Logo
Logo

आँटिलो पुरुष भेट्टाएकी छैन– खुश्बु खड्का, अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


अभिनेत्री तथा मोडल खुश्बु खड्का हिजोआज खाशै फिल्ममा देखिएकी छैनन् । ‘सुकुल गुण्डा’ नामक फिल्मबाट अभिनेत्रीमा डेब्यु गरेकी खुश्बु हिजोआज के गर्दैछिन् त ? जवाफमा उनी भन्छिन्, ‘ज्यान बनाउँदैछु, यसको मतलव फिटनेश गरिरहेकी छु ।’ एक समय खुश्बु खुबै चर्चामा थिइन् । एकातिर म्युजिक भिडियो र अर्कोतिर फिल्मी अभिनय । तर, पछिल्लो समय उनी फिल्म ‘रातो टिका निधारमा’यता पर्दामा देखिएकी छैनन् । ‘फिल्मका लागि कुरा भइरहेको छ’ उनले आफ्नो फिल्मी अपडेटबारे सुनाइन्, ‘राम्रो ब्यानरमा प्रस्ताव आयो भने काम गर्छु ।’ हालैमात्र अष्ट्रेलिया गएर आएकी खुश्बु नेपाली फिल्म क्षेत्रमा ‘गसिप’मा आउने कमै अभिनेत्रीमा पर्छिन् । एक दशकको कलाकारिता यात्रामा खुश्बुले एक दर्जभन्दा बढी फिल्म र दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । यिनै अभिनेत्री तथा मोडल खुश्बु खड्कासँग एमपी सुब्बाको जम्काभेट ।

मिडियामा पनि देखिनुहुन्न, हिजोआज के गर्दै हुनुहुन्छ ?

अहिले खाशै केही गरेकी छैन । फिल्म ‘रातो टिका निधारमा’ पछि मैले काम फिल्ममा गरेकी छैन । फुर्सदको समयलाई सदुपयोग गर्न ज्यान बनाउन फिटनेश गर्दैछु । र, म मिडियामा नआउनु खोजेको होइन । खाशमा भन्नुपर्दा मिडियाले मलाई सर्पोट नगरेको हो ।

ज्यान केका लागि बनाउँदै हुनुहुन्छ ?

ज्यान बनाउनुभन्दा पनि स्वास्थ्यका लागि हो । फिटनेश गरेर ज्यानलाई फिट राख्दा स्वास्थ्य राम्रो हुन्छ । आफ्नो ज्यानको ख्याल र माया गरेकी हुँ ।

केही समयअघि अष्ट्रेलियामा हुनुहुन्थ्यो । केका लागि जानुभएको थियो ?

अष्ट्रेलिया कामभन्दा पनि घुमघाम र पारिवारिक भेटघाटका लागि गएकी हुँ । त्यहाँबाट आएर दुवईमा सम्पन्न ‘छायाँछवि अनर अवार्ड’मा पनि सहभागी हुन भ्याएँ । ‘छायाँछवि अनर अवार्ड’मा आयोजक सदस्य भएर गएकी थिएँ ।

हिजोआज फुर्सदमा बस्नुभएको छ । फिल्म नपाएर हो ?

फिल्म नपाएरचाहिँ होइन । केही फिल्मका लागि कुरा भइरहेको छ । तर, भनेजस्तो फिल्म पाएको छैन । त्यसैले ज्यानलाई आराम मिलिरहेको छ ।

लामो समय ग्ल्यामरस क्षेत्रमा बिताइसक्नुभयो है ?

हो, एक दशक भयो । यो एक दशकमा दर्जनभन्दा बढी फिल्ममा काम गरेँ । म म्युजिक भिडियोबाट फिल्मी अभिनयमा प्रवेश गरेकी हुँ । तर, मैले जतिपनि फिल्म र म्युजिक भिडियोमा काम गरेँ, त्यसबाट सन्तुष्टि नै छु ।

तपाइँको डेब्यू फिल्म ‘सुकुल गुण्डा’ होइन त ?

कामको गरेको हिसाबले भन्दा हो । तर, रिलिजको हिसाबले चाहिँ ‘साइना’ हो । त्यसैले म ‘साइना’बाटै डेब्यू गरेकी भन्न रुचाउँछु ।

तपाइँले काम गर्नुभएको फिल्ममध्ये मनपरेको कुन हो ?

आफूले काम गरेको हरेक फिल्म राम्रै लाग्छ । तैपनि भन्नुपर्दा पछिल्लो समय मैले काम गरेको फिल्म ‘रातो टिका निधारमा’बाट सन्तुष्ट छु । उक्त फिल्ममा मैले कमेडी तथा सेन्सेटिभ भूमिका गरेकी छु ।

कलाकारिता क्षेत्रमा लागेर के पाउनुभयो र के सिक्नुभयो ?

म सकरात्मक सोचकी मान्छे हुँ । त्यसैले सकरात्मक कुरा नै सिकेकी छु । हुन त म अझैपनि सिक्ने र बुझ्ने प्रयासमै छु । एक किसिमले भन्नुपर्दा महिलालाई ग्ल्यामरस क्षेत्रमा टिक्न गाह्रो छ । तैपनि ती सबै गाह्रो–साह्रोलाई पचाउँदै यहाँसम्म आइपुग्दा परफ्याक्ट भएकी छु ।

काम कुरा एकतिर छ, घरजमको कुरा कतातिर हुँदैछ ?

विवाह वा घरजमबारे केही सोचेकी छैन । कुरा यहाँनिर मिल्दैन । आफूले रोजेकाले हेर्दैनन्, अरुले हेरेको आफूलाई मनपर्दैन । त्यसैले विवाह भन्ने साइत जुराउन गाह्रो छ ।

उमेरले पनि अब त हेर्नुप¥यो नि, होइन र ?

हो, २५ वर्ष लागियो । सुखी राख्ने भन्दा पनि खुसी राख्ने आयो भने विचार गर्नुपर्ला । अहिले नै त होइन, अबको तीन वर्ष भित्रचाहिँ घरजम गर्छु ।

प्रेम र विवाहका लागि कतिको प्रस्ताव आउँछ ?

खै, मलाई त आउँदैन । म मान्छेलाई फरक भएर होला कि ? अहिलेसम्म विवाह गरौँ भनेर आँट गर्ने पुरुष मेरो अगाडि आएका छैनन् । र पाएकी छैन ।

प्रतिक्रिया दिनुहोस्