुमार राई लगाएत सेढ नेपालका सबै पदाधिकारी को हस्ताक्षर भएको सो ज्ञापनपत्र बुझाउन इटहरी उपमहानगर पालिकामा नागरिक समाजका अगुवाहरु महेश श्रेष्ठ, राजिव हलुवाई, तीर्थ मास्के, सुवर्ण पलिखेलगायत इटहरीका सचारकर्मीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्