Logo
Logo

शेखरको आरोप- प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्ताउने प्रयास गरिरहेका छन्


1k
Shares

विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको बताएका छन् । शनिबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको कार्यक्रममा बोल्दै नेता कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन् ।

नेता कोइरालाले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ । परिस्थिति धार्मिक खासियत लड्खडाएको छ ।’ उनले पछिल्लो समय धरानमा भएको घटनाले मुलुकमा असर गर्ने बताउँदै भने, ‘मुलुकमा कुनैपनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । संविधानमा लेखिएका कुरा बाहिरको कदापि स्वीकार्य हुँदैन । कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन ।’

नेता कोइरालाले देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिएको भन्दै प्रश्न गरे, ‘त्यो कत्तिको उचित हो ?’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउने उनको भनाइ थियो ।

यस्तै, मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको भन्दै उनले भने, ‘यहाँ देखिएको सुन तस्करले विश्वलाई केन्द्रित गराएको छ । सुनकाण्डमा भारत र चीन देखिएका छन् । तर, अरू मुलुकले समेत चलखेल गर्दै आएकाछन् ।’ सुन काण्डको छिनोफानो जनताले बुझ्ने गरि हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्