Logo
Logo

भारत सरकारद्वारा प्याजमा कर, नेपालमा असर



काठमाडौं । भारतले प्याजको निर्यातमा कर लगाएको छ । प्याज निर्यात नियन्त्रण गर्दै मूल्य घटाउन भारत सरकारले निर्यातमा कर लगाउने निर्णय गरेको हो । भारतको केन्द्र सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने व्यवस्था गरेको हो । जसले नेपालमा समेत प्याजको भाउमा असर पर्नेछ ।

अहिलेसम्म प्याजको निर्यातमा कुनैपनि किसिमको कर लाग्दैन थियो । तर, हाललाई भने प्याजको निर्यात निरुत्साहित गर्दै मूल्य वृद्धिलाई नियन्त्रणमा राख्नका लागि केन्द्र सरकारले निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।

भारतको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्याजको निर्यातमा कर लगाइएको उल्लेख गरिएको छ । तत्कालै कार्यान्वयनमा आएको यो व्यवस्था ३१ डिसेम्बरसम्म रहने जनाइएको छ । जनवरीदेखि बजारमा नयाँ प्याज आउने गर्छ ।
भारत सरकारकाअनुसार प्याजको मूल्य बढ्न थालेको छ । अल इण्डिया रिटेल प्राइसकाअनुसार प्याजको मूल्य १० अगस्टमा २७.९० रुपैयाँ प्रतिकेजी थियो ।

गत वर्ष यही समयमा भारतमा २ रुपैयाँ प्रतिकेजीमा प्याज पाइन्थ्यो । नेपालले भारतबाट प्याज आयात गर्ने गरेका कारण यसको प्रभाव नेपाली बजारमा पनि पर्नेछ । गत आर्थिक वर्षमा नेपालले ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार मेट्रिक टन प्याज भारतबाट आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्