Logo
Logo

कोशी सरकार फेल गराउने एमाले र राप्रपाकाे रणनीति, ज्येष्ठ सांसदलाई विदामा राखियो


2.8k
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने अघिल्लो दिन एमालेका ६ र राप्रपाका दुई जना सांसद विदा लिएका छन् । उनीहरुले ‘घरायसी समस्या’ परेको भन्दै बिदा लिएका हुन् । यससँगै मुख्यमन्त्री थापाको विश्वासको मतमा असर पर्ने देखिएको छ ।

मुख्यमन्त्री थापाले भोलि सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने तय भएको छ । तर, त्यसको अघिल्लो दिन आइतबार प्रमुख प्रतिपक्ष दल एमाले र राप्रपाका गरी ८ जना ज्येष्ठ सदस्यले घरायसी समस्या देखाउँदै सोमबारको बैठकमा अनुपस्थित हुने जनाएका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले यो घटनाले राप्रपा र एमाले देशको समाधान नभएर समस्या हो भन्ने कुरा प्रमाणित भएको बताएका छन् । उनले भने, ‘यसबाट के प्रष्ट हुन्छ भने राप्रपा संघीयताको विरोधी र एमाले देशको समाधान होइन, समस्या हो भन्ने कुरा प्रमाणित भयो ।’

यस्तै, माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले दुवै तर्फबाट गलत काम भइरहेको बताउँदै विश्वासको मत पुग्ने ग्यारेण्टी नभए जबर्जस्ती गर्नेहरु र संसदमा अनुपस्थित हुनेहरुले प्रदेशसभालाई हाँसोमा उडाइरहेका बताए ।

ज्येष्ठ सदस्यमध्ये एमालेकै एकजना सांसद ईश्वरचन्द्र दुलाल यसअघि अमेरिका गइसकेका छन् भने राप्रपाका सांसदहरु अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्माले ‘घरायसी समस्या’मा परेर सोमबारको बैठकमा उपस्थित नहुने सूचना दिएका छन् ।

एमाले सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी पनि बिदामा बसेका हुन् । घरायसी समस्या देखाएर बिदामा बस्ने सबै सांसद ज्येष्ठ सदस्य हुन् । बैठकमा प्रदेशसभामा ज्येष्ठ सदस्यहरु अनुपस्थित हुने भएपछि एमाले र राप्रपाको रणनीति विश्वासको मत फेल गराउने रहेको प्रष्ट भएको छ ।

एमालेबाट निर्वाचित सांसद हालका उपसभामुख सिर्जना दनुवार प्रदेशसभा बैठकका अनुपस्थित हुने चर्चा छ । उनी अनुपस्थित भएको खण्डमा अध्यक्ष मण्डलले बैठक चलाउनु पर्नेछ । तर, अध्यक्ष मण्डलमा रहेका प्रतिपक्षी दलका विष्ट र लिम्बू अनुपस्थित भएको खण्डमा प्रदेशसभाको अध्यक्षता सत्ता गठबन्धनकै सांसदले गर्नुपर्ने परिस्थिति निर्माण भएको छ ।

यसैबीच, प्रदेशसभा बैठक बस्नुअघि सोमबार बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । पसभामुख सिर्जना दनुवारले उक्त बैठक आह्वान गरेकी हुन् । तर, उनी बैठकमा सहभागी हुनेमा आशंका पैदा भएको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वा नपाउने उपसभामुख दनुवारको हातमा छ । उनले बैठक सञ्चालन गरे मुख्यमन्त्रीले विश्वासको मत पाउनेछन् । यदि अनुपस्थित भए वा राजीनामा दिए अवसथा फेरिने छ ।

प्रतिक्रिया दिनुहोस्