Logo
Logo

ढिलो गरेर घर फर्किने उपाय सोच्न थालेँ



नयाँ नयाँ चुनौतीहरुको सामना गर्दै गएँ । संयुक्त परिवारमा बसेको अनुभव थिएन । किशोरावस्थादेखि नै स्वतन्त्रताको निम्ति लडेकी, विभिन्न चुनौतीहरुको सामना गर्दै मुक्तिकै सपना बाँड्दै हिँडेकी आफैँ नै यो परिस्थितिमा कसरी पुगेँ, अचम्म लाग्थ्यको । दुई जीउकी ‘बुहारी’माथि कसैबाट अन्याय भएको भन्न त मिल्दैन । तर सोचेका, नसोचेका नयाँ अप्ठ्याराहरुसँग लड्दालड्दै बेस्सरी थाकेको महसुस हुन थाल्यो ।

एकातिर गर्भवती हुनुको कारण आफ्नै स्वास्थ्यले साथ दिइरहेको थिएन । अर्कोतिर जीवनमा फेरि एकचोटी जमेको पानीजस्तो गतिविहीन हुनुपरेको अवस्थाले अर्कै किसिमको मानसिक तनाव थपिदिएको थियो । अनि पाँच वर्षको विदेश बसाइका क्रममा आर्थिक अभावकै बीच पनि भोगेको स्वतन्त्रता पछि अचानक साँघुरो कोठामा सीमित भएको अनुभूति भइरहेको थियो । यसरी गुम्सेर बस्नुपर्दा गाह्रो हुनु स्वाभाविक थियो ।

यो त पहिलेजस्तो भूमिगतकाल पनि थिएन । पहिलो पाली गर्भवती हुँदा त राजनीतिक खतरा मोलेर पनि आफ्नै इच्छामा हिँड्ने आँट गर्थेँ । थोरै भए पनि आफ्नै कमाइ थियो । अर्कै किसिमले स्वतन्त्र थिएँ । श्रीमान् भूमिगत गएको बेला समेत बरू आफ्नै वेगमा ‘बग्दै’ थिएँ । कामहरु पनि जिम्मा लिएरै अगाडि बढिरहेँ । तर यो अवस्था त एकदमै भिन्दै र अनौठो थियो । श्रीमान् आफ्नै साथमा छन् । तर नियमित काम छैन । काम खोज्ने कुनै आतुरता पनि देखिँदैन । व्यस्त छन् । तर पैसा छैन ।

अस्पताल निर्माणको निम्ति दिनभरि अनेक मान्छेसँग कुराकानी गर्नु छ, कागजमा सपना कोर्नु छ, संस्थाको दिशा, उद्देश्य, योजनाबारे साथीहरूलाई बुझाउनु छ… तर काम पनि छैन फुर्सद पनि छैन भनेजस्तो अवस्था छ । यता आफूलाई भने खपिनसक्नु भइसकेको थियो– दैनिक आवश्यकता पूरा गर्ने खर्च पनि छैन । तत्काल पैसाको अभाव मात्र होइन, छिटै आउने नयाँ सन्तानलाई कसरी हुर्काउने भन्ने थप चिन्ता पनि छँदैछ । अझ अस्पताल भर्ना हुनैलाई पनि पैसा पुग्छ कि पुग्दैन भन्ने चिन्ताले टाउकोमा ठूलो भारी बोकेजस्तै भइरहेको थियो ।

जीवित राजनीतिक सम्पर्क पनि नभइरहेको बेला थियो त्यो । अखिल नेपाल महिला संघको अधिवेशन भइरहेको रहेछ । म काठमाडौँमा भएको थाहा पाउने मित्रहरुले मलाई पनि बोलाए । खुसी भएँ । म ठूलो पेट लिएरै गएँ । पुराना साथीहरूबाट न्यानो स्वागत पनि पाएँ । ‘प्रतिनिधि’ हुनु भनेर आग्रह पनि गरेकै हुन् । त्यो बेला पार्टीले वास्तै नगरेको भन्न मिल्दैन । बरु आफ्नै स्वास्थ्य स्थितिको कारण जिम्मा लिने आँट गरिन ।

पहिलो बच्चाको पालामा जस्तो ज्यादै अव्यावहारिक नहोस् भन्ने पनि लागेको थियो । नयाँ आउने सन्तानको मामलामा पछि पछुताउन नपरोस् भन्ने लागिरहेको थियो । त्यसैले थप कामको जिम्मा लिन सकिनँ ।

त्यतिबेला अमेरिकी राजदूत जुलिया चाङ थिइन् । उनलाई पनि ‘अनेमसंघ’को औपचारिक उद्घाटनमा विशिष्ट अतिथिको रुपमा बोलाइएको रहेछ । चीनबाट फर्केकी म चिनियाँ भाषामा उनीसँग कुरा गर्दा खुसी भएकी थिइनु र उनले मलाई एकपल्ट लञ्चको निम्ति बोलाउँछु पनि भनेकी थिइन् । तर पछि त्यत्तिकै भयो ।

