Logo
Logo

जग्गा कित्ताकाट खुलाउने निर्णयपछि घरजग्गा व्यवसायीले खोजे बैंकरको साथ




काठमाडौं । घरजग्गा व्यवसायीहरूको संस्था नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल बैङ्कर्स सङ्घबीच बुधबार भेटवार्ता भएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ)का अध्यक्ष भेषराज लोहनी नेतृत्वमा गएको टोलीले संघका अध्यक्ष सुनिल केसीसहितका पदाधिकारीसँग बुधबार छलफल गरेको हो ।

सरकारले प्लानिङ पर्मिट लिएका आयोजनाहरूलाई कित्ताकाटमा सहजीकरण गर्ने निर्णय लिएपछि व्यवसायीहरूले बैंकरहरुलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन् ।

छलफलमा व्यवसायीले ऋणमा सहजीकरण गर्दै ब्याज घटाइदिन आग्रह गरेका छन् । उनीहरूले उपभोक्तालाई प्रोत्साहित गर्न घरजग्गा ऋणको स्किम ल्याउन पनि सुझाएका छन् ।

छलफलमा व्यवसायीहरूले लोन टु भ्यालु रेसियो (घरजग्गा धितो राखेर पाइने ऋणको अनुपात)  लाई बढाउन आग्रह गरेका छन् । 

साथै बैंकहरूले आफूखुसी घरजग्गाको फेयर मार्केट भ्यालु (सरकारी मूल्यांकन र चलनचल्तीको दरलाई आधार मानेर निकालिने रकम) तय गर्न भिन्न(भिन्न सूत्र (फर्मुला) लगाउने परिपाटीलाई अन्त्य गर्दै एकरूपता कायम गर्न व्यवसायीहरूले सुझाएका छन् ।

घरजग्गा व्यवसायीहरुले लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्‍याउन बैंकरहरुसँग भनेका छन् । लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्‍याउन घरजग्गा व्यवसायी र बैंकरहरुबीच साझा धारणा बनाएर राष्ट्र बैंकसँग आवश्यक छलफल गर्ने समझदारी समेत बनेको छ ।

बैंकहरूले घरजग्गाको फेयर मार्केट भ्यालु निकाल्न विभिन्न सूत्र बनाउने गरेका छन् । त्यसलाई एकरुपता दिनसमेत घरजग्गा व्यवसायीहरुले आग्रह गरेका हुन् । अहिले बैंकपिच्छे भिन्न सूत्र प्रयोग हुने भएकाले त्यसलाई एकरुपता दिन व्यवसायीहरुले भनेका छन् ।

बैंकहरुको आधार दर घटेको समयमा प्रिमियम कम लिएको भए पनि अहिले आधार दर बढेको अवस्थामा प्रिमियम बढाएर लिने गरिएको भन्दै घरजग्गा व्यवसायीहरुले बैंकरहरुसँग गुनासो गरेका छन् ।

व्यवसायीहरुले अहिलेको परिस्थिति हेरेर बैंकहरुले आधार दरमा धेरै मार्जिन राख्न नहुने आशय राखेका थिए । व्यवसायीहरूले बैंकहरूबीच अहिलेको प्रतिकूल अवस्थामा समेत निक्षेपमा बढी ब्याज दिने प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् ।

जवाफमा बैंकरहरुले फेयर मार्केट भ्यालु पहिल्याउन एउटै सूत्रमा ल्याउन आफूहरू आन्तरिक छलफल गरेर अघि बढ्ने बताएका छन् ।

लोट टु भ्यालु रेसियोको विषयमा कति प्रतिशत कायम गर्ने भन्नेमा पनि बैंक आफूले छलफल गरेर एउटा निचोडमा पुग्ने प्रतिबद्धता व्यवसायीसँग गरेका छन् । यस विषयमा आ-आफ्ले गृहकार्य गरेर फेरि छलफल गर्ने समझदारी भएको छ । 

प्रतिक्रिया दिनुहोस्