Logo
Logo

सुनिल पौडेललाई अख्तियारबाट जोगाउन दौडधुप



काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल अख्तियारबाट जोगिन अनेकन हतकण्डा अपनाइरहेका छन् । अख्तियारले उनीसँग राष्ट्रिय सूचना केन्द्रको निर्देशक हुँदा नेसनल पेमेन्ट गेटवेमा घोटालाको विषयमा छानबिन गरी बयानसमेत लिइसकेको छ । अख्तियारले यससँग सम्बन्धित अन्य क्षेत्रमा पनि बयान चलाएको छ । आफूमाथि मुद्दा दायर हुनसक्ने भएपछि पौडेल शक्तिकेन्द्र धाइरहेका छन् । उनी विभिन्न व्यक्तिलाई प्रयोग गरेर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीमार्फत अख्तियारमाथि दबाब बढाउन लागिपरेका छन् ।

पौडेलले आरजु देउवाका भाई भुषण राणालाई गुहारेको बुझिएको छ । भुषणमार्फत् नै उनी टेलिकमको एमडी बनेको बुझिएको छ । त्यसका लागि उनले दशौं करोड बुझाएको र भविष्यमा हुने ठेक्कापट्टामा समेत संलग्न गराउने सहमति गरेका थिए । अहिले अख्तियारबाट बच्न पौडेलले विभिन्न सूत्रमार्फत् देउवाका छोरा जयवीर देउवालाई पनि बिजनेश दिने गरी माहोल बनाइदिने आश्वासन दिन थालेका छन् ।

जयवीर पछिल्लो समय व्यापारिक क्षेत्रमा भिज्न खोजिरहेका छन् । उनको ध्यान टेलिकमको आर्थिक पाटोमा पनि गएको बुझिएको छ । पौडेलको नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटासँग पनि राम्रो सम्बन्ध छ । बास्कोटाले नै विकल पौडेल र सुनिल पौडेलसँग मिलेर भित्री रुपमा सूचना तथा सञ्चार क्षेत्रमा व्यवसाय गरेका थिए । बास्कोटा पनि पौडेललाई जोगाउन लागिपरेको विश्वस्त स्रोतले बताएको छ ।

नेसनल पेमेन्ट गेटवेमा घोटाला पाइएपछि पौडेलको अख्तियारबाट जोगिने सम्भावना निकै कम भइसकेको छ । टेलिकममा हुने अरबौंको ठेक्का र रकम भुक्तानीको खेलबाट उनले आफू जोगिने अस्त्र बनाउन खोजिरहेका छन् ।

पौडेल निर्देशक रहँदा राष्ट्रिय सूचना केन्द्रमार्फत् नेसनल पेमेन्ट गेटवे प्रणालीका लागि २५ करोडको सामान खरिद गरेर प्रयोगविहीन रहेको छ । यो खरिदमा १० करोडभन्दा बढी अनियमितता गरेको विषयमा छानबिनको दायरामा ल्याइएको हो ।

रोचक त यो छ कि, खरिद कम्पनीको स्थानीय एजेन्ट पौडेलकै समूह रहेको पनि छर्लंग भएको छ । यसकारण अख्तियारले उनीमाथि मुद्दा दायर गर्ने अन्तिम तयारी गरिरहेको छ ।

पौडेल अख्तियारले तान्ने भयले हतार हतार भुक्तानी र ठेक्का सम्झौता गराइहाल्न हतारिएका छन् । नेपाल दूरसञ्चारको बोलपत्र नं एनडीसीएल÷डब्लुसीएसडी÷आइसीबी ०६÷०७८–७९ को प्वाइन्ट अफ इन्टरकनेक्ट सिस्टमको बोलपत्रमा अन्य प्रतिष्पर्धी कम्पनीलाई प्राविधिक मूल्यांकनमा छनोट नगरी चिनियाँ कम्पनी हुवाबेलाई मात्र छनोट गरेका छन् ।

यो यस्तो संवेदनशील प्रणाली हो जसले नेपाल दूरसंचारको ग्राहकहरुमा वा ग्राहकहरुबाट आउने जाने सम्पूर्ण अन्तर्राष्ट्रिय कल तथा एसएमएसहरुको ब्यहोरा सम्हाल्छ वा राख्छ । हुवाबेले ठेक्का प्रतिष्पर्धामा चीनबाट नभई सिंगापुरबाट भाग लिएको छ ।

सन् २०२१ र २०२२ मा भएको बोलपत्र आव्हानमा दुवैपटक हुवाबेले चीनबाट नेपाली एजेन्टमार्फत प्रतिष्पर्धामा भाग लिएको थियो । त्यस समय हुवाबे चीनलाई अमेरिकाले प्रतिबन्धित गरेको थियो । दुवैपटक हुवाबेलाई अयोग्य ठहर गर्न सक्ने भएकाले ठेक्का नै रद्द गरियो ।

प्रतिक्रिया दिनुहोस्