व्यवहारिक जीवनमा आफूले पहिले कहिल्यै नभोगेका कुराको अनुभव हुँदै थियो । बच्चा जन्मिनुभन्दा दुई दिनमात्र अघि ससुरा बुवाको एउटा पूजा थियो घरमा । यज्ञशाला बनाएर, ब्राह्मण पण्डितहरुलाई बोलाएर धुमधामसँग गरिएको पूजामा अरु आफन्तलाई पनि बोलाइएको थियो । त्यो दिन झन् मलाई घरमा बस्नै मन भएन ।

पहिले कहिल्यै देखा नपरेकी बुहारीलाई आफन्तहरुले हेर्न खोज्ने हुनसक्थ्यो । मलाई भने ठूलो पेट लिएर नचिनेका ‘आफन्त’लाई अनुहार देखाउने मन थिएन । सधैँझैँ म पनि बुढासँगै अफिस गएर बसेँ । ढिलो गरेर घर फर्किने उपाय सोच्न थालेँ । बुढालाई ‘ढिलो फर्कौं’ भनेँ । बुढाले पनि कुरा माने ।

बेलुकी आठ बजिसकेपछि ‘अब त घरमा आएका पाहुनाहरु पनि फर्किसकेका होलान्’ भन्ने लाग्यो । अफिसबाट हिँडेरै फक्र्यौँ । दरबारको पश्चिम ढोका नाघेपछि मलाई अचानक घर फर्क नै मन लागेन । बाटो अझै लम्बिदिए हुनेजस्तो लाग्यो ।

बच्चा जन्मिन बेला आइसक्यो । पैसा थिएन । कुनै बन्दोबस्त थिएन ! सम्झेर मन आत्तिन थाल्यो । श्रीमान् भने दोस्रोपल्ट बाबु बन्ने बेला भइसक्दा पनि व्यवहारिक भइसकेका थिएनन् । घर व्यवहारमा गम्भीर हुनुभन्दा हरेक दिन हरेक क्षण भविष्यमा जन्मिन लागेको अस्पतालबारे नै बढी केन्द्रित थिए । अस्पताल… अस्पताल… भनेरै दौडिरहेका थिए ।

बाटोमै श्रीमान्सँग बेस्सरी रिस उठ्यो ! ठक्क पाइला रोकियो हिँड्दा हिँड्दै । अनि सरोजको हात च्याप्प समाएर सोधेँ– ‘यस्तो अवस्था अब कहिलेसम्म भोग्ने हो ? यसको छिनोफानो नभएसम्म म घरै फर्किन्न…’ त्यस्तै के के भनेँ । ‘त्यति धैरै दुःख गरेर पढेको के काम ? आफूलाई काम नलाग्ने ‘पिएचडी’ किन गर्नु ? अस्पतालमै काम गर्न त पहिलेकै सामान्य ‘डाक्टर’ले पुगेकै थियो नि !’

पहिलो बच्चा जन्मिदा बुढा भूमिगत थिए । यो बेला भने बेरोजगार !

त्यसरी पनि रिसाउन सक्छे बुढी भनेर नसोँचेका बुढा जिल्ल परे । विस्तारै कुरा बुझाउने शैलीमा नम्र भएर भने ‘जुनसुकै संस्था बनाउन एक वर्षको समय त लागिहाल्छ नि ! अहिले छ महिना पूरा भयो । अब अरू केही महिना हेरौँ । अनि बाटो फेर्न परे फेरौँला ।’

हुन पनि त्यतिबेला घर नगएर कहाँ जाने ? कुरै नबुझ्ने त म पनि थिइन । एकछिनपछि बाध्यता स्वीकार गर्दै पाइला सारेँ ।

घरपुग्दा एक–दुईजना पाहुना अझै बाँकी रहेछन् । बुवाले टीका लगाएर आशीर्वाद दिनुभयो । खुसीको कुरा त्यही दिन मात्र हुलाकबाट ७ वटा जति चिठीहरु एकैपल्ट आइपुगेका रहेछन् । कुनै बन्द खाममा त कुनै पोष्टकार्डमा चिठीको चाङ देखेपछि खुसी लाग्यो । मार्चको १० तारिख भइसक्दा बल्ल नयाँ वर्षको शुभकामना आइपुगेका थिए । चिठीहरु भेट्दा साथीहरु भेटेजस्तै रमाइलो लाग्यो । बुवाको आशीर्वाद र साथीहरुको शुभकामनाले मनलाई सञ्चो बनायो । प्रसाद हामीले पनि खायौँ ।

त्यसको भोलिपल्ट जीउमा फुर्ति घट्यो । अफिस जान पनि सकिन । घरैमा आराम गरेँ । दिउँसो झन् झन् जीउमा सञ्चो नभएजस्तो भयो । पेटमा अप्ठेरो हुनथाल्यो । डाक्टरले दिएको बच्चा जन्मिने समय त अझै दुई हप्ता बाँकी थियो । मेरो जन्मदिन मार्च १२ भएको कुरा अरू कसैलाई भनेकी थिइन् । बुढालाई समेत थाहा थिएन मेरो जन्मदिन । ११ मार्चको त्यो दिन म एकछिन आफैसँग हाँसेँ– मेरै जन्मदिनमा पो मेरो नयाँ सन्तानको जन्म हुने त होइन ?…

प्रतिक्रिया दिनुहोस्