Logo
Logo

नयाँ स्टक : कसले मार्ला बाजी ?



काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउनका लागि यतिखेर आवेदन दिएका तीन कम्पनीबीच रस्साकस्सी चलिरहेको छ । नयाँ लाइसेन्स लिनका लागि आवेदन दिएका हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जबीच अहिले लाइसेन्स पाउनका लागि शक्ति केन्द्रमा रस्साकस्सी चलेको हो ।

ठूला व्यवसायिक घरानाबाट आएका यी तीन वटै कम्पनी अहिले लाइसेन्स हत्याउनका लागि राजनीतिक नेतृत्वको घरदैलोसम्म पुग्ने गरेका छन् । यसबीचमा प्रक्रिया त छँदैछ त्यसबाहेक जसले बढी कमिशन बुझाउन सक्छ, त्यसले लाइसेन्स पाउने निश्चित जस्तै छ ।

व्यवसायी दिपक भट्टको नेतृत्वमा हिमालयन स्टक एक्सचेञ्ज रहेको छ । यस स्टक एक्सचेञ्जमा शंकर ग्रुप, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, दिपक भट्ट, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, विवेक दुगड, कुमुदकुमार दुगड, अमित कुमार मोर लगायतको लगानी छ ।

यही समूहले नै हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स पाएको थियो । माओवादीका जनार्दन शर्मा अर्थमन्त्री हुँदा भट्टलाई नै लाइसेन्स दिने गरि स्टक एक्सचेञ्जको प्रक्रिया अगाडि बढाइएको चर्चा समेत चलेको थियो । पछि शर्मा मन्त्रीबाट बाहिरिएपछि भने अन्यको समेत सम्भावनाको ढोका खुलेको बताइन्छ ।

यस्तै विशाल ग्रुप र आईएमई ग्रुपको नेतृत्वमा नेशनल स्टक एक्सचेञ्ज छ । यस स्टक एक्सचेञ्जको नेतृत्व न्यायालयका बिचौलिया दीपक तिमिल्सिनाले गरिरहेका छ । तिमिल्सिना ती व्यक्ति हुन्, जसले अदालत, अख्तियार र राजनीति वृत्तमा समेत आफ्नो पकड र पहुँच कायम राखेका छन् ।

यस स्टक एक्सचेञ्जमा कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहिया, केडिया ग्रुपका साथै गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछाने, कुल आचार्य, कुमार पन्त लगायतको लगानी छ । तिमिल्सिना प्रचण्डपुत्री गंगा दाहालसँग नजिक रहेको र प्रचण्डलाई मनाउन उनले पनि भूमिका खेल्ने बताइन्छ ।

तेस्रो स्टक एक्सचेञ्जमा अन्नपूर्ण पोष्ट दैनिकका मालिक रामेश्वर थापाको नेतृत्वमा अन्नपूर्ण स्टक एक्सचेञ्ज छ । जसमा थापासहित सुरेन्द्रराज वाग्ले, गणेश कुमार श्रेष्ठ, मुक्ति वोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी लगायतको संलग्नता छ । थापाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म पहुँच रहेको स्रोत बताउँछ । तर, थापा ओली निकट भएका कारण संसद्को अवरोध खुलाउने शर्तमा लाइसेन्स हात पार्ने सम्भावना छ ।

कसले पाउलान् लाइसेन्स ?

आवेदन दिएका यी तीनवटै समूहले सबैप्रकारको ‘पावर एक्सरसाइज’ गरिरहेका छन् । जसरी भए पनि लाइसेन्स पाउनेगरि यी समूह अगाडि बढेको देख्न सकिन्छ । भट्ट नेपालका सबैजसो राजनीतिक दलको शिर्ष नेतृत्वसम्म नजिकको सम्बन्ध राख्न माहिर व्यवसायीका रूपमा चिनिन्छन् ।

उनकै अगुवाईमा यसअघि हिमालयन रि इन्स्योरेन्सले लाइसेन्स पाएको थियो । उनी आफूमात्र नभई उनलाई साथ दिने शंकर ग्रुप, शेखर गोल्छा, भवानी राणा लगायतका व्यवसायीले राजनीतिक शक्ति सन्तुलनमा समेत भूमिका खेल्ने गरेको बताइन्छ ।

यस्तै, नेशनल स्टक एक्सचेञ्जको नेतृत्व गर्ने दिपक तिमिल्सिनाको पहुँच पनि भित्रैसम्म छ । शेरबहादुर देउवाको सरकारमा गजेन्द्र हमालसँगै गैरसांसदलाई मन्त्री बनाउनेमा उनको नाम पनि जोडिएको थियो । मन्त्रीका लागि तयारी गरिसकेपछि भने उनको नाम हटेको चर्चा चल्ने गरेको छ ।

तिमिल्सिना यस्ता व्यक्ति हुन्, जसले केपी ओली, प्रचण्ड तथा देउवा तीनै जनासँग उत्तिकै सम्बन्ध राखेका छन् । यी तीनै शीर्ष नेतासँग उनले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स आफ्नो नाममा ‘कन्फर्म’ गरिसकेको समेत बताइन्छ ।

तिमिल्सिना अदालत र अख्तियार समेत मिलाउन सक्ने व्यक्तिका रूपमा चिनिन्छन् । रिइन्स्योरेन्सका लागि लविङ व्यापक गरेपनि यो ग्रुपले रिइन्स्योरेन्सको लाइसेन्स पाएनन् । त्यसकारण अहिले रिइन्स्योरेन्सको लाइसेन्स नपाएका कारण पनि नयाँ स्टकको लाइसेन्स आफूलाई दिनुपर्ने भन्दै दवाव बढाउँदै आएको छ ।

अन्नपूर्ण स्टकका रामेश्वर थापा राजनीतिक नेतृत्वमा मात्र नभई अख्तियारमा समेत गहिरो सम्बन्ध राख्ने व्यवसायीका रूपमा परिचित छन् । एमाले अध्यक्ष ओलीसँग पनि उनको घनिष्ट सम्बन्ध रहेको र कांग्रेस सभापति देउवा पत्नी आरजु राणासँग समेत थापाको केही व्यावसायिक साझेदारी रहेको बताइन्छ । यस्तै उनको समूहमा रहेका केही व्यवसायीले प्रधानमन्त्री प्रचण्डलाई मिलाउन सक्ने समेत विश्लेषण हुने गरेको छ ।

यसरी नयाँ स्टक एक्सचेञ्जको लागि आवेदन दिएका यी तीन वटै कम्पनीमध्ये राजनीतिक रुपमा को कति नजिक रहन सक्छ, उसैले लाइसेन्स पाउने विश्लेषण गर्न थालिएको छ । अहिले बोर्डले बनाएको मूल्यांकनमाथि मूल्यांकन भइरहेको छ । यद्यपि, सो मूल्यांकनले मात्रै लाइसेन्स पाउने अवस्था छैन । अब राजनीतिक रुपमा कसले ‘सहमति’ पाउँछ उसैले लाइसेन्स पाउने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्